ताजा अपडेट »

पाकिस्तानले टिकटकमाथि लगायो प्रतिबन्ध

शनिबार, २४ असोज २०७७

काठमाडौ । पाकिस्तानले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानको दूरसञ्चार प्राधिकरण (पीटीए)ले टिकटकमाथि प्रतिबन्ध लगाएको हो ।

भिडियो शेयरिङ एप्लिकेशनमा अनैतिक र अश्लील सामग्रीविरुद्ध समाजका विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्रतिबन्ध लगाइएको पीटीएको भनाइ छ । 'टिकटकले अनैतिक र अभद्र सामग्री फिल्टर गर्न असफल भएकोमा प्रतिबन्ध लगाएको छ' दूरसञ्चार प्राधिकरणको भनाई उदृत गर्दै अल जजिराले जनाएको छ ।

टिकटकले अवैध सामग्रीमा सन्तोषजनक रुपमा नियन्त्रण गरेमा आफ्नो निर्णयको समीक्षा गर्ने पीटीएको भनाई छ । पाकिस्तानले टिकटकलाई आपत्तिजनक सामग्रीका विषयमा गत जुलाई महिनामै चेतावनी जारी गरेको थियो । चीनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक सुरक्षा र गोपनीयता चिन्ताको कारण धेरै देश नियमन गर्ने तयारीमा छन् ।

यसअघि भारतले टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ र अमेरिका र अष्ट्रेलिया यस विषयमा विचारधिन छन् । पीटीएका अनुसार पाकिस्तानमा टिकटकका प्रति महिना दुई करोड एक्टिभ युजर्स छन् ।