विश्वव्यापी रुपमा नै शिक्षालाई सर्वाधिक महत्व दिएको पाइन्छ । नेपालमा पनि शिक्षण सिकाईको प्रसङ्गमा बेलाबेलामा थुप्रै ज्वलन्त प्रश्नहरु उठ्ने गरेका छन् । के नियमित स्कुल नजाँदैमा सिक्ने, बुझ्ने कुरा हराउँछ त ? औपचारिक संस्थाको रुपमा स्कूलहरु विकास नहुँदै पनि आखिर सिकाई त चलेकै थियो । मानव जातिको जैविक इतिहासको तुलनामा विद्यालयहरु नविनतम संस्था हुन् । भनिन्छ सिक्ने, जान्ने र बुझ्ने कुरा जीवन पर्यन्त चलिरहन्छ ।
मानव विकासको प्रारम्भिक चरणमा शिक्षा स्वतन्त्र सिकाईमा आधारित थियो । अहिले हामीले देखे जानेका स्कूलहरुको इतिहास मानव इतिहास सँगसँगै कसरी विकसित हुँदै आयो ? यो आलेखमा खोतल्ने प्रयास गरिएको छ । स्तरीय र मानक विद्यालयहरु इतिहासका उत्पादन हुन । अहिले अस्तित्वमा रहेको स्कूलिङ्ग प्रणाली बुझ्न ऐतिहासिक अवधारणा बुझ्न जरुरी हुन्छ । मानव सभ्यताको शुरुवातदेखि सयौं/हजारौं वर्षसम्म केटाकेटीहरु स्वनिर्देशित खेल, मनमौजी रमाइलो र खोजबाट आफै शिक्षित हुन्थे ।
कृषि यूगको शुरुवात हुनुभन्दा अघि फिरन्ते शिकारी युग थियो । मानवशास्त्रमा थुप्रै यस्ता प्रमाण छन् कि शिकारी युगमा केटाकेटीहरु खेल्दै रमाउँदै र स्वच्छन्द विचरण गर्दै ज्ञान आर्जन गर्थे । वयश्क हुँदा आवश्यक पर्ने सीप आफै सिक्थे । अभिभावकहरुले उनीहरुलाइ स्वतन्त्र विचरण गर्न छोडिदिन्थे । कृषि यूगको शुरुवात र पछि औद्योगिक युगसम्म आइपुग्दा उनीहरु बँधुवा मजदुर भए । शिकारी युगमा जीवनशैली सीप र ज्ञान केन्द्रित थियो । कृषि यूग (करिब दश हजार बर्ष पहिले) प्रारम्भ भएपछि भने मान्छेको जिउँने तरिकामा व्यापक बदलाव आयो ।
मानवशास्त्रीहरुका अनुसार शिकारी युगका मान्छेहरु समूहमा काम गर्थे । खेलेको हो या काम गरेको पत्तो नै हुन्थेन । सम्पूर्ण जीवन नै खेलको रुपमा रहन्थ्यो । फिरन्ते भएर कन्दमूल र शिकारको खोजिमा हिड्दा उनीहरुमा रुखबिरुवा र जनावर, भू-बनोट आदिका बारेमा अथाह ज्ञान मिल्थ्यो । औजारहरु निर्माण गर्न र कन्दमुल संकलन गर्न सीप चाहिन्थ्यो । लामो समय काममा जोतिनु पर्थेन । जे काम गर्थे त्यो रोमाञ्चक र उत्साहप्रद हुन्थ्यो ।
कृषि युगको प्रारम्भ भएपछि अवस्था परिवर्तन भयो । मानिसहरु स्थायी वासस्थानमा बस्न थाले । खेतिपाती र पशुपालन सुरु भयो । खेती किसानीबाट प्राप्त आयआर्जन नै मुख्य सम्पति हुन्थ्योे । खेतिपातीमा तुलनात्मक रुपले अध्यक्ष कामदार भएपनि काम चल्ने भयो । तर,समय धेरै दिनुपर्ने । यसका लागि बालबालिका उपयुक्त ठहरिए । केटाकेटीहरुको जीवन क्रमशः आफ्नो चाहना र रुचि पूरा गर्ने स्वतन्त्रता वा आजकालको भाषामा ‘बिन्दास’ रमाउने समय कटौती हुँदै गयो । काममा अलिबढी समय दिनुपर्यो । परिवारको सहयोगमा समय दिनुपथ्र्यो । सामन्ती मध्ययूगमा त मालिकबाट चरम शारीरिक सजाय समेत पाउँथे केटाकेटीहरुले ।
१९ औं र २० औं शताब्दीमा सार्बजनिक शिक्षालय क्रमशः विकास भए । जसलाई अहिले हामी परम्परागत स्कूलिङ्ग भनेर बुझ्छौं । बिस्तारै अनुशासनका तरिका अलि मानविय भए अथवा कम शारीरिक यातना दिन थालियो । बालमैत्री शिक्षाको वकालत हुन थाल्यो । सिकाइने पाठहरु अलि बढी स्वतन्त्र भए । पाठ्यक्रम बिस्तार भयो । पढ्नुपर्ने पाठ, विषय, समय, दिन र वर्षहरु निर्धारण भए । अनिवार्य स्कूलिङ्ग निरन्तर बढ्दै गयो ।
उद्योग कलकारखानाको विकाससँगै नयाँ बुर्जुवा बर्गको उदय भयो । सामन्तवाद छायाँमा पर्दै गयो । अझैपनि बालबालिकाको जीवनमा खासै परिवर्तन भएन । व्यापारी र साहु-महाजनलाई पनि थोरै भन्दा थोरै ज्यालामा काम लगाउने श्रमिक चाहियो । मात्र बाँच्नका लागि बालबालिकाहरु हप्ताको सातैदिन १७/१८ घण्टासम्म काममा खट्थे । खेतबारीमा काम गर्दा त कमसेकम उनीहरुले घामको उज्यालो भेट्थे, स्वच्छ हावा पाउँथे र केहि खेल्ने अवसर पनि पाउँथे । बालश्रम अब खेतबारिबाट अलि अँध्यारा, भिड-भाडयुक्त, फोहोरा कारखानामा सर्यो ।
बेलायतमा कारखानामा काम गर्ने हजारौं केटाकेटीहरुलाई दास जस्तै व्यवहार गरिन्थ्यो । रोग, भोक र कामको अत्यधिक बोझले हजारौंले ज्यान गुमाउन बाध्य हुन्थे । १९औं शताब्दीमा आएर बल्ल बेलायतले बालश्रम रोक्ने कानुन पास गर्यो । ९ बर्ष भन्दा कम उमेरकालाई काममा लगाउन प्रतिबन्ध गरियो । कार्यघण्टा प्रतिहप्ता ४८ घण्टा (१०-१२ बर्ष सम्म) र ६९ घण्टा (१३-१७ बर्ष सम्म) तोकियो।
केहि धार्मिक र केहि धर्म निरपेक्ष जस्ता धेरै कारणहरुले विश्वव्यापी र अनिवार्य शिक्षा भन्ने विचार उठ्यो र क्रमशः फैलिंदै गयो । शिक्षा भनेको घोकाउने, सिकाउने, पढाउने भन्ने बुझाई रहयो । उद्योग/कारखानाको विकास भयो बिस्तारै र केहि हदसम्म स्वचालित हुँदै गयो । बालश्रमको आवश्यकता विश्वका केहि भागमा घट्दै गयो । बाल्यकाल भनेको सिक्ने समय हो भन्ने कुरा विकास भयो । केटाकेटीका लागि शिक्षण सिकाईको थलोका रुपमा स्कुलहरु विकास गरिए । १६ औं शताब्दिीको शुरु देखि १९ औं शताब्दीसम्म यूरोपमा विश्वव्यापी, अनिवार्य सार्बजनिक शिक्षाको विचार र अभ्यास बिस्तारै विकास हुँदै गयो ।
विश्वव्यापी शिक्षाको प्रेरणा प्रोटेस्टेण्ट धर्मको विकाससँगै भएको हो । मार्टिन लुथरले घोषणा गरे-धर्मग्रन्थको स्वअध्ययनबाट मुक्ती/मोक्ष प्राप्त हुन्छ । त्यस्ता धर्मग्रन्थले निरपेक्ष सत्यको असली प्रतिनिधित्व गर्छन् र यि सत्य जस्ले बुझ्न सक्छ उसैलाई मुक्ति मिल्छ । पुनर्जागरण कालमा सार्बजनिक शिक्षा क्रिश्चियन कर्तव्यको रुपमा प्रवर्द्धन भयो । १७ औं शताब्दीको अन्त्यतिर जर्मनी विद्यालय शिक्षाको विकासको नेतृत्वकर्ताको भुमिकामा रह्यो । सबै प्रान्तमा बालबालिकालाई स्कुल पठाउने कानुन बनायो । तर, ती विद्यालयहरु राज्यले नभएर लुथरन चर्चले चलाउँथे ।
१९ औं र २० औं शताब्दीमा सार्बजनिक शिक्षालय क्रमशः विकास भए । जसलाई अहिले हामी परम्परागत स्कूलिङ्ग भनेर बुझ्छौं । बिस्तारै अनुशासनका तरिका अलि मानविय भए अथवा कम शारीरिक यातना दिन थालियो । बालमैत्री शिक्षाको वकालत हुन थाल्यो । सिकाइने पाठहरु अलि बढी स्वतन्त्र भए । पाठ्यक्रम बिस्तार भयो । पढ्नुपर्ने पाठ, विषय, समय, दिन र वर्षहरु निर्धारण भए । अनिवार्य स्कूलिङ्ग निरन्तर बढ्दै गयो । विद्यालयहरुले बालबालिकाहरुले गर्ने खेतबारीमा काम गर्ने कारखाना र घरायसी कामलाई प्रतिस्थापन गरे ।
नेपालमा भने २००७ सालको परिवर्तनपछि बल्ल सार्बजनिक शिक्षाको ढोका खुल्यो । त्यसैले पनि होला हाम्रो शिक्षा पद्धति अझैपनि माथि उल्लेख भएजस्तै इतिहासको मध्य चरणतिर भएजस्तो आभास हुन्छ । मौलिक हकको रुपमा संबैधानिक व्यबस्था भएको छ । विद्यालय तहको शिक्षा अनिवार्य र निःशुल्क भनिएता पनि व्यबहारिक कार्यान्वयन अझै भएको छैन । लाखौं बालबालिका बालश्रमिक र घरेलु कामदारको रुपमा काम गर्न बाध्य छन् ।
क्रान्तिकारी कार्यक्रम वितरणको शिलसिलामा गान्धीको पहिलो प्रस्ताव थियो-शिक्षाका सबै औपचारिक संस्थालाई दुई वर्षका लागि बन्द गरौं । यो सडेको शिक्षा, विदेश पलायन हुन प्रेरित गर्ने शिक्षा, अव्यवहारिक शिक्षा नपढेर केहि बिग्रिदैन । परिस्थीतिजन्य कारणबाट विद्यालयको ढोका एकैछिन बन्द भएतापनि आत्तिनुपर्ने केहि छैन । इतिहासको यो पृष्ठभूमिबाट केहि सिकेर एकैछिन अझै धैर्य गरौं ।
कोभिड-१९ले विद्यालय शिक्षामा परिरहेको प्रभावका सन्दर्भमा राजनीतिक चिन्तक प्रदिप गिरी भन्छन्-‘अनौपचारिक शिक्षा जुन आमा, बाबु अथवा हजुरआमाले सिकाएको शिक्षा छ, त्यसबाट औपचारिक शिक्षा चलिरहेको छ चिन्ता नगरौं ।’ यतिबेला स्कूल, कलेजको डिग्री हासिल गर्ने शिक्षा भन्दा अनौपचारिक माध्यमबाट शील , शान्ति, धैर्यको शिक्षा सिकाउँ हाम्रा नानीबाबुहरुलाई ।
(यो लेख मूलतः अमेरिकी लेखक र व्यापारी साशा एलिसन र बोष्टन कलेज अमेरिकामा मनोविज्ञान विषय प्राध्यापन गर्ने विद्धान अनुसन्धाता पिटर ग्रेका आधुनिक विद्यालय शिक्षाको उत्पत्ति /शुरुवात कहाँबाट र कहिले भयो भन्ने लेखमा आधारित छ ।)
प्रतिक्रिया