नवलपरासी । पश्चिम नवलपरासीमा केरा खेती गरेका कृषक उत्पादन विक्रि नभएपछि मारमा परेका छन् । विश्वव्यापी कोरोना महामारी तथा लामो समयको लकडाउनले उत्पादन विक्रि नभएपछि खेतमै कुहिँने अवस्थामा पुगेका छन् । खेतमै कुहिँनु भन्दा थोरै भएपनि क्षती पूर्ती गर्न उनिहरु आफ्नो उत्पादन ट्याक्टरको टालीमा राखेर दिनभरी गाउँ-गाउँ डुल्न बाध्य छन् ।
गतवर्ष दशैं भन्दा पहिले नै व्यापारीहरू खेतमै पुगी उत्पादन खरिद गर्दा मनग्य आम्दानी गर्न सफल कृषक यो वर्ष भने ग्राहक नपाएर चिन्तित् बनेका छन् । विश्वव्यापी कोरोना महामारीले यसवर्ष काठमाडौँ पोखरा र पहाडी क्षेत्रलगायत ठूला-ठूला बजारसम्म उत्पादन पुर्याउने व्यापारी नआँउदा घाटा व्यहोर्नु परेको कृषकहरुको गुनासो छ । उखु खेतीबाट समयमै रकम भुक्तान नपाएर आजित पश्चिम नवलपरासीका कृषकहरु केरा खेतीतर्फ आकर्षित भएपनि उत्पादन विक्रि नहुँदा थप मारमा परेका छन् ।
खेतमै केरा कुहिन लागेपछि ट्याक्टरको टालीमा राखी सदरमुकाम परासी बजारमा बेच्नआएका सुस्ता-५ बनकट्टीका लछ्मी नारायण धवलले बाध्य भएर विक्रिका लागि आफै डुल्नुपर्ने भएको गुनासो गरे । २ विगाह खेलमा तयार भएका केरा पाकेर पनि कुहिन थालेपछि नोक्सानी सहेर गाउँ शहरमा डुलान बाध्य भएको उनको गुनासो छ । उत्पादन विक्रि नहुने तथा विक्रि भए पनि आधा मूल्य पाउने गरेको उनले बताए । ‘पहिले-पहिले एक टाली केराको २० हजार भन्दा धेरै मूल्य पथ्र्यो, अहिले मुस्किलले १० हजारसम्म पर्ने गरेको छ ।’-धवलले भने । गतवर्ष उनले केरा उत्पादन गरी २० लाख बढी आम्दानी भएको बताए पनि यो वर्ष विक्रि नहुँदा घाटा व्यहोर्नु परेको उनले सुनाए ।
अर्का कृषक सुस्ता-५ कै किसान मनोज चौधरीले भने-‘पहिले उखु खेती गरियो, समयमा भुक्तानी र उचित मूल्य नहुँदा केरा खेतीतिर लागे पनि उस्तै घाटा व्यहोर्नु परेको छ ।’ यो वर्ष केराका कारण ठूलो नोक्सान हुने खतरा बढेपछि आफैले ट्याक्टरमा राखेर विक्रिका लागि हिँड्नु परेको उनले बताए । विश्वव्यापी कोरोना महामारी तथा भारतीय बजारबाटसमेत भित्रिदा आफ्नो उत्पादनले मूल्य नपाउने गरेको उनको गुनासो छ । ‘व्यापारीहरूले भारतीय बजारबाट ल्याएर ८० रूपैयाँ बढीमा एक दर्जन बेचिरहँदा हामीले ३० रूपैयाँ दर्जनका हिसाबले बेच्न बाध्य छौं ।’-धौरीले भने ‘सरकारले कम्सेकम भारीय उत्पादनलाई नेपाल आन नदिने हो भने पनि हामीले मूल्य पाउने थियौं ।’ सरकारले कृषका उत्पादनलाई खरिद गर्ने व्यवस्था हुनु पर्ने उनको माग छ ।
पश्चिम नवलपरासीमा अहिले १७ सय विगाहामा केरा खेती हुने गरेको छ । कोरोना महामारी र बन्दाबन्दी लम्बिदै जाने र केराको बजार व्यवस्थापनमा सरकारले ध्यान नदिए ५० लाखदेखि १ करोड रुपैयाँसम्म नोक्सान हुने केरा उत्पादन संघका जिल्ला अध्यक्ष लख्खु यादवले बताए । जिल्लामा अहिले लोजिनाई, नन्दन, रावेस्टा नाम भएका केरा करिब ४ सय विगाहामा तयारी अवस्थामा रहेको अध्यक्ष यादवले बताए ।
यहाँको केरा पोखरा, काठमाण्डौं, बुटवल, दाङ, नारायणघाट लगायतका क्षेत्रहरुमा विक्री हुने गर्दछ । एउटा प्रदेशको उत्पादन अर्को प्रदेशमा लैजान समस्या हुँदा अवस्था जटिल बनेको यादवले बताए कृषि ज्ञान केन्द्र, नवलपरासी प्रमुख देवेश कुमार मिश्राका अनुसार जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा वार्षिक चार हजार २०९ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । स्थानीय निकायसँग समन्वय गरी क्षतीको विवरण बुझाउन केरा उत्पादनक संघलाई आग्रह गरिएको मिश्राले बताए ।
प्रतिक्रिया