ताजा अपडेट »

२२५०

मंगलबार, २० असोज २०७७

अन्तरीक्ष यात्री युरी गाग्रीन अन्तरीक्षमा पुगेर फर्केपछि एक भव्य सम्मान कार्यक्रममा उनलाई रुसी राष्ट्रपतिले सोधे छन् –तिम्लाई के सहयोग गर्नु पर्यो ? युरी गाग्रीनले भनेका रहेछन् – मलाई अरु केही चाहिदैन । तपाइँको कम्युनिष्ट पार्टीको सदस्यता दिए पुग्छ । तत्कालीन रुसमा कम्युनिष्ट पार्टीको सरकार थियो । सोही पार्टीकै नेता राष्ट्रपति थिए । अनि अन्तरीक्ष यात्रीले सगौरव कम्युनिष्ट पार्टीको सदस्यता मागे । यसैबाट थाहा हुन्छ कि कम्युनिष्ट पार्टीको सदस्यता कति महत्वपूर्ण हुन्छ भन्ने कुरो ।

प्रदेश नं.५ को राजधानी बुटवलबाट अन्यत्र सर्ने भएपछि रुपन्देही क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कार्यकर्ता भई विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिकामा क्रियाशील रहेका पार्टी सदस्यहरुले नेकपालाई सामुहिक राजीनामा दिने भनेर मंगलवार मध्यान्हमा दुई हजार दुई सय ५० जना सो पार्टीका सदस्यहरुले बुटवलमा पत्रकार सम्मेलन गरी घोषणा गरेका छन् । पार्टीलाई बुझाउन हस्ताक्षर समेत गरेका छन् ।

कति लामो समयदेखि राजनीतिक पार्टीमा आवद्ध रहेका,हिजो आफ्ना नेताहरुलाई चुनावमा जिताउन नगद र नैतिक समर्थन गरी भौतिक रुपमा क्रियाशील भएका त्यत्रा सदस्यहरुले सामुहिक राजीनामा दिंदा के हुन्छ होला ? पार्टीलाई कति असर पर्छ होला ? के पार्टीको नेतृत्वले सोचेको छ ? उनीहरुले रहर वा घुर्काउन राजीनामा दिएका हुन् ? के उनीहरुको पार्टीमा कुनै हैसियत नै छैन ? के उनीहरु चुनावका बेला चन्दा दिने र भोट हाल्ने सामान्य भोटर्स मात्र हुन् ?

उद्योगी,व्यापारीहरुले बुटवलमा स्थायी राजधानी बनाउनका लागि कुनै सहयोग नै गरेका थिएनन् ? यहाँको भौतिक पुर्वाधार अर्थहीन थिए ? के उनीहरुको पार्टीलाई दुईतिहाई नजिक पुराउन कुनै योगदान छैन । आइन्दाको निर्वाचनमा उनीहरुका वा उनका परिवार,इष्टमित्र र साथीभाइहरुको भोटको भ्यालू हुने छैन ? एक जना सदस्यको सरदर ५ जना परिवार हिसाव गर्दा पनि करिव ११ हजार मतको अन्तर पर्छ । उनका आफन्ती,साथीभाइलाई समेत प्रभाव पर्ने भएको करिव १५ हजारको भोट फरक पर्दा आगामी डेढवर्षपछि हुने स्थानीय निर्वाचन र ढाईवर्षपछि हुने प्रदेश र संघीय निर्वाचनमा के कस्तो असर पर्ला ? भोटको मात्र होइन उद्योगी,व्यवसायीहरुको नैतिक समर्थनबिना के रुपन्देहीमा नेकपाका कुनै उम्मेदवारले कुनै ठाउँमा चुनाव जित्ने कल्पना त सपनामा पनि नदेखे हुन्छ ।

नेकपाका २२५० सदस्य एकदिनमै तयार भएका होइनन् । उनीहरु सामान्य समर्थक वा सदस्यहरुमात्र होइनन् । उनीहरुसँग संघीय,प्रदेश र स्थानीय तहको सरकार सञ्चालन गर्न सक्ने खुबी भएका नेताहरु छन् । विचार र भावनाले दृढ,आँटिला र जोशिला अनि आर्थिक रुपले सम्पन्न भएका यत्रा सदस्यहरुले एकै पटक राजीनामा दिंदा पार्टीको कुनै रौं हल्लिन्न ? पार्टीमा पहिरो जान्न ? प्रदेश राजधानी ठूलो कि पार्टीका सदस्य वा सिपाहीहरु ? नेकपाले गहन भएर सोच्नु पर्ने बेला आएको छ ।

पार्टी कसका लागि ? नेता कसका लागि प्रदेश र जनता कसका लागि ? कार्यकर्ता र नेता नै नभएपछि प्रदेशको अर्थ के ? भोलि यही कारणले पार्टीको इज्जत तिनाउ खोलामा बग्ने छ । नेतृत्वबाट नेकपाका नेताहरुले हात धुने छन् । ती दिनमा यीनै २२५० जना सदस्यहरुलाई सम्झेर धुरुधुरु रुनु पर्नेछ । त्यतिबेला तिनाउको धमिलो पानीमा अरुले नै माछा मरि रहेका हुने छन् ।

सम्झ एकपटक फेरि पनि युरी ग्रागीनले कम्युनिष्ट पार्टीको साधारण सदस्यता यसै मागेका थिएनन् होला ? ती वैज्ञानिकले बुझेर नै मागेका होलान् । हाम्रा आर्थिक वैज्ञानिकहरुले आज बुटवलबाट आफ्नै पार्टीको साधारण सदस्यता नरहने गरी पार्टी छाड्दा मन नरोएको छैन होला । उनीहरुको आँसु नेकपाका नेताहरुलाई श्राप बनेर लाग्ने छ । उद्योगी,व्यापारीहरु नेता बन्न सक्छन् तर नेता उद्योगी ,व्यापारी बन्न सम्भव कम हुने छ ।

कम्युनिष्टका सदस्यहरु भनेका बीऊ हुन् । छरेपछि उम्रिन्छन् । सुगन्ध,दाना दिन्छन् । पार्टीका यस्ता सुगन्धित र दानवाला सदस्यहरु गुम्दा के होला ? पार्टीले सोच्ला अरु सदस्यहरु बनाउँला तर त्यतिबेला घाम अस्ताइ सकेको हुने छ ।