पार्टी एकता गर्ने लक्ष्यसहित तत्कालीन नेकपा ( एमाले ) र नेकपा ( माओवादी केन्द्र ) ले २०७४ सालमा चुनावी तालमेल गरि चुनावमा होमिए । वामपन्थी विचारधारालाई रुचाउने नेपाली जनताले उक्त तालमेललाई स्वीकार गरि करिव करिव दुई तिहाइको मत दिए । फलस्वरूप आज देशमा कम्युनिष्ट पार्टीको सरकार छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न शक्ति केन्द्रको दबाब र प्रभावका विरुद्ध संघर्ष गर्दै यो सरकारले जनमुखी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । उत्पीडित तथा विपन्न वर्गका जनतालाई सामाजिक न्याय दिलाउनको लागि सकारात्मक विभेदको नीति अख्तियार गरेको छ । यो नीतिलाइ व्यापक बनाई थप कार्यान्वयन गर्न युवा नेतृत्वले जोडदार आवाज उठाउनु पर्दछ ।
आजभन्दा दुई वर्ष अघि नेकपा एमाले र नेकपा माओवादीको एकता भई हाल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) बनेको छ । यो पार्टीलाई राज्य सञ्चालन गरि आम नागरिकहरुलाइ सेवा गरि खुशी र सुखी बनाउनु छ । अर्कोतिर पार्टी एकताको स्पीरिट अनुसार नेपाली माटो सुहाउँदो नीति, कार्यक्रम तय गरि तमाम नेता कार्यकर्ताहरुलाई क्षमता र योगदानको आधारमा उचित जिम्मेवारी दिई व्यवस्थापन गर्नुपर्ने छ । यी दुई मुख्य चूनौतीहरुसँग जुध्दै अगाडि बढ्नुको विकल्प छैन । यो पार्टीलाई बाह्य प्रतिपक्ष दलभन्दा आन्तरिक पार्टी गतिविधिहरु ठूलो समस्याको रुपमा देखिएको छ । अतः पार्टी प्रणालीलाई चुस्त दुस्त, क्रियाशील राख्नको लागि आन्तरिक परिचालनलाई व्यवस्थित गर्नुपर्दछ ।
दुई फरक राजनैतिक पृष्ठभूमि र स्कुलिङ्गबाट आएका नेता र कार्यकर्ताहरुको अन्तर्घुलन सजिलो तरिकाले हुन सक्दैन । यो जटिल कार्यलाई आत्मसात गरि पार्टीको राजनीति कार्यमा हामी सबै सहभागी हुँदै आएका छौ । त्यसकारण यहाँ मैले पार्टी अन्तर्घुलन सम्बन्धि मेरा अनुभूतिहरु छोटकरीमा पस्कने जमर्को गरेको छु । राजनीतिक दलका कार्यकर्ताहरुले पार्टी नीति अनुसार सामाजिक सेवामा समर्पित भई काम गर्ने पवित्र लक्ष्य बोकेका हुन्छन् । कुनै दलमा संगठित भएको कार्यकर्ताले राजनीतिमा सफलता पाउनको लागि कठीन संघर्ष गर्नुपर्छ । उसले राजनीति, समाज, विज्ञान, कानून आदि अन्य शास्त्रमा प्रशस्तै अध्ययन गर्नुपर्छ ।
समाजको विकासको लागि जनता सामू योजनाका दृष्टिकोण प्रस्तुत गरि असल राजनीति ब्यक्तिको रुपमा स्थापित हुन सकिन्छ । जनताले कार्यकर्तालाई राजनीतिक नजरले हेरि सोही अनुसार व्यवहार गर्दछन् । पार्टी एकता भएपनि बैठकहरुमा सामान्यः एमाले खेमा वा माओवादी खेमाका अलगअलग धार देखिन्छन् । यो अन्तर्घुलनसँग जोडिएको प्रश्न हो । जुन विस्तारै विलय हुँदै जाने नै छ । अन्तर्घुलन, चिनी र पानी मिसिए जस्तै सजिलो भने छैन । सहकार्यको दौरानमा एमाले खेमाका नेताहरुसँ घुलमिल हुन पाइयो । यस्तो सहकार्यबाट मैले राजनीतिक जीवनमा मेरो व्यक्तित्व विकासको लागि राम्रो अवसर पाएको ठानेको छु ।
पूर्व एमालेका नेताहरुले गाउँघरमा विकास निर्माण के कस्तो चलेको छ ? जनताका स्थानीय मागहरु के के छन ? भनी चासो दिई कार्यकर्तामार्फत निरन्तर सोधपुछ गरेको देखियो । यसरी जनताप्रतिको आफ्नो उत्तरदायित्व पूरा गर्नु सह्रानीय कार्य हो । त्यस्तै कार्यकर्ताहरुको अवस्था कस्तो रहेको छ ? कार्यकर्तालाई उत्पादन वा रोजगारसँग जोडेर जीवनस्तरलाई उकास्ने बारेमा चिन्तन,मनन गरेको देख्दा म स्वयम् उत्प्रेरित हुन्छु । संगठित शक्तिको आधारमा निर्णय गर्ने परिपाटी अवलम्वन गरेको मैले भेटें ।
त्यस्तै माओवादी खेमाका नेताहरुको कार्यशैलीबाट एक दशक अघिदेखि नै म धेरै जानकार छु । पूर्व माओवादी नेताहरुले राजनीति गर्नुपर्दछ भन्छन् तर अमूर्त योजना पेश गर्दछन् । जनता र कार्यकर्ताहरुमा ठूला सपना बाँडेर उत्साहित बनाउने तर निरन्तरता नदिइकन बीचैमा अलपत्र पार्ने माओवादी खेमाको सुधार्नु पर्ने संस्कार छ । यस खेमाका नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई उत्पादन क्रियाकलापमा आवद्ध गर्नुपर्छ । परिश्रम गर्नुपर्छ भनी यथेष्ट प्रशिक्षित गरेनन् । जनता , कार्यकर्ताहरुको समुचित जीवनस्तर उकास्ने सम्बन्धि किन योजना सकेनन् ?
अब रहस्योघाटन गर्ने बेला भएको छ । मैले देखें र भोगें कि जनस्तरबाट विकास निर्माण सम्बन्धि गरेका आलोचनाहरुलाई माओवादी खेमाका नेताहरुले सहन सक्दैनन र जनतामाथि दोषी चस्माले हेर्छन भने एमाले खेमाका नेताहरुले उक्त आलोचनालाई अवसरको रुपमा ग्रहण गरि सिर्जनात्मक कार्य गर्न तत्पर हुन्छन् । जनताको सेवा गर्ने राजनीतिकर्मीहरुमा आलोचनात्मक चेत हुनु पर्छ । गल्ती ,कमजोरी औल्याई दिने जनताहरुलाई महान गुरु सम्झिनु पर्दछ । जनताको सेवाको लागि संघर्ष गर्ने ब्यक्ति जनतासँग एकाकार भई क्रियाशील हुनुपर्छ ।
प्रतिक्रिया