ताजा अपडेट »

पाचौँ धर्मश्री बिजेता- लालबहादुर गुरुङ

सोमबार, १९ असोज २०७७

लालबहादुर गुरुङको जन्म वि.सं. २०२९ सालमा गोर्खामा भएको थियो । पछि उनी सहित उनका परिवार ३५ साल तिर तानसेन पाल्पामा बसाइँ सरे । उनको पठनपाठन पाल्पामा नै भयो । निकै मिजासिला गुरुङ् साथिहरुका बीच मुन्ना उपनामले परिचित भए । २०४५ साल तिर उनि आफैले पाल्पा हेल्थ क्लब तानसेनमा सञ्चालन गरेर व्यायाम गर्न थाले ।

सोहि क्रममा उनको भेटघाट शिवध्वज राइसँग भयो । जसले लुम्बिनी अञ्चलको शारीरिक सुगठन खेलको विकासका लागि प्रतियोगिताहरु आयोजना गर्थे । उनको पहिलो प्रतियोगिता २०४९ सालमा उनै शिवध्वज राइले सञ्चालन गर्ने नेपाल व्यायाम मन्दिर शाखा सिद्धार्थनगरको आयोजनामा भएको प्रथम मिष्ट्रर लुम्बिनी थियो । जसमा उनी ६५ केजी तौल समुहमा रजत पदक जित्न सफल भएका थिए । २०५२ सालमा नेपाल व्यायाम मन्दिर शाखा तौलिहवाको आयोजनामा भएको तेश्रो मिष्ट्रर लुम्बिनी प्रतियोगितामा श्रीनगर हेल्थ क्लबबाट प्रतिनिधित्व गर्दै उपाधि उचाल्न सफल भए ।

सोही वर्ष नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको अयोजनामा भएको पहिलो मिस्टर हिमालय प्रतियोगितामा उनी ६० केजी तौल समूहमा चौथो भए । ५३ साल भाद्र १६ गते आयोजना भएको तेश्रो मिष्टर एभरेष्ट्र क्लासिकमा उनी ६५ केजी तौल समूहमा प्रथम भएका थिए । २०५४ साल पौष १९ गते ओल्पियन जिम सेन्टर तौलिहवाको आयोजनाका कृष्णनगरमा भएको प्रथम मिष्ट्रर पश्चिमाञ्चल प्रतियोगितामा ७० केजी तौल समूहमा प्रथम स्थान प्राप्त गर्दै उपाधि चुम्न सफल भएका थिए । २०५४ सालमा भएको नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको पाचौ धर्मश्री अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगिता ७० केजी तौल समूहमा प्रथम स्थान प्राप्त गर्दै उनले उपाधि जितेका थिए ।

सो प्रतियोगितामा १० जिल्लाबाट ५३ जना सहभागी भएका थिए । प्रत्येक बजन समूहबाट १्१ जना गरि ६ जना विजेताहरूको अन्तिम चरणका लागि छनोट गरियो । जसमध्ये ५५ केजी तौल समूहमा सचित प्रधान, ६० केजी तौल समूहमा बिरु महर्जन, ६५ केजी तौल समूहमा प्रकास प्रजापति, ७० केजी तौल समूहमा लालबहादुर गुरुङ, ७५ केजी तौल समूहमा सुदर्शन डंगोल र ७५ केजी भन्दा माथि तौल सम्ममा नरेश महर्जन छनौट भए । अन्तिम प्रतिस्पर्धामा सबै प्रतिस्पर्धीलाई पछि पार्दै लालबहादुर गुरुङ पाँचौं धर्मश्रीको उपाधि उचाल्न सफल भए ।

उनले उपाधिसंगै १५ हजार नगद पुरस्कार समेत प्राप्त गरे । दोस्रो भएका बिरु महर्जनले ८ हजार र तेस्रो सचित प्रधानले ५ हजार नगद प्राप्त गरे । लाल बहादुरले काठमाडौं जेसिसको आयोजनामा वि.सं. २०५४ सालमा मिष्टर काठमाडौं खुल्ला शारीरिक सुगठन प्रतियोगितामा छैठौ स्थान प्राप्त गरेको थिए । लुम्बिनी अञ्चलमा हुने विभिन्न प्रतियोगिताहरुमा उनले निर्णायकको भुमिका समेत निर्वाह गरे । २०५७ सालमा नेपालमा भएको दोस्रो दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा उनले सहभागिता जनाएका थिए । त्यसपछि उनी रोजगारीका शिलशिलामा देश बाहिर जान परेकाले अन्य खेलहरुमा सहभागिता जनाउन नसकेको उनी बताउँछन् ।