राजधानी दाङ्ग जाने हो भने बुटवल अब आर्थिक केन्द्र रहिरहन्न । बुटवलबासीको चिन्ता र चासो राजनीतिक भन्दा पनि आर्थिक हो । अझ अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट सोझै बाइपास बाटो हुँदै पूर्व पश्चिमबाट बाटोको निकास खुलेपछिको दुरगामी असर त देखिनै बाँकी छ । यस मानेमा बुटवलबासीको आक्रोश ठिक छ, जायज छ । ज–जसले राजधानीको मुद्दा उठाएर भोटको क्षणिक राजनीति गरे, जनता र कार्यकर्ता ढाँटे तिनको हिसाव–किताब आगामी चुनावमा हुनेनै छ । महेन्द्रमा जति दुरगामी सोंच गणतन्त्रका छोटे राजाहरुमा नहुँदाको दुःख अझै कति भोग्न पर्ने हो ?
दाङ्ग र आफ्नो निर्वाचन क्षेत्रबाहेक प्रदेशका १२ जिल्ला र प्रदेश निर्वाचन क्षेत्र प्रति मुख्यमंत्रीको समदृष्टी देखिएन व्यवहारमा कहिल्यै पनि । अकर्मण्य र संकीर्ण मानसिकता रहिरह्यो । केन्द्रको गुठगत राजनीतिमा सकृय हुने, फेसबुकमार्फत प्रतिक्रियात्मक व्यवहार देखाउने र आफ्नो साँघुरो घेरा, कोटरीमा अलमलिएर महत्वपूर्ण समय यत्तिकै खेर गयो । निकै आशा गरिएका मध्येका दोश्रो पुस्ताका उदियमान नेताको पर्फमेन्स सन्तोषजनक देखिएन । आर्थिक मामिला मन्त्रालय समेत आफ्नो मातहतमा राखेर आफ्नो राजनीतिक स्वार्थ केन्द्रित रणनीति र योजनामा मात्र लागेको देखियो ।
बाढी, पहिरो लगाएतका प्राकृतिक विपद्का बेला केन्द्रिय/संघीय सरकारका मन्त्री, स्थानीय तहका प्रमुखहरु जनताको घरदैलोमा पुग्दा समग्र प्रदेश सरकारको भूमिका कमजोर देखियो । जनसरोकारका कामहरु र जनतासँग प्रत्यक्ष सम्पर्कमा प्रदेश सरकार नदेखिदा प्रदेश संरचना माथि नै सन्देह उत्पन्न हुदैछ । संघीयता माथि नै प्रहार भैरहेको छ । वास्तवमा संघीय शासनमा धेरै तत्व जोडिएका हुन्छन् ती हुन् प्रदेशमा आएको शक्ति, सरकारी संस्था, पार्टी, संगठन र संघ संस्था र प्रदेशको सामाजिक संरचना । स्थानीय तह र प्रदेश भनेका वास्तविक अर्थमा प्रजातन्त्रको प्रयोगशाला हुन । अहिले जसरि प्रदेशको केन्द्र तोक्ने र नामाकरण गर्ने अभ्यास गरिदैछ त्यो संघीयताको मर्म विपरीत छ । प्रदेशस्तरमा, प्रदेश सभामा यसबारे पर्याप्त बहस र छलफल गरेर सबैको चित्त बुझ्ने बिचको बाटोबाट निस्कर्षमा पुग्न सकिन्थ्यो ।
विश्वास, भरोसा र सहिष्णुता संघीयताको मुटु हो । संघीयता शब्दको अर्थ नै एकता र सम्पर्क हो । जोडिने मुख्य बाटो संविधानले र इकाइहरुको साझेदारीको सम्झौताले बनाउँछ । पक्ष विपक्षमा तिब्र ध्रुबिकरण हुदै गयो भने कालान्तरमा समस्या झन बल्झिन सक्छ । नेताहरुको संकिर्ण मानसिकता र चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मानसिकताले जनता बिभाजित हुने परिस्थिती नर्मिाण हुदैछ । लोकतन्त्रको मर्म अभ्यास र व्यवहारमा देखिनुपर्छ । भाषण र कागजमा मात्र भएर हुदैन । बितेका अढाई बर्षसम्म केन्द्र र नाम तोक्ने जस्तो पेचिलो मुद्धालाई जानिजानि ओझेलमा राखियो । प्रदेश सभासदहरु निरिह देखिए । कार्यदलले अध्ययन, अबलोकन र जनताका राय सुझाव समेटेर तयार गरेको प्रतिबेदन खै ?
पार्टी केन्द्र निर्णय र ह्वीपको डण्डा लगाउँदा भोलि आम कार्यकर्ता र नेताहरु चुनावको बेला कुन मुख लिएर जनताको घरदैलोमा जाने ? चुनावि सभा र घोषणापत्रका प्रतिवद्धताहरु, पार्टी अध्यक्षहरु र उम्मेदवारहरुले जनाएका प्रतिवद्धताहरु, बोलेका भिडियो रेकर्डहरु सामाजिक संजालमा छताछुल्ल भएका छन् । कसरी प्रतिबाद कसरी गर्ने, आगामी एजेण्डा के हुने ? रणनिती कस्तो हुने ? भन्ने बारेमा स्थानीय पार्टी पंक्ती अलमलमा छ । मरिमेटेर देखिने गरि अग्रमोर्चामा खटिने जुझारु कार्यकर्ताको नूर गिरेको छ । मनोबल खस्केको छ । यसको प्रभाब आउने चुनावमा प्रकट हुने नै छ । मतदाताहरु अहिले धेरै जागरुक भैसकेका छन् । तसर्थ हिजो प्राप्त गरेको प्रचण्ड मतको कदर गरौं । होईन भने खुम बहादुर खड्का, दिपक बोहोराहरुको नियती नदोहोरिएला भन्न सकिन्न ।
अहिलेको बुटवल भनेको पुरानो बटौली वा खस्यौलीमात्र होईन । यसको परिधी फराकिलो भएको छ । यो स्वतस्फुर्त रुपमा बनेको आर्थिक र शैक्षिक केन्द्र पनि हो । ऐतिहासिक बिरासत बोकेको बुटवलको आप्mनै मौलिक पहिचान र विशेषता छ । तिनाउ किनारबाट शुरु भएको यहाँको शहरी सभ्यता अझ परिस्कृत र बिस्तारीत हुँदैछ । बटौली, खस्यौली हुँदै अहिलेको बुटवल विगतदेखि नै दरिलो आर्थिक केन्द्र हो । अस्थायी राजधानीको रुपमा रहदै गर्दा यहि नै स्थायित्वको आकांक्षा सहित यहाँ प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै ठुलो आर्थिक लगानी भैसकेको छ । तसर्थ यतिबेला बुटवलका उद्योगी व्यवसायी र संघ संस्थाहरु मर्माहत हुनु स्वभाविक छ । सबैको अपनत्व हुने खालको र सबैले गौरव गर्न लायक नमूना प्रदेश बनाउन अहिलेको प्रस्तावलाई थाति राखेर उपयुक्त साझा स्थानको खोजि गरौं । यतिबेला बुटवलबासीको चिन्ता कतै यो शहर कालान्तरमा मृत शहरमा परिणत हुने हो कि भन्ने स्वभाविक चिन्ता छ ।
गुठगत राजनीतिको कोटरीमा रमाउनेहरु राजधानी जहाँ भएपनि के फरक पर्छ र भनिरहेका छन् । हो त्यसो भए अहिलेसम्म मौन रहेर, अनिर्णयको बन्दी भएर किन बसेको ? सबै क्षेत्रको समानुपातिक र समावेशी विकास हुनुपर्छ यसमा कसैको पनि दुई मत छैन । यसका लागि सही नीति र योजना तर्जुमा गरेको खै ? बुटवललाई केन्द्र मानेर यसको परिधी परिपरी व्यवस्थीत स्याटेलाइट शहर बनाउने गुरु योजना बनाएर काम गर्न सकिन्छ । नेतृत्वको दुरदर्शिता र संकीर्ण स्वार्थ केन्दीत राजनीतिले गर्दा बन्दिपुरको नियती भोग्न सक्छ बुटवलले । बृहत्तर बुटवलको बासिन्दाको नाताले अहिले भैरहेको बुटवललाई नै प्रदेशको स्थायी राजधानी बनाउनुपर्छ भन्ने आन्दोलन प्रति मेरो पनि ऐक्यवद्धता छ । बुटवल÷रुपन्देहीका उद्योगी, व्यापारी, व्यबसायी र सामाजिक संघ संस्थाले प्रदेश स्थापना हुँदै गर्दा गरेको सहयोग । उनीहरुका चासो र सरोकारलाई पूरै बिर्सेर अहिले राजनीतिक दाउपेचको बलमा जनमतलाई कुल्चियो । यो दुःखद छ ।
क्षेत्रियता वा प्रदेश भन्नु नै क्रियाशिल पद्धती हो । नायकहरुको सामूहिक क्रियाकलापले त्यो भूगोलमाथि रुपान्तरण हुन्छ । स्वयत्तता, व्यक्तिगत स्वतन्त्रता सुनिश्चित गर्न सामूहिक पहिचान अनि भूगोलभित्र सामाजिक संरचना खोज्न जरुरी हुन्छ । त्यो संरचनाभित्र क्षेत्रीयताको पुनःसंरचना गर्ने कार्य गरिनुपर्छ । जसको आधार अर्थ र सामाजिक परिवेश हुन्छ र त्यहाँ विकास हुन्छ भनेर संघीयताका अध्येताहरु भन्छन् । आत्मसम्मान र नागरीकको अपनत्वमा संघीयताको भविष्य निर्भर हुन्छ । विकासका लागि द्धन्दलाई सिर्जनशीलता र नवीनतातिर डो¥याउनु पर्छ । संघीय संरचना सञ्चालन गर्न ठूलो आर्थिक धनराशि चाहिन्छ ।
प्रदेशका संरचना निर्माणमा मात्र १० अर्ब रुपैया आर्थिक भार व्यहोर्नुपर्छ । हामीसँग स्रोत र साधनको कमि छ । अवस्था राम्रो छैन, त्यसैले मितब्ययिता चाहिन्छ । भर्जिन स्थानमा राजधानी बनाउने कुरा आर्थिक हिसाबले तत्काल सम्भव छैन । प्रारम्भिक चरणमा निर्माण गरिएका मौजुदा संरचनाबाट नै अगाडि बढ्दा समग्र प्रदेशबासीको हितमा हुन्छ । त्यसैले राजधानि सार्ने प्रपञ्च त्यागौं ।
प्रतिक्रिया