ताजा अपडेट »

विष्णु पौडेलले बुटवलमा राजधानी टिकाउन नसकेकै हुन् त !

आइतबार, १८ असोज २०७७

२०१५ सालमा नेकपाले जम्माजम्मी ४ सीट जितेको थियो । जित्नेहरुमध्ये कमलराज रेग्मी(पाल्पा), तुलसीलाल श्रेष्ठ(ललितपुर), शेख फर्मान( रौतहट) र हरदयाल महतो ( रौतहट) थिए । खसेको मतको ७.२ प्रतिशत् तत्कालीन नेकपाले प्राप्त गरेको थियो । त्यतिबेलैदेखि पाल्पा कम्यूनिष्टको आधार ईलाका थियो भन्ने कुरा कमलराज रेग्मीले चुनाव जितेपछिको परिणामले देखाउँछ ।

कम्यूनिष्ट पार्टीको विभाजन,एकीकरणको लामो फेहरिस्त छ । त्यसले पनि संसदीय निर्वाचनमा मत फरक परेको अवस्था लुकाएर लुक्दैन । प्रजातन्त्र पुनःस्थापनापछि अर्थात् २०४८ सालको निर्वाचनमा तत्कालीन लुम्बिनी अञ्चलमा भएको २१ वटा चुनावी क्षेत्रहरुमध्ये तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर नवलपरासी क्षेत्र नं. २ बाट मझिलाल थारु थनेत विजयी भएका थिए । उनी मात्र एउटा पात्र थिए जो लुम्बिनी अञ्चलबाट कम्यूनिष्टहरुको तर्फबाट संसदमा प्रतिनिधित्व गर्थे ।

२०५१ सालमा मध्यावधि निर्वाचन भएपछि तत्कालीन एमालेले पाल्पाबाट तीनैवटा चुनावी क्षेत्रमा श्रेष्ठता हासिल गरेको थियो । दलबहादुर राना,सोमप्रसाद पाण्डेय र विष्णुप्रसाद पौडेलहरु नै थिए पाल्पाबाट विजयी हुनेहरुमा । पाल्पाबाट विजयी हुनेहरु यी तीनैजना नेपाल सरकारका मन्त्री भइसकेका छन् । पाल्पाबाट संसदीय राजनीति सुरु गरेका विष्णुप्रसाद पौडेले २०५३ सालको चैत्र ११ गते लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा गठित मन्त्री परिषद्मा युवा,खेलकूद तथा संस्कृति मन्त्री हुने अवसर पाएका थिए । २०५६ सालको संसदीय निर्वाचनमा रुपन्देहीको क्षेत्र नं. ३ बाट उनी सूर्यप्रसाद प्रधानसँग पराजित भए । उनलाई हारले जित्न सिकायो ।

२०६४ सालमा पहिलो संविधान सभाको निर्वाचनमा रुपन्देही क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए । २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा उनी बहुचर्चित उम्मेदवार बनेका थिए । तत्कालीन नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पराजित गरेपछि उनको हाईट एक्कासी चुलिएको थियो । आजसम्म उनलाई कुशल राजनीतिज्ञ एवम् विकासप्रेमीका रुपमा यस क्षेत्रका नागरिकहरुले चिन्ने गर्दछन् ।

नेपाल सरकाको रक्षामन्त्री,जलस्रोतमन्त्री, अर्थमन्त्री भईसकेका छन् । देशकै होनाहार नेताका रुपमा परिचित विष्णु पौडेलको राजनीति प्रदेश नं. ५ को राजधानीसँग जोडिएर आएको सबैले सजिलै अनुमान लगाउन सक्छन् । धेरैले बुटवलबाट राजधानी अन्यत्र सर्दैन भन्ने कुराको गतिलो तर्क विष्णु पौडेललाई आधार मानेर दिदैं आएका थिए । तत्कालीन लुम्बिनी अञ्चलका नेताहरु विष्णु पौडेल,बालकृष्ण खाँड,टोपबहादुर रायमाझी लगाएतका नेताहरुको समीकरणले बुटवलबाट राजधानी नसर्नेमा ढुक्क प्रायः थिए ।

विष्णुप्रसाद पौडेल पार्टीको लुम्बिनी अञ्चल इन्चार्ज,संगठन विभाग प्रमुख, उप-महासचिवहुँदै यतिबेला नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को महासचिव बनेका छन् । उनी महासचिव भइरहँदा यस क्षेत्रका नागरिकहरुले बुटवलबाट राजधानी सर्ने र सार्ने कुरामा रत्तिभर कल्पना गरेका थिएनन् । प्रदेश सभामा राजधानी सर्ने कुराले प्रवेश पाएपछि स्थानीय नागरिकहरु छाँगोबाट खसेसरि भएका छन् । प्रतिपक्ष नेपाली कांग्रेसले आइतबार रुपन्देही बन्दको घोषणा गसिकेको छ । संस्थागत सञ्जालले बुटवलमा विहानै नारा,जुलुशसहित बिरोध जनाईसकेको छ ।

खासगरी आवश्यकता, स्थानीय साधन र स्रोत, भौगोलिक वनोटका कारणले अस्थायी राजधानीलाई नै स्थायी राजधानीमा रुपान्तरण गर्ला प्रदेश सरकारले भन्नेहरु धेरै थिए । घडीको सूई एक्कासी यसरी घुम्यो कि सडकमा टायर बल्न थालेपछि धेरैले थाहा पाए ।

राजधानी नयाँ स्थानमा बनाउँदा नयाँ सहरको निर्माण हुने,नयाँ संरचनाहरु बन्ने,नयाँ सोच र प्रविधिले काम गर्ने र सबैका लागि पायक पर्ने स्थल हुन सक्ने तर्कहरु नआएका होइनन् तर बुटवल वरिपरि रहेका पर्याप्त भौतिक उपलब्धता कमजोर नै थिए त ? प्रश्नहरु उत्तर खोज्न आइरहेका छन् ।

धेरैले राजधानी सर्दा विष्णु पौडेले किन मौन छन् ? फेरि उनी यस क्षेत्रबाट चुनाव लड्दैनन् ? पुनगर्ठित मन्त्रीमण्डलमा अर्थमन्त्री हुने भएर राजधानीलाई तिलाञ्जली दिएका हुन् वा मन्त्रीसँग राजधानी साटेकै हुन् उनले ? कि राजधानी सार्ने सवलामा पार्टीको सचिवालयमा निरीह नै सावित भएका हुन् ? अध्यक्षद्वय ओली र प्रचण्डसँग मुख फोर्न नसकेकै हुन् त ? अब उनी केन्द्रीय राजधानीबाटै चुनाव लड्ने भएपछि बुटवललाई हेला गरेकै हुन् त ? यावत प्रश्नहरु यतिबेला बजारमा आगोसरि सल्केका छन् । कसरी निभ्लान् यी प्रश्नहरु ?

यस क्षेत्रको विकासमा उनको योगदानलाई सम्झेर र केन्द्रीय नेताको हैसियतले उनलाई पटक पटक यहाँका नागरिकहरुले मतदान गरेकै हुन् । सोही अनुसार उनले विकास निर्माणमा जोड दिएका हुन् । सबैका वाही वाही नेता भएकै हुन् । सबै खाले नागरिकले उनलाई मतदान गरेकै हुन् । भारी मतले उनलाई जिताएकै हुन् ।

यतिबेला रुपन्देहीबासी मियोबिनाको दाइँजस्तै भएका छन् । सहाराविहीन सन्तान जस्तै भएका छन्, । तेलविनाको सलेदो भएका छन् । यतिबेला घनश्याम,गोकर्ण,प्रदीप,बलदेव समेतलाई नसम्झेका होइनन् ।

आश मारेका छैनन् अझै पनि धेरैले राजधानी बुटवल नै हुन्छ भन्ने कुरामा । धेरैले विष्णु पौडेल केही बोल्छन् पक्का भन्ने आशा गरेकै छन् । राजधानीका सन्दर्भमा विष्णुको केही सन्देश आउँछ भनेर कान थापेर बसेका छन् । उनको भर्सनको आशा गरेका छन् । टीभीका स्क्रीनहरुमा आँखा डुलाई रहेका छन् ।

के विष्णु पौडेलले प्रदेशको राजधानी बुटवलमा टिकाउन नसकेकै हुन त ! उनीसँगै नेकपाको विरासत घुम्छ त आगामी निर्वाचनमा ? उनको राजनीतिक धरातल भासिन्छ त ? प्रदेशको राजधानीसँगै उनको राजनीति यात्रा टुङ्गिएकै हो त ? प्रतिपक्ष दलले भने जस्तै बुटवल आउने उनको बाटो बन्दै भएको हो त ?

प्रदेशको राजधानी सार्ने नाममा संघीयताप्रति नै वितृष्णा नजागोस् । संघीयता थप आवश्यक छ भन्ने कुराको प्रमाणित प्रदेश सरकारले नै गर्नुपर्ने छ ।