ताजा अपडेट »

सागरलाई ‘मैनाली कथा सम्मान’

बुधबार, २० चैत्र २०७५

चैत २०,

काठमाण्डौ । ‘मैनाली कथा सम्मान’ कथाकार विजय सागरलाई प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र साहित्यिक पत्रकार सङ्घद्धारा मङ्गलबार आयोजित ३७औँ कथा दिवसमा कथाकार गुरुप्रसाद मैनालीको नाममा स्थापित सम्मान सागरलाई प्रदान गरिएको हो ।

कार्यक्रममा वरिष्ठ आख्यानकार गीता केशरीले मोफसलमा बसेर नेपाली भाषा र साहित्यको विकासमा कथाकार सागरले निर्वाह गर्नुभएको भूमिका अतुलनीय रहेको बताउनुभयो । “नेपालको लोकप्रिय विधाको रुपमा कथा विधा अगाडि बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव प्रा जगतप्रसाद उपाध्यायले आख्यान साहित्य नेपाली पाठकलाई तान्ने खालको हुनुपर्ने बताउनुभयो । “नेपाली वाङ्मयको विकास र विस्तारमा कथाविधाले महत्वपूर्ण भूमिका खेलेको छ”, उहाँले भन्नुभयो ।

विसं २००६ मा भैरहवामा जन्मनुभएका विजय गोविन्द श्रेष्ठको साहित्यिक नाम विजय सागर हो । कथाकार सागरले आफ्नो पाँच दशक लामो साहित्यिक यात्रामा थुप्रै कथासङ्ग्रह प्रकाशित गर्नुभएको साहित्यकार श्रीओम श्रेष्ठ रोदनले जानकारी दिनुभयो ।

सम्मानित व्यक्ति सागरले सम्मानसँगै आफूलाई नेपाली साहित्यको विकासमा लाग्न थप प्रेरणा मिलेको बताउनुभयो । विसं २०२९ मा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले प्रत्येक वर्ष नेपाली साहित्य क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्दै आएको सङ्घका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो । सोही कार्यक्रममा १५ साहित्यकारले आफ्नो लघुकथा वाचन गर्नुभएको थियो ।  -रासस