ताजा अपडेट »

कर्मवीर रत्नलाल

विहीबार, ०८ असोज २०७७

"सफलताको सूत्र पुस्तकमा होइन, मेहनतमा हुन्छ ।", अब्राहम लिंकनको यो भनाई रत्नलाल मानन्धरको जीवनको मूल मन्त्र नै बन्यो । काठमाडौंको नयाँ बजारमा वि.सं. २०१२ मा रत्नको जन्म भएको थियो । रत्न सानैदेखि खेलकुदमा औधीं रुचि राख्थें । १५ बर्षको कलिलो उमेरमा नै उनले साथीहरुसँग मिलेर बक्सिङ्ग खेल्न शुरु गरेका थिए ।

वि.सं. २०३७ सालमा भोटेबाहलमा विश्वराज सिंह सुवालले सञ्चालन गरेको विश्व व्यायाम मन्दिरमा उनले प्रथम पटक डम्बल उचाले । त्यतिबेला उनका समकक्षीहरुमा तिर्थ महर्जन, सरोज श्रेष्ठ र उदय बहादुर श्रेष्ठ लगायतले उनीसँगै व्यायाम गर्थे । पछि ३८ सालमा उनी नेपाल व्यायाम मन्दिरमा प्रवेश गरे । प्रशिक्षक धनश्याम मुखियाको कुशल प्रशिक्षणका उनले आफ्नो शरीर कसिलो र बलिष्ठ बामए । उनको पहिलो प्रतियोगिता ३८ सालमै खेलेको उनि सम्झँछन् ।

वि.सं. २०३८ सालमा राखेपले नेपाली खेलकुद क्षेत्रको प्रथम वृहत राष्ट्रिय प्रतियोगिताको आयोजन गर्दै थियो । जसमा शारीरिक सुगठन खेलपनि समावेश थियो । पहिलो प्रतियोगितामा नै उनले ६५ केजी बजन समुहमा शिवलाल श्रेष्ठ प्रथम र उनी दोश्रो हुन सफल भए । जसबाट उनलाई थप हौसला बढ्यो । वि.सं. २०४० सालमा पोखरामा भएको तेश्रो र २०४१ सालमा धनगढीमा भएको चौथाें राष्ट्रिय प्रतियोगितामा उनले ६० केजी बजन समूहमा उनको रजत पदक हात पारे । उनको मिष्टर नेपाल उपाधि जित्ने सपना भने वि.सं. २०४२ सालमा वीरगञ्जमा पाचौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा बल्ल पुरा भयो ।

अरु खेलाडी सरह खेलाडी भएर जीवन निर्वाह गर्न नेपालमा कठिन भएको अनुभुति गर्दै उनी पनि कर्मको खोजी गर्दै विदेश तिर हानिनु परेको विगतका स्मृति केलाउँदै उनले भने । दुवईमा जागिर गर्ने शिलशिलामा सन् १९९२ मा भएको Mr Das Island Abu Dhabi प्रतियोगितामा उनिले सहभागिता जनाएर सबै प्रतियोगीलाई पछि पार्दै उपाधि समेत हात पारेको गर्वका साथ उनी बताउँछन् । झन्डै १५ बर्ष दुवईको बसाई सकेर उनी नेपाल फर्किए । उनलाई पाचौं राष्ट्रिय प्रतियोगितामा मिष्ट्रर नेपालको उपाधि जितेको क्षण जीवनमा सबैभन्दा बढी खुशी लागेको पलका रुपमा लिन्छन् ।

नवयुवा शारीरिक सुगठन खेलाडीहरुले आजकाल प्रतियोगितामा सफलता प्राप्त गर्ने छिटो नतिजाको चाहनामा विभिन्न वैकल्पिक उपायहरु र छोटो बाटोको खोजी गरिरहेको देख्दा उनलाई दुख लाग्ने बताउँछन् । उनीहरु लोभलाग्दो विज्ञापन पछि लेभिएर प्राकृतिक पौष्टिक आहारहरुमा भन्दा सरल हिसाबले शरीर बनाउनको लागि उत्पादन गरिएका अनेकौं सप्लिमेन्ट तथा एनाबोलिक स्टोराइड प्रयोग गर्न उद्धत हुन नहुने उनको बुझाई छ ।

प्राकृतिक खाद्य वस्तुको उपभोग गरेर पनि राष्ट्रिय अन्तराष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा हात परेर आफुहरुले आजका युवाहरु दृष्टान्त देखाएका उनी बताउँछन् । हाल नेपाल व्यायाम मन्दिरका उपाध्यक्ष रहेका उनी जीवनको अन्तिम समयसम्म यही खेलको विकासमा लागि पर्ने प्रण गरेका बताउँछन् ।