ताजा अपडेट »

प्रतिभाशाली प्रतापकाजी

सोमबार, ०५ असोज २०७७

थुप्रै अग्रज बडी बिल्डरहरुको अनुभव लिँदा युवा अवस्थामा सारै दुब्लो पातलो भएकोले ज्यान बढाउन जिम गएको भन्ने सुनेको थिए तर प्रतापकाजी कथा फरक रहेछ । उनको जन्म वि.सं. २०१९ भक्तपुर नगरपालिका तचपाल टोलमा भएको थियो । आफु युवा हुँदा निकै मोटो भएका कारण वि.सं. २०३४ साल देखि आफ्नै घरमा जिमका सामान किनेर जिम गर्न शुरु गरेको बताउँछन् ।

वि.सं. २०३७ साल तिर छिमेकी साथी सानुराजा श्रेष्ठ रगंशालामा जिम गर्न जाने गरेको थाहा पाए पछि उनि पनि साथै लागेर गए । उतिबेला प्रतापसँगै रगंशालामा सरोजकुमार श्रेष्ठ, सानुराजा श्रेष्ठ र तिर्थ महर्जनले व्यायाम गर्थे । २०३८ साल तिर बरियाको रमेश नाथ खनाल गुरुसँग सम्पर्क भयो । गुरुबाटै उनले भारत्तोलनका तालिम लिन थाले । सुरुवातदेखि हेर्ने हो भने शारीरिक सुगठन मुख्य त भारत्तोलनसँग नै जोडिएर हेरिन्थ्यो । बरियाले २०३८ मै प्रथम भारोत्तोल राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेर आफ्नो पदक यात्रा शुरुवात गरेका थिए ।

वि.सं. २०३९ सालमा राजबिराजमा सम्पन्न भएको दोश्रो राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा रजत पदक जित्दा उनको सुगठित शरीर देखेर शिवलाल श्रेष्ठ र सरोज श्रेष्ठले भारोत्तोलन छाडेर शारीरिक सुगठन खेल तिर आउन सल्लाह दिए तर उनले २०४२ सालको पाचौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता पछि मात्र पुर्ण रुपमा यस खेल तिर लागेको उनि बताउँछन् । तर उनले २०४१ मा धनगढीमा भएको चौथो राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनले कास्य पदक प्राप्त गरेका थिए । त्यसपछि भएका पाचौ, छैठौ, सातौ र आठौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताहरुमा स्वर्ण पदक जितेर लगातार चार पटक मि नेपालको उपाधि हात पार्न सफल भएको उनले बताए ।

वि.सं. २०४२ सालमा बिरगजमा सम्पन्न पाचौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदकसँगै मोष्ट इम्प्रुभिङ्ग बडि अफ दि इयर उपाधि पनि हात पारे । २०५० सालमा सिङ्गापुरमा सम्पन्न २९ एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका तर्फबाट सहभागीता जनाउने अबसर पाएका थिए । उनको झन्डै १२ वर्ष लामो सक्रिय खेल जीवनमा पटक पटक भारोत्तोलन र शारीरिक सुगठन खेलका राष्ट्रिय प्रतियोगितामा दुवै खेलमा लगातर पदक हासिल गर्ने प्रतिभाशाली खेलाडी अरु सायदै कम होलान् ।

वि.सं. २०४६ र २०४९ सालमा उनले शा सु प्रशिक्षक र निर्णायक तालिम लिए । "२०५१ सालमा धरानमा हुन लागेको १०औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपाल शारीरिक सुगठन संधले सहभागिता नजनाउने निर्णय गरेको थियो । राखेप तालिम विभागका तत्कालीन निर्देशक रमेश खनालले काठमाडौंबाट खेलाडीहरु छनोट गरी पठाउनु भनि मलाई पत्र बुझाएको थियो । सो बेला खेलाडी पठाएकोमा ने शा सु संघले मलाई स्पष्टीकरण समेत मागेको थियो।", बिगतका तिता भोगाईका पुन्तुरा फुकाउँदै उनले भने ।

अहिले उनका छोरा प्रजल बरियासमेत पिताको पदचापलाइ पछ्याउँदै यसै खेलसँग आवद्ध छन् । एकाघरका दुई पुस्ता एउटै खेल विधामा लागेको विरलै सुन्न पाइन्छ । प्रजलले २०७४ मा शंखमुल हेल्थ क्लबबाट आयोजित आन्तरिक पावरलिफ्टिङको क्त्रगबत विधामा स्वर्ण जितेर पदक यात्रा प्रारम्भ गरिसकेका छन् । हाल नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको जजेज कमिटीका सदस्य भएर मुलुकभरि हुने शारीरिक सुगठन प्रतियोगितामा निर्णायकका रुपमा उपस्थिती जनाउने गरेको उनले बताए ।

जीवन घटेको एउटा दुखद घटनाले उनको मन आजसम्म पनि उतिकै दुखेको छ । "४६ साल कार्तिक देखि माघसम्म को ३ महिने शारीरिक सुगठन प्रशिक्षकको तालिममा म र सरोज श्रेष्ठले सहभागी भयौं । सम्झौता अनुसार कम्तिमा ५ वर्ष जागिर छोड्न नपाउने कबुलियतनामा राखेपसँग गरेर प्रशिक्षकमा नियुक्ती लियौं । त्यस्को लगत्तै जनआन्दोलन शुरु भएकाले नियुक्ति स्थगित गरियो । पछि २०५२ सालमा केशव स्थापित राखेपको सदस्य सचिव भएका बेला हामीसँग भएको संझौता विपरित अन्य मान्छेलाइ नियुक्ति गरिएको थाहा पायौं ।", मन दुखाँउदै उनले भने ।

पटकपटक नेपालको सबै भन्दा पुरानो व्यायामशाला नेपाल व्यायाम मन्दिरको उपाध्यक्षको जिम्मेवारी समेत उनले निवार्ह गरिको उनि बताउछँन् । लामो समय देखि शारीरिक सुगठनको उत्थानमा लागेर योगदानको कदर गर्दै जिल्ला शारीरिक सुगठन तथा फिट्नेश संघ रुपन्देही र काठमाडौं, नेपाल व्यायाम मन्दिरका साथै वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्टिङ फेडरेशनले स्वर्ण पदकले उनलाई सम्मान समेत गरिसकेको छ ।