हरेक वर्ष आश्विन एक गते विश्वकर्मा भगवानको पुजा गरिन्छ । वेदमा उल्लेख गरिएका वेदका अष्टवसुमध्ये प्रभाव वसुका पुत्र भगवान् विश्वकर्मा प्रथमतः वेदज्ञ, ज्योतिषज्ञ, वास्तुविद् तथा हरेक शास्त्रहरूका ज्ञाता भएकाले सर्वज्ञ मानिएको छ । शिल्पकला, वास्तुकला, मूर्तिकला, हस्तकला, काष्ठकला आदिका प्रवर्तक नै मानिन्छन् । विश्वकर्माको स्वरूप एक हातमा नाप्ने फित्ता (गज), दोस्रो हातमा डोरी, तेस्रो हातमा कमण्डलु चौथो हातमा पुस्तक वा ज्ञानसूत्र धारण गरेका छन् । हाँसमाथि विराजमान विश्वकर्माका तीन नेत्र सुशोभित छन् भने उनले शिरभागमा सुन्दर मुकुट धारण गरेका छन् ।
सबैप्रकारले वृद्ध शरीर भएका विश्वकर्मा तीनै लोकका सबै प्रकारका देवघर, राजघर, मनुष्यघर आदि सुन्दर घरहरूको रचनाकर्ता तथा यो जगत्को हितकर्ता, सृष्टिकर्ता र सूत्रधार नै हुन् । त्यस्तै, महाओजस्वी, तेजोमय स्वरूप, चतुर्भुज, ब्रह्मतेजबाट तताएर सुन जस्तो वर्ण, कानमा दिव्य कुण्डल, ठूलो निधार जसमा ज्ञानचक्षु र शिरमा चन्द्रमाको दिव्यता झल्किरहेको यस्तो सुख मुद्रामा भगवान् विश्वकर्मा ज्ञानप्रदाता, मोक्षप्रदाता र विश्वका दुःखको निवारण कर्ता तथा सृष्टिकर्ताको रूपमा विराजमान छन् । भगवान् विश्वकर्माको स्वरूप वास्तवमै अत्यन्तै मनोहर र सुन्दर छ ।
भगवान विश्वकर्मा सन्दर्भमा पौराणिक प्रसङ्ग छ कुनै समय माता लक्ष्मी भगवान विष्णु सङ्ग प्रश्न गर्दै भन्नु भो भगवान ! भक्तहरु हजुरको अनेक रुपको भक्ति पुर्वक पृथ्वीमा पूजाआजा गर्छन् । यी सबै रुप समान नै छन् कि फरक छन् ? तब विष्णु भगवानले भन्नुभयो त्यही रूपको बारे भन्छ हे लक्ष्मी तिमी सुन चारैतिर प्रकाशित गर्ने सुर्यका समान चम्कने विश्वकर्माको रूप धारण गरी सृष्टि गर्ने इच्छा जाग्दछ पहिले ब्रह्मालाई रच्दछु ।
त्यसपछि ऋृग्वेद, यजुर्वेद, सामवेद लगायत शिल्प कलाको प्रतिपादक अथर्व वेदको पनि प्रदान गर्दछु । यही वेदद्वारा शिल्पकारहरुले अनेक वस्तु रचना गरेका हुन् ।तसर्थ जो शिल्पकार विश्वकर्मा भगवानको ध्यान गर्दछ उसको सबै दुःख हटेर जान्छ । यसरी श्री विष्णुले आफ्नो रुपको वर्णन गर्नुभयो।यै पौराणिक मान्यता अनुसार विश्वकर्मा भगवानका रुपमा मान्दै अएको हो । कसैले विश्वकर्मालाई ब्रह्माका पुत्र पनि मान्छ्न् ।
खासमा विश्वकर्मा भगवानलाई मजदुरले मात्र अलि बढी मान्दछ्न् तर कला कृति शिल्प शैलीको प्रयोग गर्न सबैले आराध्य देवका रूपमा बाबा विश्वकर्मालाई मान्नु पर्ने आवश्यक छ । उनलाई मान्नुको मतलब उनको शिल्प शैलिलाई अङ्घाल्नु हो । ज्ञानलाई धारण गर्नु हो । विश्वकर्मा पूजाको दिन उद्योग कलकारखाना पुर्णरूपमा बन्ध गरिन्छ । सवारी साधन धोई धुलाई गरिन्छ । मजदुरहरु पुर्ण बिदामा हुन्छन् र पनि कलकारखानामा जम्मा हुन्छन् अनि ध्वजा पतका फुल मालाले आफू सदैव प्रयोग फलामका मेसिनरी औजार ओरपर झकिझकाउ बनाउनुका साथै मेसिनमा स्वस्तिक लेखी पुजा गर्ने गर्दछ्न ।
आ-आफ्नो सवारीसाधनमा विश्वकर्मा भगवानको फोटो टासि पूजा गरिन्छ । यसरी पूजा गर्दा सवारीसाधन छिटो नबिर्गीओस् ,दुर्घटना नहोस् भन्ने कामना गरिन्छ । घरघरमा फलामका औजार सफा गरि पूजा गरिन्छ । यसरी वर्षेनी विश्वकर्मा भगवानको पूजा गर्दा उद्योग, कलकारखाना, ग्यारेज लगायत अन्य मेसिनरी औजार सफा हुन्छन् र लामो समयसम्म टिकाउ हुन्छन् । सङ्गै पूजाआजा रमाइलो गर्दा मजदुर र व्यवसायी सम्बन्ध समधुर हुन जान्छ । भगवान विश्वकर्मा आशिर्वाद सबैलाई मिल्नुका साथै कल्याण पनि हुन्छ । अस्तु ।
–लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् ।
प्रतिक्रिया