हातमा कापी र कलम लिएर एकछिन सोचमग्न भएँ । धेरै विधाका साहित्यिक पुस्तकहरू पढेको थिएँ । नेपाली विषयमा स्नाकोत्तर गरेको विद्यार्थीले साहित्य सिद्धान्त नपढ्ने कुरै भएन । समालोचना र सिर्जना निकै नजिक भए पनि पृथक कुरा हुन् । नेपाली साहित्यको विद्यार्थीले सामलोचना गर्न त सकुँला तर आफ्ना अनुभूतिलाई काव्यिक भाषामा व्यक्त गर्न सजिलो रहेनछ । साहित्यकार दलबहादुर गुरूङसँगको कुराकानीले मलाई कुनै कुरा सिर्जना गर्छु भन्ने आत्मबल बढेको थियो तर पनि सिर्जना गर्न गा¥हो पर्यो । कथा, कविता, गीत, गजल, मुक्तक जतिपनि आए । आफैलाई आकर्षण गर्न भने सकिन । म जसरी भए पनि लेखक बन्ने प्रयास गर्छु । आफ्नै अतीत लेख्छु । आज त्यही अतीतलाई सम्झनाका आँखीझ्यालबाट चियाएको छु ।
मानिसका आफ्नै भोगाइ, बुझाई, अनुभव र अनुभूति हुन्छन् । बाल्यकालदेखिका विभिन्न झिनामसिना अतीतहरूलाई कोट्याउने रहर लाग्यो । ३० वर्षको जीवन दौडानमा आफ्ना अतीतका अनुभवहरू पस्कन मन लाग्यो । आफ्नो जन्म ठाउँ छाडेर उच्च शिक्षा र शिक्षक कर्मको दौडान १४ वर्ष पूरा भई सकेछ । यस बीचमा मैले मेरो माटो र पानीलाई धेरै सम्झेँको छु । अहिले गाउँमा हामी पछिका धेरै भाइबहिनी उच्च शिक्षा र उच्च स्थानमा पुगिसकेका छन् । मेरा समकालीन साथीहरू एक/दुई जना बाहेक कसैसँग बाक्लो सम्पर्क हुँदैन । समय,परिस्थितिले यस्तै बनाउँदो रहेछ । अतीतका यादहरू मेरो मानसपटलमा अझै ताजा छन् ।
फेल भएको पल……………..।
घर,परिवारको सबैभन्दा जेठो नाति र जेठो छोरो म । घरमा ग्रामीण क्षेत्रको चर्चित किराना र नास्ता पसल थियो । म सानैदेखि त्यहीँ पसलमा राज गरेर बसेको थिएँ । करिब ५/६ वर्षको उमेरमा हजुरबुबाले कक्षा १ मा भर्ना गर्न स्कुल लानुभयो । स्कुल करिब १०/१५ मिनेटको बाटो हिडेपछि युवा वर्ष मा.वि पुग्न सकिन्थ्यो । परिवार सामान्य भए पनि हजुर बुबाको सान र मान गाउँमा ठूलै थियो । बुबा परदेशतिर हुनुहुन्थ्यो आमासँग माईलो र कान्छो थिए । हजुरबुबा र हजुरआमाले निकै प्यार गरेर राख्नु भएको थियो । एक/दुई रुपियाँ खाले कापी निकै चलेको थियो । बुक कापी र चाईनिज पेन हुनेखानेका एक÷दुई जनाले मात्र लिन्थे । हजुरबुवा र हजुरआमालाई सताएर भए पनि बुक कापी र चाईनिज पेन लिएर स्कुल जान्थें । पढाइको नतिजा निस्कने दिन थियो । स्कुलको प्राङ्गण अभिभावक,शिक्षक र विद्यार्थीले भरिभराउ थियो । म कक्षा २ मा पुगेको थिएँ । मलाई याद छ त्यतिबेला क–ज्ञ ,A–B, १–१० अङ्क लेख्न पढ्न मात्र जान्ने भएको थिएँ । स्कुलमा नतीजा प्रकाशन कार्य सुरु भयो । गुरुले कक्षा एकमा प्रथम हुनेदेखि पास हुने सबैका नाम बोलाउनु भयो । सबै पास हुनेलाई टीका लगाएर पुरस्कार दिने काम भयो । उनीहरूको खुसीलाई नाप्न सायद कुनै मिटरले सक्दैन थियो । अब पालो कक्षा २ को आयो । मनमा ८/९ रेक्टर स्केलको भूकम्प चलाएर अगाडि बसेको थिएँ । गुरुले कक्षा दुईका उत्तीर्ण सबैको नाम बोलाउनु भयो । मेरो नाम आएन । म फेल भएँ । साथीहरूको रातो टीकासहितको हँसिलो मुहार हुँदा मेरो खाली निधार अनि मलिन अनुहार भयो । निकै नरमाइलो अनुभूति भयो । मलिन र रित्तो मन लिएर बेलुका घर फर्किएँ । चर्को तरकारी,काँचोभात र नमिठो गालीसँग खाना खाएर अर्को साल प्रथम हुने प्रतिज्ञा लिएर अबेरसम्मको घोर सोचाई पछि निदाए छु ।
पुराना किताव नयाँ उमंग बोकेर………………….।
बैसाख महिना सुरु भयो । विद्यालय जाने समय सुरु भयो । धेरै साथीहरू नयाँ कक्षामा नयाँ पुस्तक अनि अनन्त उमङ्ग र उत्साह लिएर स्कुल जान थाले । म पुरानै कक्षामा पुरानै पुस्तक लिई नयाँ उत्साह बोकेर स्कुर हिडें । ८ नवज्दै विद्यालय पुगिन्थ्यो । राज्य र कपर्दी खेल्नका लागि भएपनि । समय बित्दै गयो । चैत ८/९ वटा नै गए । नतिजा धेरै सुनियो । आफ्नो प्रथम हुने प्रतिज्ञा कहिले सुनिएन । पासको नतिजाले स्कुलले जीवनमा चित्त बुझाएँ । १० वर्षे स्कुलले जीवनका साथीहरू निकै यादगर हुँदा रहेछन् । सबैको सम्झना आईरन्छ । भेषबहादुर गाहा कोरियन लाहुरे बुटवलतिर रमाएका छन्,। सम्मर खड्का नेपाल सरकारको स्थायी शिक्षक,सूर्य खड्का नेपाल आर्मीमा कार्यरत छन् । डीबी सुस्लिङको वाक् क्षमता निकै राम्रो थियो । उनी अचेल पत्रकारिता पेसामा रमाएका छन् । सागर पन्थ बुटवलमा राजनीति र व्यवसायमा व्यस्त छन् । छात्रा तर्फकी एउटा नक्षत्र सुनिता कार्की नेपाली विषयमा स्नाकोत्तर गरेकी छिन् । विमल पौडेलले युवाहरूको समन्वय गरि कचलको सुदूर भविष्यलाई नियाली विकासमा लागेका छन् । धेरै साथीहरू आफ्नो रोजीरोटीका लागि स्वदेश र विदेशमा पसिना वगाएका छन् भने कति साथीहरूले घर धानेर बसेका छन् ।
क्याम्पसतिर फर्किदा…………………….।
२०६५ सालतिरको कुरा हो । एसएलसी पास गरि तीब्र उत्साह र खुसी लिएर कक्षा ११ मा भर्ना हुन सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा पुगियो । सुरुसुरुमा कोही साथीलाई नचिनेकोले सारै नरमाईलो लाग्यो । बिस्तारै साथीहरू बन्दै गए । बुटवलतिरै रमाउन लागियो । यसै बीचमा क्याम्पसमा तुल्सासँग भेट भयो । निकै सरल, लगनशील र अनुशासित । उनको व्यवहारले म निकै प्रभावित भएँ । उनीसँग हिमचिम बढाएँ । उनकै मायाले सतायो । सुरुमा केही भन्न सकिन । समय वित्दै गयो । राम्रोसँग पढेर केही गर्नुपर्छ भन्ने सोच आयो । त्यहाँ ११/१२ उत्तीर्ण गरि स्नातक तहमा भर्ना हुन बुटवल बहुमुखी क्याम्पसमा पुगियो ।यो समय अध्ययनमा लगाएँ । परिश्रमको फल मीठो हुने अनुभूति गर्ने अवसर पाएँ । स्नातक तह राम्रै अङ्क लिएर पास गरें ।
मास्टर डिग्री पढ्ने तीव्र ईच्छा जाग्यो । घरको आर्थिक अवस्था कमजोर भए पनि मास्टर्समा नेपाली विषय लिएर पढ्ने क्याम्पसका गुरुहरूको सल्लाहलाई मनन गर्दै भर्ना भएँ । कडा मिहिनेत र लगनशील भएर पढ्नमा तल्लीन भएँ । मास्टर्स प्रथम वर्षमा नेपाली विषयमा क्याम्पस प्रथम भएँ । मन उमङ्गित भयो । यहीँ समयमा मलाई माया गर्ने हजुर बुवालाई गुमाउन पुगें । क्याम्पस जीवनका निकै साथीहरू प्रगतिको मार्गमा लम्किरहेका छन् । साथीहरूमा हृदयभरिको सम्झना छ । क्याम्पसतिरका अग्रज गुरुहरूलाई सदा मेरो उच्च सम्मानसहित मार्ग दर्शनको मूल मान्दछु । तपाईहरुकै सत्मार्गले म सफलताको उच्च श्रेणीमा पुग्ने आशा राखेको छु ।
शिक्षण सेवा र तुल्साको साथ
पढाइ सकेपछि जागिरेको पिरलो निकै हुँदोरहेछ । जागिरका लागि एकछिन भौतारिएँ । अग्रज दाजु राजन पौडेलको सूचनाले कपिलवस्तुको शिवराजनगर पालिका चन्द्रौटामा फफुरी इङलिस बोर्डिङ स्कुलमा मा.वि तहको नेपाली विषयको करिब एक वर्ष शिक्षण गर्ने अवसर पाएँ । यहाँ बोर्डिङ स्कूलका शिक्षकको कडा मिहिनेत र शिक्षकलाई दिइने मासिक तलवलाई मात्र नभएर त्यहाँको सामाजिक र सांस्कृतिक अवस्थालाई बुझ्ने अवसर मिल्यो । सरकारी जागिर खाने तीव्र ईच्छाले मलाई निकै सताएको थियो । यसैबीचमा आफ्नो गाउँ पारिको सरस्वती आधारभूत विद्यालयमा राहत कोटामा विज्ञापन भएको कुरा अग्रज दाजु त्यसै विद्यालयका शिक्षक सुरज कार्कीवाट अवगत भयो । दरखास्त बुझाईयो । १५ जनाको दरखास्त परेको रहेछ । छनोट हुन सफल भएँ । यहीबाट सुरु भयो सरकारी तलब खान । यसैबीचमा शिक्षक सेवा आयोगले तीनै तहको विज्ञापन खोल्यो । तीनै तहमा दरखास्त दिए । मिहिनेत गरेर पढें । मा.वि र नि.मा.विको खासै राम्रो भएन प्रा.विको राम्रै भयो ।
उमेर पनि तीन दसको सेरोफेरो पुगेको थियो । घरमा विहेको कुरा चल्न थालेको थियो । मलाई मन परेकी तुल्साले मसँगसँगै नेपाली विषयमा स्नाकोत्तर गरेर शिक्षण पेसा अङ्गाली सकेकी थिइन् । मनमा एउटा प्रेमको सुषुप्त बिरुवा मौलाउन थाल्यो अनि उनलाई प्रेम प्रस्ताव राखें । उनले मेरो प्रेम स्वीकार गरिन् । हामीबीचको माया पिरती झाँगिदै गयो । दुवैजना स्थायी सरकारी जागिरे भएसी विहे गर्ने निधो भयो । शिक्षा आयोगले नतिजा प्रकाशन गर्न लागेको थियो । समयले साथ दियो । दुवैजनाको प्रा.वितहमा नाम निस्कियो । हाम्रो खुसीको सीमा रहेन । दुबैजना नेपाल सरकारका स्थायी शिक्षक हुने भयौं । म परिवारको सहमतिसहित तुल्सालाई माग्न उनकै घरमा पुगें । मंसिर १४ गते विवाहको मिति तोकियो । उता जिल्लाले मंसिर १२ गते नियुक्ति लिन बोलायो । हतारहतारमा दुवै काम सम्पन्न गरियो । अहिले बैवाहिक जीवन र सरकारी शिक्षक जीवनको सहयात्रा खुसीका साथ चलिरहेको छ ।
प्रतिक्रिया