ताजा अपडेट »

गान्धी दुई ठाउँबाट चुनाव लड्ने

आइतबार, १७ चैत्र २०७५

चैत १७,
भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ट नेता एके एन्टोनीले पार्टी अध्यक्ष राहुल गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने बताएका छन् । केरलाको वायानाड निर्वाचन क्षेत्रबाट पनि गान्धीले लोकसभाका लागि प्रतिस्पर्धा गर्ने एन्टोनीले बताए । गान्धी यसअघि उत्तर प्रदेशको अमेठीबाट पनि निर्वाचन लड्ने घोषणा भइसकेको छ ।

गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने विषयले अहिले भारतमा नयाँ बहस सिर्जना गरिदिएको छ । कंग्रेसका नेताहरूले यसलाई आवश्यकताका रूपमा व्याख्या गरेका छन् भने प्रमुख प्रतिस्पर्धी भारतीय जनता पार्टी (भाजपा)का नेताहरूले गान्धी भागेको, डराएको वा आफ्नो एक ठाउँको जितमा ढुक्क हुन नसकेको भन्ने गरेका छन् ।

‘पार्टीका नेता तथा कार्यकर्ताले विगत लामो समयदेखि अध्यक्ष राहुल गान्धी दुई ठाउँबाट निर्वाचन लड्नुपर्ने माग र चाहना व्यक्त गर्दै आएका थिए, उनीहरूले उहाँलाई भारतको दक्षिणी क्षेत्रबाट निर्वाचन लड्न आग्रह गर्दै आएका थिए,’ एन्टोनीले भने ।

उनले अध्यक्ष गान्धीलाई विशेष गरेर कर्नाटक, केरला र तमिलनाडुमध्ये कुनै प्रदेशको निर्वाचन क्षेत्रबाट चुनाव लड्न दबाब आएको जानकारी दिए । धेरैतिरबाट निर्वाचन लड्नका लागि आग्रह गरे पनि अन्त्यमा उनी वायानाडबाट उम्मेदवार बन्न मन्जुर भएको अन्टोनीले बताए ।

यो निर्वाचन क्षेत्रका लागि कर्नाटकका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता सिद्धरमैयाले यही मार्च १५ मा अध्यक्ष गान्धीलाई आग्रह गरेका थिए । यसअघि मार्च ७ मा कांग्रेसले घोषणा गरेको पार्टीबाट निर्वाचन लड्नेहरूको पहिलो सूचीमा अध्यक्ष गान्धी अमेठीबाट मात्रै उम्मेदवार बन्ने उल्लेख थियो ।