ताजा अपडेट »

साधन र विचारबीचको अन्तरसम्बन्ध

सोमबार, २९ भदौ २०७७

२०३० सालबाट मैले राजनीति यात्रा सुरु गरेँ । म १७ वर्षको उमेरमा कम्यूनिष्ट पार्टीको सदस्य बन्नको लागि फारम भरेँ । म गाउँका दाजुहरुको संगतले कम्यूनिष्ट पार्टीमा लागेँ । बाख्राको खोरमा लुकाएर मैले माओका ’रेडबुक’ पढेँ, मोदनाथ प्रश्रितका ’मानव महाकाब्य’, ’देवाशुर संग्राम’, ’नारी बन्धन र मुक्ति’, ’अतितका पाइला’, सबै पढेँ । पुष्पलालको ’नयाँ जनवाद’ मैले पढे, ’युवाहरुको गित’, ’आमा उपन्यास’, राहुल साँस्कृत्यायनका प्रकाशन पनि मैले पढे । जुलियस प्यूचिकको ’झुण्डाउदा झुण्डाउँदै’ भन्ने किताब पनि मैले पढेँ । मार्क्स येंगेल्सका, लेलिनका प्रकाशनहरु पनि थोरै धेरै अध्ययन गरे ।

यी सबै प्रकाशनको अध्ययनले मलाई कट्टर कम्यूनिष्ट बनाउँदै लग्यो । विश्वभरका मेहनतकश वर्गको मुक्तिको नशाले मलाई च्याप्दै लग्यो, सर्वाहारा वर्गको मुक्ति अभियानमा लामवद्ध हुने लालसा जागृत हुँदै गयो । महिनाको झण्डै पच्चिस हजार भारु पाउने पाइभ स्टार होटलको नोकरी २०४१ सालमा मैले छाडिदिए । भारतका सहर र प्रान्तहरुमा मैले बुझेको र सिकेको ज्ञान सिकाउँदै कहिले रेलको यात्रा, कहिले बसको यात्रामा म अगाडि बढिरहेँ । २०४८ सालमा मलाई नेपाल सरुवा गरियो । कैयौं जिल्लाको नेतृत्व सम्हाले र मैले आफ्नो अभियानलाई जारी राखे । युद्ध कालमा विभिन्न मोर्चाहरुमा काम गर्दै पछिल्लो पटक प्रवासको राज्य इन्चार्ज भएर काम गरे । झण्डै चालीस वर्ष मैले भोका नाङ्गा र सर्वाहारा वर्गको निम्ति भनेर कम्यूनिष्ट पार्टीमा काम गरे ।

यो चार दशकको बीचमा मैले जे जति ज्ञान प्राप्त गरे, कम्यूनिष्टको बारेमा जे जति बुझे , मैले मेरै पार्टिभित्र आइपुग्दा त्यो कुरा पाउन सकिन । कम्यूनिष्ट विचारले मैले मेरो मनमा जे सपना उनेको थिए, त्यो कुरा मैले पाउन सकिन । सामन्ती चिन्तन र सामन्ती ब्यवहारका विरुद्ध लड्ने मेरो विचारमा बज्रपात भयो । जब मैले मेरै पार्टीभित्र सामन्ती चिन्तन र सामन्ती व्यवहार देख्न थालेँ । इमानदारिता, स्वाभिमान र लगनशिलता कर्तव्य हो भन्ने बुझेका हामी जस्ता कार्यकर्ता अयोग्य र संस्कार नबुझेकोमा गणना हुन थाल्यौं । वर्ग विहिन समाजको दर्शन पढेका म जस्ता व्यक्तिले पार्टिभित्रै जबर्जस्त नव धनाढ्य वर्गको उदय भएको देख्न पर्यो । जुन वर्गको निम्ति भनेर पार्टीमा प्रवेश गरिएको थियो, चालिस वर्षसम्म जे पढ्ने र पढाउने गरिएको थियो, अब त्यो पार्टी, त्यो वर्गको रहन सकेन ।

पार्टी नेतृत्व क्रमशः दलाल पूँजीवादको दिशामा अगाडि बढेका संकेतहरु देखा पर्न थाले । पार्टीमा रहँदासम्म केन्द्रीय समितिमा देखिएका वेथिती, विसंगिती र अराजकताका बारेमा संघर्ष गरिएकै थियो । तर, पार्टी नेतृत्व सकारात्मक दिशामा रुपान्तरणको कुनै संकेत देखा परेन । आफै केन्द्रीय कमिटीमा बसेर नेतृत्वलाई सार्वजनिकरुप मै बदनाम गर्दै हिड्नु भनेको दिनभरि सहरबजार र चोकमा मेरी श्रीमती चरित्रहिन छे भन्दै हिड्ने अनि बेलुकी उनै श्रीमतीसगँ सम्बन्ध राख्ने हुतिहारा लोग्ने जस्तो व्यवहार गर्नपनि मलाई मन परेन ।

किनकी जनवादी केन्द्रीयताको विधि मलाई थाहा छ, पार्टीमा रहँदासम्म कमिटिमा व्यापक छलफल गर्ने, निर्णयमा सहमती हुन सकिएन भने’ नोट अफ डिसेन्ट’ लेख्ने र निर्णय भएको कुरा इमानदारीपूर्वक लागू गर्ने, “सामूूहिक निर्णय ब्यक्तिगत जिम्मेवारी“ नै जनवादी केन्द्रीयताको मूल मर्म हो । पार्टी कमिटिमा नेतृत्वका कमजोरिहरुप्रति व्यापक आलोचना गर्ने, बाहिर नेतृत्वको रक्षा गर्ने । तर,आजभोलि यसको ठिक बिपरित व्यवहार भइरहेको हामी देख्दछौ । जब पार्टी आधारभूत रुपमा नै पार्टिका विचार र मूल्यमान्यताका विरुद्ध गइराखेको छ र रुपान्तरण हुने कुनै सम्भावना बाँकी रहेको छैन भने त्यो स्थितिमा एउटा इमानदार र स्वभिमान कार्यकर्ता त्यो ठाउँमा बसि रहन सक्दैन ।

जीवनको सबैभन्दा कठिन काम भनेको आफैले आफैलाइ ढाट्नु हो । सबैले अनुभव गर्नुभएको छ कि संसारलाई ढाट्न सकिन्छ तर आफूलाइ ढाट्न सकिन्न । यो कार्य एउटा इमानदार कार्यकर्ताको लागि कठिन हुने गर्दछ । मैले पढेको विचार व्यवहारमा नेतृत्वबाट पाउन नसक्दा म भित्र विश्वास हराउँदै गयो । जनतालाई ढाट्नु र झुक्काउनु भनेको अपराध हो भन्ने मैले ठाने । यहीँ परिस्थिति र सन्दर्भको बिचमा मैले झण्डै चारवर्ष अगाडि आफू सम्मिलित रहेको पार्टिबाट सम्बन्ध बिच्छेद गरे ! यो सम्बन्ध बिच्छेदबाट कैयौं प्रश्नहरु उठ्न सक्दछन । के यो सिद्धान्तको परित्याग हो ! वा विचारबाट नाता तोडिएको हो ! यस विषयमा सबै महानुभावहरु जानकार नै हुनुहुन्छ कि पार्टी र विचार भनेको एउटै कुरा होइन , फरक कुरा हो ।

हामिकहाँ पार्टी र विचारलाई एकीकृत रुपमा बुझ्ने गलत सोचहरु रहेका छन् । पार्टी भनेको विचार, लक्ष्य वा राजनीति जे पनि भनौं त्यसलाई प्राप्त गर्ने एउटा साधन हो । त्यो सिद्धान्त वा विचार भनेर बुझ्ने गल्ती गरिनु हुदैन । नेपालमा अहिले पनि छ वटा कम्यूनिष्ट ब्राण्डका पार्टिहरु क्रियाशिल रहेका छन् । त्यस्तै अन्य थुप्रै प्रजातान्त्रिक पार्टिहरु क्रियाशिल रहेका छन् । ती मध्येको सबैभन्दा आकार र आकृतिमा ठूलो भएको पार्टी हिजो म सम्मिलित पार्टी जो अर्कोसगँ एकाकार गर्यो, एकाकार पछि बनेको पार्टी नै हो ।

मेरो अनुभवमा म के देख्दछु भने अब त्यो पार्टी सर्वाहारा श्रमजीवी वर्गको पक्षमा काम गर्ने इमानदार र नैतिकवान नेतृत्व छ भन्नू मुर्खता वा दासता मात्र हुनेछ । पार्टी सञ्चालनको जनवादी केन्द्रीयताको विधि र प्रक्रिया पनि त्यहाँ समाप्त भइसकेको छ । त्यही साधनको माध्यमबाट समाजवाद हुँदै वर्ग विहिन समाजमा पुगिन्छ भनेर कल्पना गर्नु मूर्खता सिवाय अरु केही हुनेछैन ।

साथीहरु! म मन्त्री बन्ने वा कुनै लाभको पद लिने उद्देश्यले राजनीतिमा प्रवेश गरेको होइन । त्यो संयोगको कुरा मात्र हो, कसैले मरिहत्ते गरेर पनि पाइ राखेका हुँदैनन् । कसैले सामान्य अवस्थामा पनि पद प्राप्त गरेको देखिन्छ । बुर्जुवा र पुजीवादी चिन्तनबाट हेर्दा मात्र पद प्राप्त गर्ने व्यक्ती ठूलो मानिएको हुन्छ । विचार, सिद्धान्तबाट अध्ययन गर्दा पदले मात्र ब्यक्ति महान बन्ने गर्दैन । त्यसकारण मुख्य र महत्वपूर्ण कुरा विचार नै हो ।

मेरो राजनीतिको चाहाना यत्तिमात्र हो कि मानिसले मानिसमाथी नै गरिने शोषण, दमन र उत्पिडन हटोस । ठूलो र सानोको विभेद हटोस, नेपाल साच्चिकै स्वर्ग बन्ने दिशामा अगाडि बढोस । त्यो कुरा यहि साधनबाट प्राप्त हुन्छ भन्ने कुरा देख्न सकिएन । त्यसैले मेरो विचारमा बलात्कार गर्ने मात्र दोषी हुँदैनन्, बलात्कारिलाइ साथ र समर्थन गर्ने पनि अपराधी नै हुने गर्दछ, त्यसरी नै भ्रष्टाचार गर्नु मात्रै अपराध हुँदैन, भ्रष्टाचारिलाई साथ र समर्थन गर्नु पनि अपराध हो । त्यसैकारण मैले यो बिपरित दिशामा अगाडि बढेको साधनलाई छोड्नुपर्यो ।

हरेक बिषयलाई घटना, समय र सन्दर्भसँग जोडेर हेरिनु पर्दछ। बिषयलाई अधिभूतवादी आखाँले हैन कि द्वन्द्वात्मक भौतिकवादी आखाँले हेरिनु पर्दछ। पार्टी बारेको कुरा पनि हामिले यसरी नै बुझ्नु पर्दछ। जस्तो कि पार्टी परिवर्तन गर्ने ब्यक्ती गद्दार हुने वा क्रान्तिकारी हुने भन्ने कुरा पनि सन्दर्भ र आवश्यकता हेरेर मूल्यांकन गरिनु पर्दछ। अवसरवादीले आफ्नो ब्यक्तिगत महत्वाकांक्षा पूरा गर्नको लागि पनि पार्टी छाड्ने वा विभाजन गर्ने पनि हुन सक्दछ भने अर्को सन्दर्भमा एउटा क्रान्तिकारिले आफ्नो विचार र एजेण्डाको लागि पनि पार्टी छाडेको हुन सक्दछ।त्यसैले सदा सर्बदा ठिक र सदा सर्बदा बेठिक भनेर बुझ्नु जडसुत्रवादी गल्ती हुन पुग्दछ। त्यसैले कुनै बस्तु, घटना, पात्र वा पार्टीको मूल्यांकन, परिस्थिति र उस्को व्यबहार र दृस्टिकोणबाट गरिनु न्यायपूर्ण हुने गर्दछ।

अहिले तिमी जुन स्थानमा अवस्थित छौ त्यो स्थानबाट के तिमीले परिकल्पना गेरेको ठाउँसम्म पुग्न सक्दछौं । भन्ने जिज्ञासा स्वभाबैले उठ्न सक्दछ। यसबारेमा मेरो बुझाइ यो हो की म यतिबेला जुन बिन्दुमा उभिएको छु, यहाँ मैले देखिरहेको छु कि भद्रगोल छ, अस्तब्यस्त छ, अझै यस्ले पूर्ण आकार ग्रहण गरिसकेको अवस्था देख्न सकिन्न। सामान्य अवस्थामा हेर्दा के यो साच्चिकै अग्रगमनको यात्रामा अगाडी बढ्दछ् त!भन्ने जिज्ञासा् उठ्नु स्वभाविक बन्न पुग्दछ । यो कुरामा प्रश्न यो हो कि सुरुवात कहाँबाट गर्ने! आजसम्मको अनुभवसिद्ध ज्ञान यो हो कि सुरुवात विचार र एजेण्डाका आधारमा गरिनुपर्दछ ।

थुप्रै विषयमा बिमती रहन सक्दछन किनकि पदार्थ नै विपरितहरुको एकत्व हो । मुल कुरा विचार र एजेण्डामा हाम्रो सहमति वा बुझाइमा एकरुपता हुनु अनिवार्य सर्त हो । त्यसको आधारमा पार्टी निर्माणको प्रक्रिया थालिनु वस्तुसँगत सोचाई हुन पुग्दछ । अत : यो विचार र एजेण्डाका आधारमा (र मेटेरियल) कच्चा पदार्थ सकंलन भइरहेको वर्तमान सन्दर्भ हो । यसबाट कैयौं र मेटेरियलहरु रिफाइन्डको क्रममा समाप्त भएर जानेछन् र कतिपय एजेण्डाका आधारमा नयाँ मेटेरियल समाहित हुनेछन ।

यहि मान्यतामा पार्टी आकार ग्रहण गर्दै अगाडि बढ्ने विश्वास लिनुपर्दछ किनकि राजनीति रङको आधारमा, जातको आधारमा , भूगोलको आधारमा, इतिहास बोकेको आधारमा, जेल जिवनको आधारमा अगाडि बढ्ने कुरा होइन । कुनै पनि नेतृत्व अगाडि बढ्नको निमित्त वर्तमानमा देखा परेका राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तरविरोधको कडिलाइ समात्नु पर्दछ र विधि र पद्धतिको प्रक्रियाबाट लक्ष्य प्राप्त गर्ने साधनलाई रुपान्तरित गर्नु पर्दछ भन्ने मान्यताका आधारमा म यो बिन्दुमा उपस्थित छु ।

इमानदार व्यक्तिको लागि उसको दर्शन, सिद्धान्त र कार्यदिशा महत्त्वपूर्ण हुने गर्दछ । किनकी एउटा स्वभिमानी व्यक्तिले आफ्ना विचार र एजेण्डा माथि आफै बलात्कार गर्ने धृष्टता गर्न सक्दैन । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद नै वैज्ञानिक दर्शन भएको र त्यसैको मार्ग दर्शनबाट अगाडि बढ्न सकिन्छ भन्ने मेरो विश्वास हो । यस धर्तीका सबै मानवहरु समान हुन ,यो धर्ति सबैको साझा हो । सबैले मेहनत गरौं, सबैले खाउँ भन्ने एउटा समाजवादिको विचार हुनुपर्दछ । वर्ग विभेदका पर्खालहरु, जात विभेदका पर्खालहरु, धर्म संस्कृतिका विभेदहरु, लैंगिक विभेदहरु, यी सबै विभेदका पर्खालहरु र असामनताका विरुद्धको विचार ! एउटा समाजवादीको विचार ।

स्वाधिन र सार्वभौम राष्ट्रको पक्षमा उभिने विचार ! सबै वेथिती , संस्थागत भ्रष्टाचार, दलाली, दासता र चाकडिको विरुद्द स्वाभिमानी कार्यकर्ता बन्नुपर्दछ भन्ने मेरो विचार । शिक्षा, स्वास्थ्य र यातायात राज्यद्वारा परिचालित हुनु पर्दछ र शिक्षा र स्वास्थ्य किन्नु पर्ने ब्यवस्था रहँदासम्म गरिबले पढ्न र बाच्न पाउने छैन भन्ने मेरो विचार । यी विषयहरुलाई व्यबहारमा ल्याउनको निम्ति अहिलेको शाषकिय स्वरुपबाट सम्भव छैन, त्यसको लागि निर्वाचन प्रणाली फेरिनुपर्दछ । एक करोड भन्दा माथी खर्च गरेर मात्र सभासद बन्न सकिने परिपाटीमा इमानदार कार्यकर्ताले निर्वाचन लड्न कल्पना सम्म पनि गर्न सक्दैन ।

त्यसैले समानुपातिक सांसद र कार्यकारी राष्ट्रपतिको प्रक्रियामा जानू अनिवार्य बन्न गएको छ । बनमारा झारजस्तै फैलिएको संस्थागत भ्रष्टाचारलाई पुरै नियन्त्रण गर्नको लागि अधिकार सम्पन्न जनलोकपाल विधेयकको व्यवस्था गरिनु पर्दछ , जुन जुन ब्यक्ति विगत बीस वर्षदेखि भि.भि. आइ.पि .को भूमिकामा रहेका थिए, तिनिहरुबाट सम्पत्ति छानबिनको प्रक्रिया सुरु गरौं त, कहाँ बाकी रहन्छ भ्रष्टाचार । यहि चिन्तन र विचार सबैले समातौ, भ्रष्टाचारिहरुको साथ र संगत छाडौ भन्ने नै मेरो विचार हो ।

आजसम्मको अध्ययनबाट हामी यो निष्कर्षमा पुग्दछौ कि आफू क्रियाशिल पार्टी जब आधारभूत रुपमा नै आफ्ना घोषित नीति र विचारका विरुद्ध गइरहेको हुन्छ र रुपान्तरणको सम्भावना क्षीण देखिन्छ भने त्यो अवस्थामा क्रान्तिकारी, स्वाभिमानिहरु पनि सोही पार्टिमा बसिरहनु भनेको क्रान्तिकारी आत्माको मृत्यु गराउने कुरा मात्र हुन पुग्दछ । त्यो स्थितिमा क्रान्तिकारी अग्रगामिहरुले बिद्रोहको दिशा समाउनु अनिवार्य सर्त बन्न पुग्दछ । यदि हामिमा बिद्रोह गर्ने हिम्मत छैन र यतै बसिरहँदा नै कुनै लाभको पद प्राप्त होला भन्ने हाम्रो बुझाइ रहेको छ भने हामिले हाम्रो चिन्तनमा परिवर्तन ल्याउन सक्नुपर्दछ र एक्काइसौं शताब्दीमा बुर्जुवाहरुले विकास गरेको नयाँ तरिका पद प्राप्तिको निम्ति नेतृत्वको देवत्वकरण, आत्म प्रशंसा, चाकडी र दलाली या आर्थिक कोसेलि । यो वुर्जुवा तरिकाबाट मात्र हामीले कुनै पद प्राप्त गर्न सक्दछौ ।

पार्टीको सन्दर्भमा हामिले यसैलाई चिरस्थायी ठानेका छौं र यो अजम्बरी छ भन्ने हाम्रो बुझाई हो भने हामी गलत ठाउँमा हुनेछौ । सोभियत सघंका साथीहरुले पनि यसरी नै सोँचेका थिए होलान । कुनै समयमा भारतको केरला राज्यमा सिपियमको सरकार हुने गर्दथ्यो, झण्डै तीन दशकसम्म प. बगालमा सिपियम सरकार चल्यो, त्यहाँको त्यति बेलाको सिपियमको विस्तार क्रम हेर्दा कुनै दिन यो पनि बिसर्जन होला र भनेर कल्पना कस्ले गर्न सक्थ्यो र ? त्यस्तै भारतिय काङ्ग्रेस पार्टीले इन्दिरा गान्धिको हत्या पछि सत्तरी प्रतिशत सिट संख्यामा विजय प्राप्त गरेको थियो । अहिले त्यसको अस्तित्व कहाँ छ ,हामी देखिरहेका छौं ।

मानिस अस्तित्वमा रहन र बाच्नको लागि पदार्थमा आएको परिवर्तन, समाजमा आएको परिवर्तन अनुरुप आफुलाइ बदल्न सक्नुपर्दछ । जुन वस्तु रुपान्तरण हुदैन, त्यस्को अस्तित्व पनि रहन सक्दैन किनकी पदार्थ गति र प्रवाहमा हुने गर्दछ । यो कुरा पार्टिबारे पनि साचो हो । म ठूलो छु, शक्तिशाली छु, बहुमतमा छु भनेर हुने कुरा होइन । संसारमा जुन जुन सत्ताहरु समाप्त भए तिनिहरु पनि त्यस समयका शक्तिशाली नै थिए । समय अनुकुल, आवश्यकता अनुकुल रुपान्तरित हुन सकेनन र समाप्त भए । ठूलो सानो जो कोहि पनि परिस्थिति र आवश्यकता अनुरुप रुपान्तरण हुनै पर्दछ । पार्टिहरु पनि, त्यसको नेतृत्व पनि, वस्तुगत आवश्यकता अनुसार जनता र कार्यकर्ताको चाहाना अनुसार त्यो अगाडि बढ्नै पर्दछ । यदि उसले त्यसो गर्दैन भने त्यो समाप्त हुन्छ ।

पार्टी क्रान्तिकारी, गतिशिल र सम्मानित हुनको निमित्त चारवटा विषयहरुमा उसले ध्यान दिएकै हुनुपर्दछ । पहिलो कुरा हो नेतृत्वको इमानदारीता, त्यो राष्ट्रप्रति, पार्टीप्रती, आफ्ना कार्यनिती रणनिती र जनताप्रती इमानदार हुनु अनिवार्य सर्त हो । यदि मूल नेतृत्वमा यो कुरा छैन भने अन्य हजारौं गुण भएपनी केही काम लाग्ने छैन । दोस्रो कुरा हो पार्टी अगाडि बढ्नको निमित्त वैज्ञानिक र वस्तुवादी दर्शन र विचार । यो भनेको पार्टिको आँखा हो । आँखाले नै राम्रोसगँ देख्न सकेन भने दुर्घटना हुने कुरा निश्चित छ ।

विचारको जगमा टेकेर नै हामी अगाडि बढ्दछौं । देशको उत्पादन प्रणाली र जनताको चेतनाको आधार र अन्तर्राष्ट्रिय परिस्थितिका आधारमा विचार बनाउने कुरा हो । तेस्रो कुरा यो हो कि हामी दर्शन र विचार एउटै भएका मानिसहरु एकीकृत हुने र त्यो साधनको प्रयोग गरेर हामी, हामीले निर्धारित गरेका लक्ष्यहरुमा अगाडि बढ्ने । त्यो साधन अर्थात राजनैतिक पार्टिलाइ अनुशाशीत र ब्यवस्थित तरिकाले परिचालन गर्न र त्यहाँ उठ्ने अन्तर विरोधहरुको समाधानको निमित्त हामिलाइ चौथो कुराको आवश्यकता पर्दछ त्यो भनेको विधि र पद्धति ।

जस्तो कि बस्तुगत जगतमा थुप्रै कच्चापदार्थहरू छन्। तिनिहरुलाई जुन साँचो (डाइ) मा राख्यो सोहि आकारको बस्तु बन्दछ। माटोको उदाहरण लिन सक्छौं, इटाभट्टामा राख्नुहोस् पाकेको इटा तयार हुन्छ। माटाको भाडा बनाउने ठाउँमा लगौं घैटा, हाडी, गमलाहरू बन्दछन् । उत्पादनको निमित्त प्रयोग गरौं, अनाजहरु उत्पादन हुन्छन । मानिस पनि एकप्रकारको कच्चापदार्थ जस्तै हो । त्यसलाई हामीले कसरी रूपान्तरण गर्दछौं भन्ने कुरा मात्रै हो । बैंकमा खाता खोल्ने मान्छे सबै राम्रा र इमान्दार छन् भन्ने कुरा होइन । तर, बैंकहरुले एउटा सिस्टम तयार गरेका हुन्छन्। हामी त्यो सिस्टममा छिर्नुपर्दछ । दिल्लीको मेट्रो रेलमा कुनै मानिस बिना टिकट जान सक्दैन किनकि त्यहाँ सबै कुरा सिस्टममा राखिएको हुन्छ।

यसैले पार्टी परिचालनको विधि र प्रक्रिया जो पहिलो नेतादेखि सेल मेम्बरले सम्म पालना गर्नुपर्दछ, त्यो अनिवार्य सर्त हो। देश दुनियाँमा जस जसले बिधि र प्रक्रियाको विकास गरे, तिनिहरु अगाडि बढे, जस जसले यसको बिकास गरेनन् वा पालना गरेनन , त्यहाँ अराजकता, बेथिति र भद्रगोल हुने गर्दछ र अन्त्यमा समाप्त हुन्छ। हामीले इतिहासबाट सिकेको पाठ यही नै हो । यसर्थ मानिसलाई बैचारिक ज्ञान, नैतिकता र सांस्कृतिक चेतनाको साथै बिधि र प्रक्रियाको फ्रेमवर्क मा रूपान्तरण गर्न सक्ने हो भने मात्र हामी हाम्रो लक्ष्यमा पुग्न सक्ने छौं । मैले यसरी सोचेँ यहाँहरुले कसरी सोँच्नुभएको छ कुन्नि !