मीन राना र म विहान ७ वजे बुटवल माध्यमिक विद्यालयको मूल गेट नजिकै रहेको नुवाकोट प्रवेशद्वारमा पुगिसकेका थियौं । चन्द्रबहादुर रानाभाटसँग दोभानको नुवाकोटमा भेट्ने योजना गरेका थियौं । नुवाकोटको चौकी भञ्ज्याङ्गमा पुग्दा हामीलाई पुरै दुईघण्टा लागेको थियो । पसिनाले शरीरको कुनै भाग ओभानो राखेको थिएन । मैले बण्डी निचोरेर करिव पाँच मुठी पानी निकालें । नुनिला पसिना आँखामा पर्दा घरिघरि पीरो हुन्थ्यो । पसिना बगाउनुको मज्जा बेग्लै हुँदो रहेछ ।
नुवाकोट पुग्न पहिला मलाई पैदल सवा घण्टा लाग्थ्यो । अहिले दुई घण्टा लाग्दा आफ्नो उमेर ढल्केको र सुविधा भोगी बन्दै गएको भान भो । जब शरीर जीर्ण बन्दै जान्छ तब बाटो नाप्न समेत गाहे हुँदो रहेछ । हुन त यातायातका साधनहरु नुवाकोटसम्म जसोतसो जहिले पनि पुग्न सकेका छन् ।
नुवाकोटमा उजिरसिंह पार्क निर्माणको अन्तिम टुंगोमा पुगेको छ । त्यहीनजिकै रहेको बाटो हुँदै हामी दुईजना उकालियौं । करिव एकघण्टा हिडेपछि एक्लो घर भएको ओखलढुंगा पुग्यौं । लालबहादुर विक दाइको घर हो त्यो । दाइका तीन भाइ छोराहरु ६ बहिनी छोरीहरु छन् । दुई छोराहरु देश/विदेश गर्छन् । कान्छो छोरा नेपालमै काम गर्छन् । छोरीहरुले आफ्ना घर गरिसके । हामी उनका घरमा पुग्दा भाउजु भित्रबाहिर गर्दैथिइन् । भाउजुले बेस्सरी नियाले हेरपछि मलाई
दलबहादुर सर भनेर ठहराईन् । एक छिन कुरा गरेपछि पानी पिएर हिड्यौं । लालबहादुर दाइ आफ्ना भाइलाई भेट्न खेतखोलातिर लागेका रहेछन् । उनीसँग भेट्न पाइएन । ओखलढुंगामा एक्लो घर छ । पहिला तीन घर थिए तर अहिले छैनन् । ओखलढुंगालाई गाउँ भन्ने कि एक्ले ओखलढुंगा भन्ने मलाई मनमा कुरा खेलिरह्यो । सो स्थानमा अमिलाका बोटले दाना धान्न सकेका थिएनन् । कागती राम्रो फलेको देखिन्थ्यो ।
ओखलढुंगाबाट ओरालो र तेस्रो बाटो लागेपछि पाल्पा तिनाउको वडा नं. २ मा पर्ने तीन हले गाउँ पुगियो । पहिला त्यहाँ १५ घर थिए । कोही मरे कोही अन्तै सरे । अहिले जम्मा आठ घरपरिवार छौं भन्दैथिए धनबहादुर विकले । उनीहरुका बाबा अम्बे विक थिए । २०२० सालमा बाग्लुङ्गको थनथाप र मलेङ्गबाट त्यही गाउँमा आइपुगेका थिए । लामा बाजे भनेपछि उनलाई धेरैले चिन्दथे । चौरीसी गर्ने भन्दा भन्दै उनका परिवारको इच्छालाई अधुरै राखेर उनी संसारबाट बिदा भइसकेका छन् । सामाजिक एवम् शैक्षिक व्यक्तित्व थिए उनी ।
तीन हले गाउँमा सबै दलित जातिको बसोबास छ । अहिले ८ घरमा झरेका छन् । ३५/४० जना मानिसहरु छ न् । गाउँमा सुकी जत्रो कुवा छ । वर्खामास धमिलो पानी मिसिन्छ । बलेनी पिएर बाँच्नु परेको पीडा कसले पो सुन्छ र भन्दैथिए उनै धनबहादुर विकले ।
गाउँमा धान,गहुँ,मकै,कोदो त फल्छ तर एक चौथाई वर्ष पनि धान्दैन । मरि मेटी गर्दा पनि जीवन जिउन सकस छ । हाजिरा र मजुरा गरेर जीवन गुजार्नु पर्ने बाध्यकारी अवस्था उनीहरुलाई मात्र थाहा छ । स्थानीयहरुले बेलौती,केरा,अमिला फलाएका छन् तर वर्षायाममा बजारसम्म ती उत्पादन आइपुग्न डोकोले नाम्लोको सहारा खोज्छ तर सम्भव हुँदैन । चिप्लो बाटो,बोक्ने मान्छेको अभावले बेलौतीहरु रुखमै पाकेर चराका दाना भएका यिनै आँखाले देखे ।
गाउँलेहरुले आफ्ना जग्गा भकाभक बेच्न थालेका छन् । जग्गा बेच्नेहरु बुटवलको बेलबासतिर छोराछोरीलाई पढाउन झरेका छन् । गाउँमा विद्यालय,स्वास्थ्य सेवा कुनै छैन । केटाकेटीहरु डेढघण्टा हिडेर नुवाकोट गाउँमा रहेको रुपा आधारभूत विद्यालय पढ्न जान सकेनन् अनि बाध्य भएर उनीहरुकै भविष्यका लागि बुटवल झर्न परेको गुनासो गर्दै थिए शुक्रबहादुर विक । आस्ते आस्ते जग्गा विक्री हुँदै जाँदा रैथानेहरु गाउँ छाड्दै जाने तर जग्गा किन्ने नयाँ मानिसहरु गाउँमा नजाने भएपछि गाउँ रित्तो रित्तो नभएर के हुन्छ र ?
सबैका दुई पाई छन् । गाउँमा दलितहरुलेमात्र चलाएको आँपखोली सामुदायिक वन छ । तुलसी विक अध्यक्ष हुन् सो वनको भने सचिव अमर विक । सोही वनको आम्दानीले गाउँमा विजुली र बाटो त आयो तर गाउँलेहरुलाई गाउँमै टिकाउन सकेन । वर्षे बाटो । विरामी हुँदा ज्यानै जाने डर । रातविरात स्टेचरमा बोकेर बटौली लैजानु पर्छ । सकस छ गाउँको बसाइ–दीपक विकले भन्दै थिए ।
पाल्पा तिनाउको तीनहले गाउँमा विभेद विरुद्धको कविता यात्रामा सहभागी भएको पनि एक दशक नाघि सक्यो । सामुदायिक वन समन्वय समिति,दोभानको संयोजन र व्यवस्थापनमा जागरण एफएम र प्रलेस रुपन्देहीको सहयोगमा घटस्थापनाका रात हामीले सोही स्थानमा कार्यक्रम गरेका थियौं ।
हामीले जातीय समताका निम्ति सञ्चालन गरेको अभियानले केही परिवर्तन त आयो होला तर परिणाममुखी नतीजा देख्न सकेका छैनौं । शेरबहादुर विक दाइसँग भोज खायौं अर्थात् गाउँलेहरुसँग सहभोज गरेका थियौं । उनीहरुका बारेमा साहित्य रचना गरेका थियौ । उनीहरुलाई नै विभेद विरुद्ध उठ्नु पर्छ भनेर भनेका थियौं । उनीहरुलाई हाम्रा रचना सुनाएका थियौं । उनीहरुका गीत,कविता सुनेका थियौं ।
शिजजी गायक र शन्ति विक जस्ता रेडियोकर्मीहरुसँगै साहित्यकारहरु देवेन्द्र घिमिरे,ऋषिराम भुसाल,डाक्टर मुरारि पराजुली,मीन राना,दीपक ज्ञवाली,सुमन अधिकारी लगायतका साथीहरु तीन हलेमा पुग्दाको क्षण बयान गरी साध्य छैन ।
गाउँमा विकासका लागि नारा घन्क्यो तर विकास पुग्न सजिलो भएन । थोरै जनसंख्या र दलित जातिकै कारण हाम्रो गाउँसम्म विकास सजिलै आएन कि भनेर गुनासो गर्दै थिइन् स्थानीय सामुदायिक वनकी अध्यक्ष तुलसी बिकले ।
काँइली भाउजुहरु
आँसुका नुनिला ढिकासँगै बासी आँटो निल्छन्
छोराछोरीहरु बाछिटा छेक्न नसक्ने ओतमा
सुकेनास हाँसो हाँस्छन्
काँल्दाइहरु लाज ढाक्न एकसरो
र
एक गाँसको जोहोमा तल्लीन छन्
खोइ !
कुन ब्यवस्थाले काँल्दाइहरुका
बेसरम आङ ढाक्ने हुन् ?
काँइली भाउजुहरुका मुखमा एक गाँस तातो लाग्ने हुन् ?
कहिले छोरा/छोरीका हाँसोमा चन्द्र,सूर्य नाच्ने हुन् ?
फेरि पनि काँल्दाइहरु सोध्दैछन् ।
(दलबहादुर गुरुङको कविता काँल्दाइका सपनाहरुको एक अंश साभार)
प्रतिक्रिया