बिषय प्रवेश
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा), नेपालको सबैभन्दा ठूलो राजनीतिक दल र सरकारको नेतृत्व गरेको पार्टी हो । संघीय संसदमा झन्डै दुई तिहाई नजिक सांसद रहेको राजनीतिक दल भएका कारण यो पार्टीका अध्यक्ष के.पी. शर्मा ओलि देशको प्रधानमन्त्री रहेका छन् । संघीय सरकारमा मात्र नभएर देशको ६ प्रदेशमा समेत प्रदेश सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली जनताको आशा र भरोसाको राजनीतिक दल भएको छ ।
विक्रम सम्वत २००६ सालमा स्थापना भएको कम्यूनिष्ट पार्टीको ७१ बर्षको इतिहासमा अहिले सबैभन्दा ओझिलो अवस्था हो । स्थापना भएको केहि समय पछि नै टुट र फुटको मारमा परेका कम्यूनिष्टहरु सधैजसो अल्पमतमा रहेपनि पहिल्लो समय माओवादी केन्द्र र एमालेको एकताले बनेको नेकपा बलियो सरकारको नेतृत्व गर्ने दल हुन पुगेको छ । जसलाई यो अवस्थामा ल्याई पुराउनका लागि नेकपाका महासचिव बिष्णु पौडेलको महत्वपूर्ण भूमिका खेलेका छन् ।
पौडेलको भूमिका
आन्दोलन, त्याग र बलिदानबाट नेपालको परिवर्तन गर्न सकिन्छ भन्ने मान्यताका साथ हिजो प्रतिक्रियावाद र संशोधनवादसँग संर्घष गर्न कलेजको पढाई छोडेर समाजवादको कठिन मार्गको यात्रामा हिडेको बिष्णु पौडेल अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सहमतिका सुत्रधार बन्ने गरेका छन् । द्धन्दात्मक भौतिकवादको मान्यतालाई स्विकार गर्ने कम्यूनिष्टहरुको विगतको फुटको नमिठो इतिहासलाई बुझेका पौडेलले पहिल्लो दशकमा आफ्नो पार्टी र देशका लागि सहमतीको मार्ग पहिल्याउने व्यक्ति भएको उनिलाई नजिक बाट चिन्नेहरु बताउछन् । माओवादी केन्द्र र एमालेको एकता गराउन बामदेव गौतमको सकारात्मक सुझाव र जर्नादन शर्माको बलियो साथ पाएका पौडेलले केपी शर्मा ओली र प्रचण्डलाई एकठाउँमा ल्याउन सफल भएका नेताको रुपमा चिनिन्छन् ।
बाम एकताको सूत्रधारको रुपमा देखा परेका पौडेलले एक अर्कालाई भेटन समेत नमान्ने ओली र प्रचण्डलाई जनार्दन शर्मा संगको सहयोगमा धेरै पटक छलफल गराएर पार्टी एकिकरणमा महत्वपूर्ण भूमिका खेलेका छन् । पार्टी एकिकरणका मस्यौदाकार पौडेलले पार्टीलाई अहिलेको अवस्थामा ल्याउनका लागि खेलेको भूमिका विश्व कम्यूनिष्ट इतिहासमा महत्वपूर्ण देखिन्छ । पछिल्लो समय नेकपा भित्र देखिएको विवादले फुटको संघारमा पुगिसकेको पार्टीलाई समेत एक ठिक्का बनाएर अगाडी बढ्ने बातावरण समेत पौडेलको कसरतले सार्थकता पाएको छ । महासचिव पौडेललेको संयोजकत्वमा बनेको ६ सदस्यीय कार्यदलले पार्टी विवादको समस्या समाधानको सूत्र पहिल्याउँदै सुझाव सहितको प्रतिवेदन दिएपछि पार्टीको विवाद अहिले मत्थर बनेको छ । जसको श्रय समेत महासचिव पौडेलले पाएका छन् ।
पार्टी भित्र आफ्नो कुशल क्षमता प्रदर्शन गर्दै आइरहेका पौडेलले नेतृत्वलाई सहमतिमा ल्याउने भूमिका खेल्ने मात्र नभएर आम कार्यकर्ताहरुको भावनालाई सम्मान गर्ने गरेको देखिन्छ । महाकाली सन्धि पारित गर्ने कि नगर्ने भन्ने विवाद पार्टी भित्र तीब्र हुँदा समेत सन्धिको विपक्षमा आफूलाई उभ्याएर राष्ट्रबादी छबि देखाएका पौडेलले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई आधुनिक नेपालको निर्माण गर्ने राजनीतिक दलको रुपमा स्थापित गर्न खोजेको देखिन्छ । जहाँ उनको निरन्तर प्रयास जारी रहेको छ ।
को हुन् पौडेल ?
विक्रम सम्वत २०१६ सालमा स्याङजामा जन्मिएका विष्णु पौडेल स्कुल पढ्दा पढ्दै सामान्तवादको अन्त्यका लागि भूमिगत राजनीतिमा होमिएका व्यक्ति हुन् । स्कुल शिक्षा पूरागरी कलेज शिक्षा पढ्नका लागि दिदी भिनाजु गोपीरमण उपाध्यायको घर बुटवलमा रहेका पौडेललाई वि.स. २०३३ सालतिर प्रदिप नेपालले बुर्जुवा शिक्षा बहिष्कार गरेर राजनीतिमा आउनु पर्छ भनेपछि पढाई छोडेर कम्यूनिष्ट आन्दोलनमा लागेका हुन् ।
२०३३ सालदेखि २०४६ सालको जनआन्दोलनसम्म पार्टीको विभिन्न तहमा बसेर भुमिगत राजनीतिमा पौडेल सकृय भएका थिए । बहुदलिय व्यवस्था स्थापनापछि तत्कालीन नेकपा मालेले राष्ट्रिय परिषद् सदस्य बनाएर महाकाली अञ्चल इन्चार्जको जिम्मेवारी दिएको थियो । विंस २०४७ मा माले र माक्सवादी एकता गरि नेकपा एमालेको भयो । उनि २०४९ सालमा तत्कालिन एमालेका केन्द्रीय सदस्य थिए । २०५१ साल पछि उनि पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारी समेत पाएका थिए । पहिलो पटक विंस.२०५१ सालमा पाल्पाको क्षेत्र नम्बर ३ बाट संसदिय चुनाव जितेका पौडेलले २०५४ सालमा युवा तथा खेलकूद मन्त्री बनेका थिए ।
२०५६ सालमा रुपन्देही क्षेत्र नम्बर ४ बाट थोरै मतले हारेका पौडेलले २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा भने सोहि निर्वाचन क्षेत्र बाट निर्वाचित भएका थिए । २०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बनेका पौडेल झलनाथ खनालको पालामा रक्षामन्त्री बनेका थिए।
२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट पुर्व प्रधानमन्त्री तथा त्यसवेलामा चर्चित नेता बाबुराम भट्टराईलाई पराजित गरेपछि ओलीको पहिलो प्रधानमन्त्री कालमा अर्थमन्त्री बनेका थिए । ०७४ सालको निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पौडेलले २०७५ सालबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महासचिवको जिम्मेवारीमा रहेका छन् ।
कम बोल्ने र विवादबाट आफुलाई टाढा राख्न रुचाउने नेताको छवि स्थापित गरेका पौडेलले पार्टीलाई संकट पर्दा सधै एकताको लागि साथ दिने गरेका छन् । पार्टीका नेताहरुको क्षमतालाई राम्ररी मूल्यांकन गर्न सक्ने र उपयोग गरेर संकट पार गर्न सिपालु यी नेताले अहिलेको अवस्थामा खेलेको भूमिकाले आम नेपालीलाई खुसी बनाएको देखिन्छ । पार्टी हेडक्वाटरलाई संकट परेका बेला तुरुन्त बुझेर भूमिका खेल्न सक्ने तथा परिस्थितिलाई मुल्यांकन गरि समाधान तिर लाग्ने महासचिव पौडेलको क्षमताले ओली, प्रचण्डलाई समेत सहयोग पुराएको छ ।
पौडेलको निर्वाचन क्षेत्र
प्रदेश नम्बर ५ को राजधानी बुटवल पौडेलको निर्वाचन क्षेत्र हो । अहिले रुपन्देहीको क्षेत्र नम्बर २ मा पर्ने यो क्षेत्रका जनताको मतले पौडेललाई ३ पटक निर्वाचित गरेर संसदमा पठायो भने भने ३ पटक मन्त्री बनाउने सौभाग्य यहाँका जनताले प्राप्त गरेका छन् । पहिलो पटक पाल्पाको क्षेत्र नम्बर ३ बाट निर्वाचित बनेका पौडेल मन्त्री पनि बनेका हुन । त्यस पछि उनि रुपन्देही बाट उठने गरेका छन् । हाल सम्म ४ पटक निर्वाचित सांसद र ४ पटक नै मन्त्री बनेका पौडेल मतदाताका पनि लोकप्रिय छवि स्थापित गर्ने नेताको रुपमा परिचित छन् ।
प्रदेश नम्बर ५ को समग्र विकासका लागि पहल गर्ने नेता पौडेलले रुपन्देहीको विकासमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् । महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीको गुरुयोजना पूूरा गर्न खेलेको भूमिका र गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणमा देखाएको तदारुकता रुपन्देहीबासीका लागि सधै सम्झन लायक बिषय बनेका छन् । बुटवलमा बन्दै गरेको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, कालिगगण्डकी तिनाउ डार्भसन र सिद्धबाबा सुरुङ मार्ग, तिनाउ दानव औद्योगिक कोरिडोर,बुटवल मेडिकल कलेज र बेलवास बेथरी तथा बुटवल नरायणगढ सिक्सलेन सडक पौडेलले अगाडी सारेका यसक्षेत्रका जनताका ड्रिम पोक्जेक्ट हुन् ।
निष्कर्ष
नेपाली राजनीतिलाई चलायनमान बनाउने र सर्वहारा वर्गको नेतृत्व स्थापित गर्ने भूमिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेल सधै सकृया देखिएका छन् । आफ्नो अन्तिम लक्ष्य समाजबाद देखि साम्यवाद सम्म पुग्नका लागि नेपालमा छरिएर रहेका बामपन्थी दलहरुलाई एकढिक्का बनाएर अगाडी बढ्ने उनको योजना बिस्तारै कार्यान्वयन भैरहेको देख्न सकिन्छ । १७ वर्षको कलिलो उमेरमा समाज परिवर्तनका लागि र सामान्तहरुको अन्त्य गर्न भूमिगत राजनीतिमा होमिएका पौडेल पछिल्लो राजनीतिक परिघटना सम्म आइपुग्दा कुशल योजनाकारका रुपमा स्थापित भएका छन् ।
नेपालमा राजतन्त्र तथा सामन्तहरु अन्त्यका लागि लामो समय वर्ग संघर्षमा होमिएका पौडेलले शोषितहरुको नेतृत्व गर्दै शोषकहरुको बिरुद्ध भूमिगत भएर भिषण संघर्ष गरेका नेता हुन् । जसका कारण आजको नयाँ परिस्थिती आएको छ । जहाँ पुरानो निरंकुश सामान्ती राजतन्त्रको अन्त्य र नयाँ राजनीतिक शासन व्यवस्थाको सुरुवात भएको छ । देशमा संघीय लोतकतान्त्रिक गणतन्त्रको व्यवस्थामा फड्को मारेको छ । पश्चगामी र यथास्थितिवादीहरुलाई प्रयोग गरेर नेपाली समाजले अहिले नयाँ छलाङ मारेको छ ।
हिजो पौडेल जस्ता सयांै नेता तथा कार्यकर्ताको योगदान र संघर्षले आज गरिब, दलित, उत्पीडित, आदिवासी, जनजाती, मधेशी, महिला, मुस्लिम र असाहय तथा अपाङगहरुले अधिकार प्राप्त गरेका छन् । नेपाली समाज आज राजनीतिक परिवर्तन गरी आर्थिक परिवर्तनका लागि अगाडि बढेको छ । आर्थिक र सामाजिक जिवनलाई उच्च गतिमा पुराउनका लागि नेकपाको सरकार अहिले नेपालमा संघर्षरत रहेको देखिन्छ । मजदुर र किसान वर्गका लागि अहिलेको सरकारले उच्च प्राथामिकतामा राखेर काम गरेको पाइन्छ । समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पुरा गर्न अहिलेको सरकारलाई निरन्तरता दिने र नेकपालाई जनताको लोकप्रिय पार्टीमा बिस्तारै रुपान्तरण गर्न महासचिव पौडेलले खेलेको भुमिका अहिले आमजनताको मनमस्तिष्कमा बसेको छ ।
पार्टी फुटको कठोर मोडमा पुगेको हतासलाग्दो परिस्थितिलाई सहजरुपले मूल्यांकन गरी अझ बलियो र एकताबद्ध बनाउन खेलेको पौडेलको भूमिकाले नेपाली राजनीति क्षेत्रमा उच्च छलाङमा पुराएको छ ।
प्रतिक्रिया