ताजा अपडेट »

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार जोशी र सुवासलाई

आइतबार, १७ चैत्र २०७५

चैत १७,
काठमाण्डौ । यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता दुई जनालाई प्रदान गरिएको छ । रिपोर्टर्स क्लब नेपालले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार रिपब्लिका अंग्रेजी दैनिकका प्रधान–सम्पादक सुवास घिमिरे र वरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गरिएको हो ।

राजधानी र मोफसलका वरिष्ठ पत्रकारहरूलाई दिँदै आइरहेको उक्त पुरस्कार यो वर्ष राजधानीबाट घिमिरेलाई र मोफसलबाट जोशीलाई प्रदान गरिएको हो । यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ। घिमिरे र जोशीलाई जनही ५०–५० हजार रुपैयाँ प्रदान गरिएको छ । शनिबार अपरान्ह क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा बसेको पुरस्कार छनोट समितिको बैठकले यस्तो निर्णय गरेको थियो ।

घिमिरे लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । छोटो समयमा अंग्रेजी पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रदर्शन गर्दै घिमिरेले व्यावसायिक पत्रकारिताको संस्थागत विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

जोशी महेन्द्रनगरबाट प्रकाशित सार्थक साप्ताहिकका प्रधान–सम्पादक हुन्। उनी ३० वर्षदेखि पत्रकारितामा सक्रिय छन् । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका पूर्व अध्यक्ष समेत रहेका जोशीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार प्रदान गरेका छन् ।

नेपाली राजनीतिका जननेता एमालेका पूर्व महासचिव मदन भण्डारीको स्मृतिमा उक्त पुरस्कारको स्थापना गरिएको हो । रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना विशेष कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।