कोभिड–१९ का कारण विश्व ठप्प प्रायःछ । यो रोगबाट हामी नेपालीहरु समेत अछुतो रहन सकेका छैनौँ । हाम्रा बाहिरी क्रियाकलापहरु लगभग बन्द अवस्थामा छन् । अहिलेको प्रमुख आवश्यकता घर मै सुरक्षित बसेर यो महामारी रोगबाट उन्मुक्ति पाउनु नै हो । वर्तमानमा हामीले हाम्रा सीप र कलाहरुलाई तिखार्ने अवसरको रुपमा उपयोग गर्न सक्नुपर्छ । संकट मै समाधान हुन्छ ।
यतिबेला राष्ट्रकवि स्वःमाधवप्रसाद घिमिरेको श्लोक सापटी लिन मन लाग्यो ।
ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल
सिर्जना शक्ति भएको मानिस हुँदैन बिफल ।
लकडाउनको भरपुर उपयोग गरी तिनाउ गाउँपालिकाका दर्जन बढी गाउँघर भ्रमण गर्ने अवसर जुटाई दिनुभो साहित्यकार दलबहादुर गुरुङले । उहाँको डायरी प्रकाशन गरी ग्लोवल आवाज डटकमले संसारभरका पाठकहरुसँग तिनाउका गाउँहरुसँग मितेरी गाँसि दिएको छ ।
दलबहादुर गुरुङलाई चिनेको दोभान माविको शिक्षकको रुपमा अलि धेरै पहिल्य नै हो मैले । उहाँलाई साहित्यकार,सामाजिक अभियन्ता, संरक्षणकर्मीको रुपमा चिन्दै आएको छु । उहाँ एक बहुप्रतिभाको धनी हुनुहुन्छ । यो मेरो दृष्टिकोण हो । हँसिलो र सरल मिजासका हुनुहुन्छ । एकपटक चिनजान भएपछि बिर्सने बानी छैन प्रायः । कर्मशील र केही गर्नुपर्छ भन्ने मान्छेलाई रुचाउनु हुन्छ धेरै । बेलाबेलामा चिनजानका मान्छेको सम्पर्कमा रहेर सञ्चो तथा बिसञ्चो सोधी रहनुहुन्छ । उहाँको त्यो गुण मनपर्दो छ ।
२०७७ भदौको २ गतेदेखि गाउँको डायरी पढी रहँदा साँच्चिकै भौतिक रुपमा सम्बन्धित ठाउँहरुमा जान नसके पनि तिनाउ सेरोफेरोका विभिन्न ठाउँहरुका शिक्षा, स्वास्थ्य, पर्यटन, रहनसहन र संस्कृतिलाई नजिकबाट बुझ्न पाइएको महसुस् गरें । आफ्नै आँखैले हेर्ने हुटहुटी जगाईदिनु भएको छ । डायरी पढिरहँदा गाउँका सम्भावना र चुनौतीहरुको बारेमा नजिकैबाट परिचित भएको र विकासका लागि स्पष्ट योजना कोर्न सक्ने व्यक्तित्वका रुपमा पाएँ ।
तिनाउ गाउँपालिका वडा नं. ३ का फूलबारी,देउराली, ज्यामिरे गाउँका बारेमा उहाँ लेख्नुहुन्छ–ती गाउँहरुका आफ्नै सुख र दुःखका नालीबेलीहरु छन् । समस्या र समाधानका बीच जीवनलाई आफ्नै परिस्थिति अनुसार व्यतित गरेकै छन् । दालचिनीका कारण स्थानीय युवाहरु विदेश खासै धसिएका छैनन् । गाउँमा पसिना र श्रम खर्चिएका छन् । आफ्नै माटोलाई सुगन्धित बनाएका छन् दालचिनी जस्तै । एकपटक घुम्न जाऔं, दालचिनीको गाउँ ।
डायरी पढ्दा शीर्षक छनोटमा प्रतिकारात्मक एवम् विम्वात्मक शैलीको प्रयोगले पाठकलाई कतै–कतै अल्मलाए जस्तो देखिन्छ । यद्यपि पढ्दै जाँदा वास्तबिक कुरोको चुरोमा पुगिन्छ । जस्तैः मलाई नि लैजानुस न श्रीमान, मरामकोट मसानकोट नबनोस् । उहाँले आत्म–विश्वासपूर्वक सत्य, तथ्यलाई पाठक सामू ल्याउने प्रयास गर्नु भएको छ ।
उहाँले डायरीमा गाउँका स्थानीय उत्पादनलाई आयआर्जनसँग जोड्ने र स्थानीय जनताको जीवनस्तर उकासेमात्र “सुखी नेपाली, समृद्ध नेपाल” को नारा साकार बन्ने कुरामा जोड दिनु भएको छ । स्थानीय उत्पादनलाई पर्यटनसँगै जोड्न सकिने र पर्यटनको विकास गर्न सकिने कुरामा उहाँ लेख्नुहुन्छ–विदाई हुनेबेला पर्यटकहरुलाई गाउँकै उत्पादन एक/एक थान अम्रिसोको कूचो उपहार दिइने छ । पाएको कूचो उपहार पर्यटकले घरकी जहानलाई दिंदा खुसी हुने छिन् । ओखल ढुंगाका घर, आँगन जस्तै आफ्ना घर, आँगन सफा गर्ने छिन् र कूचो ठूटो हुँदै जाँदा एकदिन भन्नेछिन्–अम्रिसोको कूचो उपहार पाइने ओखल ढुंगा मलाई नि लैजानुस् न श्रीमान् !
पर्यावरणीय स्थलको विकास र प्रचार/प्रसार गर्ने हो भने स्थानीय उत्पादनले बजार पाउनेछन् । दुई छाक खानको लागि घर/परिवार छोड्न विवश युवाहरुले घरमै बसेर काम पाउने सम्भावनाका बारे उहाँ उल्लेख गर्नुहुन्छ– मनमोहक महाँपुर फाँट, हाँपुर नजिकै रहेको सीमसार क्षेत्र जसलाई कृत्रिम ताल बनाएर पर्यटकहरुलाई तान्न सकिन्छ । साँचिक्कै मयूर नाचेको देखाउन सकिएमा पक्कै पनि गाउँमा पर्यटकहरु आउने छन् । उनीहरुलाई राख्न होम स्टे र सानातिना खाजा पसलहरु चल्न सक्छन् । जसले स्थानीयहरुको आम्दानीमा सकारात्मक प्रभाव पार्ने छन् । गाउँमै रोजीरोटीको सिर्जना हुने छ । स्थानीय टूर गाईड बनाउन सकिने छ । साउदी अरब, दुबई, कतार र मलेसियामा पुगेका स्थानीय युवाहरु गाउँमै रमाउने थिए । भारतका कोठीमा र होटलमा काम गर्नेहरु र लेबर काम गरेर दुःख पाएकाहरु आफ्नै हरियाली गाउँ सम्झेर आउने थिए ।
पर्यटकीय स्थलको रुपमा छुट्टै पहिचान बनाउन लागि परिहरेको जन्तिलुङ्गको सिको अन्य ठाउँहरुमा पनि पक्कै गर्न सकिनेछ । यो महामारी न्यून भएपछि जन्तिलुङ्गमा जन्ति जस्तैः पर्यटकहरुको थामी नस्कनु ओइरो लाग्ने कुरामा म विश्वस्त छु । सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हरेकले केराबारी जोरधारामा खाजा,नास्ता खाने छन् र कोशेलीको रुपमा बटुक पोको पारि आ–आफ्नो घर लैजाने छन् ।
विश्व भ्रमणमा निस्केको यात्रीको यात्रा पहिलो पाइलाबाट सुरु हुन्छ । त्यसैगरी गाउँलाई चिनाउने यो प्रयास गाउँ विकासका निम्ति एउटा कोशेढुङ्गो बन्ने छ भन्ने मेरो अपेक्षा रहेको छ । उहाँले हरेक डायरीमा गाउँको ऐतिहासिक पृष्ठभूमि, जनसाँखिकी, सामाजिक, सांस्कृतिक अवस्था,पुरातात्विक वस्तुको परिचय, सम्भावित आर्थिक पाटो, पर्यटन विकासका सम्भावना स्रोतहरुलाई समेट्ने प्रयास गर्नु भएको हुँदा यो डायरी सम्बन्धित स्थानका बारेमा जानकारी राख्न चाहने हरेकलाई मार्गदर्शक बन्ने छ ।
यो डायरी हाल इन्टरनेट प्रयोगकर्ताले मात्र पढ्न र हेर्न सक्ने भएकोले इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका साँवा अक्षर पढ्न सक्नेको लागि मुद्रणको रुपमा आओस् भन्ने मेरो चाहना छ । साँच्चिकै गाउँको डायरी गाउँलाई चिनाउने चिनारी भएको छ । यो डायरी विशेष गरी तिनाउ गाउँपालिकाका विभिन्न सम्भावनायुक्त गाउँहरुका बारेमा लेखिएकोले स्थानीय सरकारले इन्साइक्लोपेडियाका रुपमा प्रयोग गरी फाइदा लिन सक्ने छ । साथै यो तिनाउ गाउँपालिकाको दस्तावेज बन्ने छ ।
सरल र सरस भाषामा लेखिएको छ । सामान्य साक्षरहरुले समेत पढ्न सक्छन् । इतिहास छ,वर्तमान र भविष्यको सम्भावना र कल्पना छन् डायरीमा । सम्बन्धित स्थानका बारेमा वा त्यहाँ पुग्ने बाटाहरुका नक्सा समेत समावेश भई दिएको भए सुनमा सुगन्ध हुने थियो । स्थानीय होम स्टे सञ्चालकको नाम र सम्पर्क नम्बर हुन सकेको भए जाती हुने थियो । होम स्टेमा खाँदा,बस्दाको लागत वा मेनू समावेश गर्न सकेको भए लेखकले पर्यटन प्रवद्र्धनमा जोड्न खोजेको कुराले मेल खाने थियो । तिनाउ गाउँपालिकाको विकास निर्माण,समृद्ध तिनाउ,सुखी तिनाउबासीको नारालाई साकार बनाउन समेत दलबहादुर सरको डायरीले मद्दत गर्ने छ । आशा गरौं–तिनाउका सबै टोलबस्तीहरुका डायरी बन्ने छन् । नयाँ पुस्ताले इतिहास जान्न पाउने छ । पुरानाले भविष्य सुन्न पाउने छन् । वर्तमानमा सबैले सबैलाई चिन्ने, जान्ने अवसर पाउने छन् ।
प्रतिक्रिया