ताजा अपडेट »

मुटु अस्पतालद्वारा मिर्गौलाका बिरामीको निःशुल्क कोरोना बीमा

विहीबार, २५ भदौ २०७७

बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलायसिस गराइरहेका बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामी सङ्क्रमणको उच्च जोखिममा रहेकाले निःशुल्क बीमा गरिदिने निर्णय गरिएको हो ।

अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसँग सम्झौता गरी निःशुल्क रुपमा रु एक लाखको कोभिड–१९ बीमा गर्ने निर्णय गरिएको बताए । सरकारले मिर्गौलाका बिरामीको डायलायसिस निःशुल्क गरे पनि अन्य औषधि तथा बेलाबेलामा गर्नुपर्ने प्रयोगशाला परीक्षणलाई निःशुल्क गरेको छैन । अस्पतालले भने डायलायसिसबाहेक बेलाबेलामा गर्नुपर्ने रुटिन र भाइरल टेष्टसमेत सबै बिरामीको निःशुल्क गर्दै आएको छ ।

त्यस्तै कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण सार्वजनिक सवारी साधन चल्न नसक्दा डायलायसिसका लागि अस्पताल आउने बिरामीलाई नियमित अस्पताल ल्याउने र छाड्ने व्यवस्थासमेत गर्दै आएको छ । अस्पतालले डायलायसिसका बिरामीलाई लैजान र छाड्नका लागि कपिलवस्तुको वाणगंंगा नगरपालिकाको बनगाई र नवलपरासीको बर्दघाटसम्म नियमित रुपमा बस पठाउने गरेको छ । अस्पतालमा हाल ४२६ जनाले मिर्गौलाको नियमित डायलायसिस गराउँदै आएका छन् ।