तिनाउ गाउँपालिकाका ६ वडाहरुमा घुमफिर गर्दा सबैभन्दा धेरै मोटर बाटा बिग्रिएका २ न. वडामा देखियो । वडाका मो.बा. हरु किन यसरी तहसनहस भएका होलान भनी गम्भीर चिन्ताका साथ सोच्न अनिवार्य छ । यहाँको प्रमुख समस्या भनेको नै ब्यवस्थित सडक सञ्जाल नहुनु नै हो । यहाँका नागरिकहरुले कहिलेसम्म यस्तो समस्या भोग्नुपर्ने हो ?
वडा नं. २ का सडक सञ्जाल अन्तर्गत दोभान,खुर्साने,दोभान–बगाहहुँदै हरियालीगाउँ, दोभान–नुवाकोटहुँदै हरियाली गाउँ र दोभान– माराबास मुख्य मोटर बाटा हुन् । जसमा दोभान–खुर्साने खानी पहुँच मार्गको रुपमा रहेतापनि दैनिक सयौँ ट्रिपरहरु गुड्दा वर्षात् समयमा यो मार्ग बिग्रिएर लथालिङ्ग हुन्छ । लथालिङ्ग हुनुको मुख्य समस्या निरन्तर गुड्ने गाडीहरुको भार सडकले थेग्न नसक्नु । फलस्वरूप सडकका छेउछाउका बासिन्दाहरुको जग्गाजमिन मिचिदै आएका छन् । बाटोको थुप्रै ठाउँठाउँमा पहिरो भू–क्षय गई साँघुरो हँुदा पैदलयात्रीहरुको लागि पैदलमैत्री सडक हुन सकेको छैन् ।
दोभान–झ्याङ्लाहुँदै हरियाली गाउँको मोटरबाटो भत्किएर खोला र खोल्साको रुपमा परिणत भएको छ । दोभानबाट झ्याङ्लासम्मको मो. बा निर्माण गर्न करोडौं सरकारी बजेट खर्च भईसकेको छ । कुन ठाउँमा कस्तो किसिमको संरचनात्मक कार्यगर्नुपर्ने हो ? उक्त निर्माण कार्य नहँुदा बाटो नाजुक भएको छ । जुन ठाउँमा पुलको आवश्यकता छ भनी प्राविधिकहरुले योजना बनाउँछन । त्यहाँ कलभर्ट बनाउनुपर्छ भनी यहाँ जनप्रतिनिधिहरुले प्राविधिकलाई गलत सुझाव दिन्छन् ।
सडकको मापदण्ड अनुसार बाटो चौडा बनाएपछि ग्राभेल गर्नुपर्दछ । साँघुरा बाटोहरुमा ग्राभेल गर्नको लागि प्राविधिक स्टेमेट गराउन लगाउँछन् । जनप्रतिनिधिहरुले ब्यवस्थित नाली,ढल निकास गरि ग्राभेल गर्नुपर्ने भएतापनि यहाँ यो मापदण्ड लागू गरिएको छैन । नाली नहँुदामाथिबाट आएको ठूला पानीका भलहरु सडकमा जम्मा भई पहिरो खस्छ । जहाँ मेसिनरी वाल, ग्राभेल जाली जस्ता बलिया संरचना बनेका हुँदैनन् ।
बगाह– हरियाली गाउँको मोटर बाटो भत्किएको कारण पैदल हिडन समेत मुस्किल भएको छ । यो बेलामा वनको आम्दानीबाट निर्माण गरेको यस बाटोमा दशैंको बेलामा सामान्य रुपमा सफा गर्न मात्र न्यून बजेट विनियोजन हुन्छ । दुर्गम ठाउँका उपभोक्ताहरु बाटोको असुविधाका कारण पसिनै पसिना भई भारी बोक्न विवश छन् । मोटर बाटोको समस्या समाधान गर्न स्थानीय जनताले पटकपटक माग गर्दा पनि वडाका प्रतिनिधिहरुले गम्भीर तरिकाले चासो राखेका छैनन् । यहाँका जनताका आवाजको सुनुवाइ गर्न कन्जुस्याइँ भएको छ । प्रतिनिधिहरुमा इच्छा शक्तिको कमिले यस्तो स्थिति पैदा भएको भन्न सकिन्छ ।
स्थानीयस्तरका समस्याहरुसँग प्रत्यक्षरुपमा वडाका जनप्रतिनिधिहरु जोडिएको हुनुपर्दछ । जनताका आवश्यकता, मनोबल बुझ्दै जनसमुदायसहित एकाकार भई विकास निर्माण कार्यमा सरिक हुनु प्रतिनिधिहरुको कर्तव्य हो । कतिपय आयोजनाको लागि प्रदेश र संघमा धाएर आयोजना पार्ने हिम्मत गर्नुपर्छ ।जुन यहाँका जनप्रतिनिधिहरुमा चलन नै छैन । सरोकारवाला उपभोक्ताहरुले प्रदेश र सघंमा गई बजेट पार्ने जनप्रतिनिधिहरुलाइ हरदम साथ दिन तत्पर छन् ।
यस ठाउँमा तिनाउ गापाले सडक निर्माणलाई मुख्य समस्याको रुपमा महसुस गरि यसलाई प्राथमिकताको प्रमुख कार्यसूचिमा राखी पर्याप्त बजेट विनियोजन गर्नुपर्दछ । वार्षिक नीति तथा कार्यक्रममा सडकलाई प्राथमिकतामा राखेपनि वजेट बाँडफाँड गर्दा यो नीतिलाइ बेवास्ता गरेको देखिन्छ, किन? यस्तो मनस्थिति नबदल्ने हो भने जनताले लामो समय बाटोको कारण सास्ती पाउने पक्का छ । दिगो, टिकाउ हुने मोटरबाटो निर्माण गर्न गर्न जरुरी छ । तिनाउ गापाले पार्क लगायत अन्य विययमा मनोमानी थुप्रै बजेट बाँड्छ तर जनताको सुविधासँग जोडिएका आयोजनाहरुलाई आँखा चिम्लिएको छ, किन ? मनोरञ्जन गर्न पार्कहरु त पछि बनाउन सकिन्छ तर सडक निर्माण गर्न कदापी ढिलो गर्नुहुँदैन ।
प्रतिक्रिया