पुर्खा कै बलबाहु शक्ति बलले सिर्जित पाखै
भरि,पुष्प झैं बसोबास् गरी समय मै कर्मैले
सम्मो गरी,सुन्थ्यौ नूनको भारी फाँट पथमा
राख्दै पुगे लग्धुवा,ऐले देख्दा छ सुन्दर छटा
कलकल बगेको जल ।।
(कवि गोपालप्रसाद बस्यालको कविताको एक अंश, उनी लग्धुवा गाउँमा जन्मि,हुर्किएर शैक्षिक क्षेत्रमा र पुस्तक व्यवसायीका रुपमा परिचित छन् । )
लग्धुवा गाउँमा जन्मिएर झुम्सा बजार बस्दै आएका कानूनका जानकार एवम् राजनीतिकर्मी महेन्द्रप्रसाद पाण्डेयका अनुसार कृषि योग्य लग्धुवा फाँटमा गह्रा सुधार गर्ने, सामुहिक कृषि प्रणालीमा जोड दिदैं आधुनिक प्रविधिमा ध्यान दिने र कृषिमा आधारित पर्यटनको योजना बनाउने हो भने लग्घुवा भू–स्वर्ग नै बन्ने छ । उनको कुरालाई मद्दत पुग्ने गरी तिनाउ गाउँपालिका वडा नं .३ का वडाध्यक्ष प्रेम पाण्डेयले भन्दैथिए –लग्धुवालाई कृषि स्मार्ट भिलेज बनाउने सपना छ । छिट्टै पूरा होला !
प्राचीन महत्व बोकेको थलो हो मरेक गाउँ । अहिले अस्थिपञ्जर जस्तै उभिएको छ । नुवाकोटको बाटोहुँदै रानीबास,मरेक,मस्याम पैदल हिड्दाको चर्चित स्थल हो मरेक । सोही गाउँभन्दा केही तल करिव १० मिनेट हिडेपछि लग्घुवा गाउँ पुगिन्छ । झुम्साबजारदेखि पश्चिम उत्तर हान्निए पछि करिव चार किलोमीटरको दूरीमा रहेको लग्धुवा गाउँ पुगिन्छ ।
उच्च समस्थली । हराभरा । मनोरम र सुन्दर बस्ती छ लग्धुवा गाउँमा । २८ घरधूरी छन् । पाण्डेय, बस्याल, सापकोटा थरका ब्राह्मण बाहेक, एक घर नेवार, चार घर मगर जातिको समेत बसोबास रहेको उक्त गाउँमा करिव तीन सय जनसंंख्या रहेको छ । गाउँमा राधाकृष्ण मन्दिर स्थापना गरेका छन् ।
दुई सय ६२ रोपनी जग्गामा बाह्ैमहिना सिंचाई हुन्छ । तीन खेतीमात्र होइन पछिल्लो समय व्यवसायिक तरकारी खेती गरेर मनग्य पैसा कमाउने अगुवा किसानहरु त्यही गाउँमा छन् । अनन्तराम, बुद्धिबल चिदी, नारायणबहादुर थापा, दोर्णराज जस्ता नाम चलेका किसानले हरिया तरकारी बेचेर हरिया नोट समाउन थालेका धेरै भए ।
लग्धुवाको खास प्रचलित उत्पादन भनेकै त्यहाँको झिनुवा धान र मानापाथीमा भर्न मिल्ने सानो खालको आलु नै हो । उमापति बस्याल, चण्डिप्रसाद बस्याल, लक्ष्मण पाण्डेय,भूपेन्द्र बस्याल जस्तै किसानहरुले झिनुवाको चामल बेचेर वर्षेनी प्रशस्तै आम्दानी गर्दै आएका छन् । उनीहरुले जनही १० देखि २५ मूरीसम्म सो धान उत्पादन गर्दै आएका छन् । एक पाथी चामलको बजार मूल्य अहिले ६ सय रुपैयाँ छ ।
प्रदेश पाँचका मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले एकपटक सोही गाउँको झिनुवा चामल आफ्नो घरमा पकाएपछि छिमेकीहरु यस्तो बास्नादार के पकाएको भनेर सोध्न आइपुगेको रमाईलो कथा आज पनि स्मरण योग्य छ । भित्र पकाउँदा बाहिर बसाउने यो चामलको बयान गरि साध्य नै छैन । संयोगले झिनुवा चामल पत्रकार एवम् लेखक मोहन मैनालीले काठमाडौं लगेका थिए । झिनुवाको खीर खाएपछि आफ्नी वृद्धा आमाले जीवनको नौलो अनुभव गरेको बताउँदै थिए।
नेपालको पूर्वतिर चलेको एउटा रमाईलो ठट्टा सुन्दाउँदै थिए मोहन मैनाली–
तेर्सोबाटो हिड्न लौरो चाहिंदैन
धानको भातलाई तरकारी चाहिंदैन ।
यो भनाईले पुष्टि गर्छ कि लग्धुवाको झिनुवाको भात कति स्वादिष्ट रहेछ । भात भएपछि न तरकारी न चट्नी,अचार ! कति मिठो हुँदोरहेछ । आफै अनुमान लगाऔं । लग्धुवा मै जन्मिएर तिलोत्तमा मावि,झुम्सामा पढाउँदै आएका शिव पाण्डेयले आफ्नो गीतमा झिनुवा र आलुका बारेमा यस्तो लेखेको कतै भेटेको थिएँ ।
लग्धुवाको आलु,झिनुवा चामल अन्त पाइँदैन
आलुको झोलै मीठो दाल,चट्नी केही चाँहिदैन ।
मानापाथीमा भरेर बेचिने त्यहाँको साना खाले आलुको झोल(रसै) मीठो । सिलौटामा थिचेर,मासु जस्तै परपर्ति भुटेर, कराहीमा कर्णाली बगाउने र त्यही कराहीको कर्णाली सुरुप्प सुरुप्प खाँदाको बयान यी शब्दहरुमा होइन चाखेपछि थाहा हुन्छ । अचेल बजारमा पाथीको एकसय ५० रुपैयाँमा बेच्ने गरेको स्थानीय कृषिकर्मी नारायणी पाण्डेयले भन्दै थिइन् ।
वडाध्यक्षलाई मैले सोधेको थिएँ–त्यहाँको झिनुवा र आलुलाई बीऊका रुपमा बेच्न सक्ने भने अन्त कतै बीऊ हस्तान्तरण हुन्थ्यो र मूल्य धेरै पथ्र्यो कि ? उनले भने– कोल्ड स्टोरमा सुरक्षित तरिकाले राख्न सक्ने हो भने लग्धुवाका बासिन्दाहरुले धेरै नै आम्दानी गर्न सक्थे । गतवर्ष मात्र उनको वडापालिकाले लग्धुवालाई आलु पकेट क्षेत्र बनाउन कृषकहरुलाई आर्थिक, प्राविधिक सहयोग गरेको र करिव पाँच लाखको त आलुमात्र कृषकहरुले बेचेको खबर सुनाउँदै गर्दा उनका श्वरमा खुसी मिसिएका थिए ।
८/९ वर्ष अघि लग्धुवाको झिनुवा धान पाल्पा माडीफाँटमा लगाउन पुगेछन् कुलचन्द्र पुरीले । अरु धानभन्दा फरक अर्थात् रातै झुलेका धानका बाला देखेपछि स्थानीयहरुले सोधे छन् कुन धान हो ,हेर्दै रहर लाग्दो छ नि ? कुलचन्द्रले ठट्टा पारामा भनेछन्–लौकू धान । अर्थात् लौधुवाबाट कुलचन्द्रले ल्याएको धान भएकाले लौकू धान पो नामाकरण भएछ । कुलचन्द्र पुरी फिल्मी हाँस्य कलाकार भएको कारण नाम पनि फिल्मी पाराले पो चलेछ । अचेल माडीफाँटतिर लौकू धान भनेकै लग्धुवाको झिनुवा धान हो भनेर चिन्दछन् । धानले स्थान परिचय दियो ।
लग्धुवा गाउँ, खासमा तत्कालीन राणा शासकहरुले त्यहाँका लुँइटेलहरुलाई बिर्ता स्वरुप दिएको थलो मानिन्छ । त्यहाँ प्रशस्तै अन्न उब्जनी हुने भएको हुँदा पहिला पहिला रानीबास,मरेकमा चलेका होटलहरुलाई खाद्यान्न र तरकारी, दूध पु¥याउने काम सोही गाउँका बासिन्दाहरुले गर्थे भनेर सम्बत् २००१ सालको असार १५ गते मरेकमा जन्मि, हुर्की अहिले भूताहा नवलपरासी सरेका ताराप्रसाद श्रेष्ठले बताउँदै थिए । मस्याम, अर्खले ,कराङतुङ्ग, रिब्दिकोटका बासिन्दाहरु समेत अन्न किन्न लग्घुवा आउने गरेको थाहा पाइन्छ ।
लग्धुवाको फाँट हेर्दा अनौठो छाँट आउँछ । चारैदिशा हेर्दा रमाईलो लाग्छ । उत्तरतिर मरामकोट र जन्तीलुङ्गको डाँडो देखिन्छन् । पूर्वतिर लगाढ गाउँ,सत्यवती बजैको थलो । दक्षिणतिर गड्डा र ज्यामिरे गाउँहरु देखिन्छन् । सोही स्थानमा जन्मिएर इन्जिनियर पढेका ओमप्रकाश पाण्डेले लग्घुवालाई चारैदिशाबाट घेर्ने गरी रिङरोड बनाउने आफ्नो सपना रहेको र निकट भविष्यमै पूरा हुने बताए । उनले थपे त्यसो भएमा लग्धुवा आइल्याण्ड जस्तै हुने छ । अहिले लग्धुवामा नालीसहितको ग्राभेल बाटो पुगेको छ ।
शुद्ध भोजन र आनन्ददायी बसोबास भएरै त होला नि त्यतिबेला मरेक, रानीबासका होटलमा नबसेर केही यात्रुहरु लग्घुवा गाउँमा बास बस्न आइपुग्थे भन्ने कुरा आज पनि स्थानीय पाका पुरानाहरु बताउँछन् । यस गाउँमा रहेका पाण्डेयहरु पाल्पाको सर्देवा र बस्यालहरु पाल्पाकै बराङ्गीबाट सात/आठ पुस्ता अघि आएका हुन् भनेर व्यवसायी बाबुराम पाण्डेले भन्दै थिए ।
लग्धुवामाथि रहेको मरेकमा जुद्ध सम्शेरले आउँदा जाँदा बस्ने गरी बनाएको अस्थायी खाले दरबार थियो । त्यही स्थानमा प्रारम्भमा गुरुकुल सञ्चालन भयो । बडहरे गाउँका छविलाल घिमिरे लगायतका गुरुहरुले त्यहाँको शिक्षामा सहयोग गरेको थाहा हुन आउँछ । २०१४ सालमा सरस्वती प्राविले औपचारिक सरकारी अनुमति पाएपछि स्कूले शिक्षा सुरु भयो । स्कूल सञ्चाललमा तत्कालीन समाजसेवीहरु मुक्ति पाण्डेय, रविलाल बस्याल,दीनानाथ पाण्डेय,साविक दोभान गाउँ पञ्चायतका प्रधानपञ्च गाहा बाजे लगायतका शिक्षाप्रेमीहरुको विशेष पहल रहेको थाहा हुन आउँछ । सरस्वती आधारभूत विद्यालयमा तीनजना शिक्षक छन् । यो विद्यालय तिनाउ गाउँपालिकाको सबैभन्दा पुरनो र शैक्षिक उन्ननयनमा योगदान दिने विशिष्ट स्कूल समेत हो । अहिले त्यहाँ चार हात पाउका औंलामा गन्न सकिने विद्यार्थी छन् । लामो समयसम्म त्यही पढेर त्यही हेडमास्टरी गरे ओम सरले । अहिले त्यही स्कूलका प्रोडक्ट लक्ष्मण पाण्डेय हेडमास्टर छन् । उनीभन्दा अघि हरिप्रसाद घिमिरे, उमापति, गुनाकर, हरिप्रसाद पाण्डेय लगायतका हेडमास्टरले योगदान पुराएका थिए ।
चौकी भञ्ज्याङ्गमा नै थियो मरेक । तत्कालीन दोभान गाउँ पञ्चायतको वडा नं. १ देखि ४ सम्मको जक्सन थियो । सिद्धार्थ लोकमार्ग बनेपछि यो गाउँ पहिलाको जस्तो हुन सकेको छैन । नजिकै सिस्नेखोला बग्छ । खोलाबाट गौतमबुद्ध हाइड्रो प्रोजेक्ट चलेको छ । गाउँमा सिंचाई सुविधा छ । सिस्नेखोलामा पाइने असला माछा कहाँ हराए होलान् चिन्ता यहाँ पो छ । असला नेपाली रैथाने माछा हो । यो माछा अतिनै स्वादिलो हुन्छ । यसमा काँडा कम हुने भएकोले खान मज्जा आउँछ । यो कुरा मैले पोखरामा पुगेपछि लेखबहादुर गुरुङबाट थाहा पाएँ । उनी पेसाले इन्जिनियर हुन् । उनले आफ्नो एमईको थेसीस सिस्नेखोलाका बारेमा गरेका रहेछन् । असला माछाको ब्रिडिङ्ग र ब्राण्डिङ्ग गर्न सकेको भए असला माछा कहाँ गए भनेर आज यही अक्षरहरु लेख्नुपर्ने थिएनन् ।
लग्घुवाको शीरमा गिजिन्टार गाउँ छ । कुरौनी बाजेको गाउँ भनेर सबैले चिन्छन् । अचेल त्यहाँ ठूलो रिसोर्ट चलाउने भनेर बुटवलतिरका धनाढ्यहरु पुगेका छन् । करिव एकसय २० रोपनी जग्गा किनेका छन् । ध्यान केन्द्र बनाउने,पशुपालन गर्ने र अर्गानिक तरकारी खेती गरेर आएका गेष्टहरुलाई त्यहीको उत्पादनले पुराउने उनीहरुको लक्ष्य रहेछ । रिसोर्ट सञ्चालक ऋषि भण्डारी भन्दै थिए–यहाँ रिसोर्ट चल्ने हो भने यस क्षेत्रकै मुहार परिवर्तन हुने थियो ।
लग्धुवा गाउँमा हुने झिनुवा धान एक किसिमको रैथाने प्रजाति र परम्परागत जातको धान हो । यसको संरक्षण आवश्यक छ । बारी र खेतमा हुने आलुमा डढुवा रोग लाग्न थालेको छ । बेलैमा रोकथाम जरुरी छ । आलु बेचेर पढ्नेहरुले भविष्यमा आफ्ना गाउँका आलुहरु कितावका पानामा मात्र देख्न नपरोस् भनेर चिन्ता गर्दैछन् । स्थानीय युवा क्लव, आमा समूह, सामुदायिक वनहरुले गाउँको मुहार फेर्न कम्मर कसेर लागेका छन् । जनैपूर्णिमा, तीज, दशैं, तिहार लगायतका पर्वहरु मनाउने स्थानीयहरुले तिलोत्तमा भजन मण्डली बनाएर बेलामौकामा गाउँमा र गाउँबाहिर समेत भजनकीर्तन गर्न पुग्छन् । आफ्नो सांस्कृतिक संस्कार, परम्परामा तल्लीन गाउँलेहरु सुखी छन् । खुसी छन् । गाउँमा आफ्नै उत्पादनले खान नपुग्ने कोही छैनन् बरु अन्न र तरकारी बेचेर आत्मनिर्भर भएका छन् । पशुपालनमा जोड दिएका छन् । विदेश जाने रहरलाई गाउँकै माटोमा मिसाएका छन् । पसिना रोपेर पैसा फलाएका छन् । श्रम गर्ने संस्कारले समृद्धि ल्याएका छन् ।
प्रतिक्रिया