ताजा अपडेट »

घुससहित वन अधिकृत पक्राउ

शुक्रबार, १५ चैत्र २०७५

किशोर बुढाथोकी

चैत १५,

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरस्थित डिभिजन वन कार्यालय मोरङबाट सहायक वन अधिकृतलाई ३५ हजार रुपैयाँ घूससहित शुक्रबार पक्राउ गरेको छ ।

सब–डिभिजन वन कार्यालय लाटीझोडामा कार्यरत सहायक वन अधिकृत सलाउदिन अन्सारीलाई सेवाग्राहीबाट घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रवक्ता नरेन्द्र भट्राईले जानकारी दिए ।

अन्सारीलाई डीएसपी डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले पक्राउ गरेको हो । भट्राईका अनुसार सामुदायिक वन उपभोक्ता समितिलाई वन पैदावार उपलब्ध गराउन सिफारिस गरिदिने सर्तमा सहायक वन अधिकृतले घुस मागेको खुलेको छ ।

सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं जानकारीका आधारमा रंगेहात पक्राउ परेका अन्सारीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।