ताजा अपडेट »

पाइप राखिएको स्थल बन्यो ‘सेल्फी स्पट’ र ‘टिकटक जोन’

मंगलबार, २३ भदौ २०७७

बुटवल । केहिदिन यता सामाजिक सञ्जालमा पाइपलाई दृश्यमा राखेर खिचिएका तस्विरहरु देखिन थालेका छन् । नेपथ्यमा पाइप राखेर खिचिएका तस्विर पोष्ट गर्नेहरुको संख्यासँगै कहाँ होला, भनी जिज्ञासा राख्नेहरु र सोही स्थानमा जान चाहानेहरु पनि धेरै भएको पाइन्छ । वरीपरी हरियाली बीचमा कैंयौं पाइपहरु र ती पाइपमा लिइएका आकर्षक तस्विरहरु यतिबेला फेसबुक लगाएतका सामाजिक सञ्जालहरुमा देखिएका छन् ।

विभिन्न उमेरका युुवा–युवतीहरुसँगै विभिन्न पेशामा आवद्धहरु पनि सो स्थानमा गई तस्विर लिएको पाइन्छ ।बुटवल –७ स्थित शिवनगर सामुदायिक वनमा राखिएका पाइप अहिले तस्विर खिचाउने र भिडियो बनाउनेहरुका लागि आकर्षक स्थल बनेको छ । पूर्वी बुटवलको शिवनगर सामुदायिक वन भित्र रहेका पाइप हालै राखिएको भने होइन । करिब ४ वर्षदेखि ती पाइप सो स्थानमा राखिएपनि अहिले भने फोटो खिच्न र भिडियो बनाउन आउनेहरुको संख्या बढ्दो रहेको छ ।

कोरोना कहरसँगै स्थानीय स्तरमा रहेका आकर्षक स्थानहरु पायक पर्ने र सहज हुने हुँदा अहिले बुटवलबासीका लागि सो स्थान निकै महत्वपूर्ण बनेको छ ।लकडाउनमा फ्रेस हुने गतिलो माध्यम बनेको छ पाइप रहेको सो स्थान । चर्चित कलाकार, पत्रकार, बैंकर्स, उद्योगी/व्यवसायीहरु पनि सो स्थानमा पुगिसेका छन् । त्यसैगरी टिकटक स्टारहरु पनि सो स्थानमा गई टिकटक बनाएपछि त्यहाँ जानेहरुको संख्या दिनानुदिन बढेको स्थानीय बताउँछन् ।हाल ‘सेल्फी स्पट’ र ‘टिकटक जोन’ का रुपमा परिचित उक्त स्थल लामो लकडाउनमा बुटवलमै रहन बाध्य हुनेहरुको लागि नौलो आकर्षण बनेको छ ।

दिनानुदिन सो स्थानमा गई खिचिएका तस्विर र भिडियो सार्वजनिक भएपछि ती पाइप केका लागि राखिएको भन्ने विषयमा पनि जिज्ञासा उठेको छ । तीन वर्ष अगाडि खानेपानी संस्थानको आग्रहमा केहि समयको लागि पाइप राख्न दिएको बताउँदै हालसम्म पनि त्यहाँबाट पाइप नहटाइएको शिवनगर सामुदायिक वन समूहका अध्यक्ष नारायण बहादुर घिमिरेले बताए । ‘ खानेपानी संस्थाको आग्रहमा ६/७ महिनाको लागि राख्न दिइएको हो । तर, निरन्तर रुपमा हटाउन आग्रह गर्दा पनि संस्थानले हटाएका छैन ।’ उनले भने ।