ताजा अपडेट »

बुटवलका सडक सहयोगापेक्षीहरुको पिसिआर परीक्षण

मंगलबार, २३ भदौ २०७७

बुटवल । बुटवल उपमहानगरपालिकाले सडकमा रात बिताउन बाध्य बेसाहरा सहयोगापेक्षीहरुको उद्धार गरि निःशुल्क पिसिआर परीक्षण थालेको छ । बुटवललाई सडकमानवमुक्त घोषणा गरिसकिएको छ । घोषणा गरेयता सडकमा फेला पर्ने कुनै पनि बेसहारा तथा सहयोगापेक्षीलाई तत्काल उद्धार गरिंदै आएको उपमहानगरले बताएको छ ।

आफन्त विहिन भएर सडकमा बेबारिसे जीवन बिताएका बेसाहराहरुलाई कोरोना संक्रमण हुनसक्ने र उनीहरुको जीवन रक्षा गर्ने उद्देश्यले पिसिआर परीक्षण शुरु गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ जना बेसाहराहरुको उद्धार गरि बुटवल स्थित मानव सेवा आश्रममा राखिएको उनले बताए । यसमध्ये आठ जनाको पिसिआर परीक्षण गरिएको छ । उनीहरूको रिपोर्ट आइसकेको छैन । उनीहरुलाई अलग्गै राख्ने व्यवस्था मिलाइएको छ ।

प्रमुख सुवेदीका अनुसार बुटवल भित्र कोही पनि अशक्त र रोगीहरु कोरोनाको जोखिममा नपरुन भन्ने उद्देश्यले सडकमा बेसाहरा भएकाहरुको उद्धार र पिसिआर परीक्षण गरिएको हो । बुटवल उपमहानगरले सहयोगापेक्षीहरुको उद्धार र व्यवस्थापनमा सहयोग गरेको मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक सरु अधिकारीले जानकारी दिइन् । बुटवल क्षेत्रबाट मात्रै लकडाउनको अवधिमा २८ जनाको उद्धार हुँदा प्रदेश ५ भरि ४५ जनाको उद्धार गरिएको छ । बुटवल उपमहानगरले कोरोना महामारीबाट नागरिक बचाउने गरि पिसिआर परीक्षणलाई फराकिलो बनाएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । लैंगिकहिंसामुक्त नगरको कार्ययोजना अनुरुपका पनि काम भइरहेको उनले बताइन् ।

उपमहानगरले यसअघि नै मृगौलाको डायलासिस गराउनुपर्ने र क्यान्सर रोगीहरुको निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गरेको छ । अर्को नमूना कामका रुपमा उपमहानगरले सडक आश्रित सहयोगापेक्षिहरुको निःशुल्क पिसिआर परीक्षण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

तस्विर : अमृत गिरी