ताजा अपडेट »

चीनको घरेलु मामिलामा हस्तक्षेप रोक्न अमेरिकालाई आग्रह

शुक्रबार, १५ चैत्र २०७५

चैत १५,

पेइचिङ । चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ शुयाङले चीनको सिन्च्याङ नीतिलाई लिएर संरा अमेरिकाले लगाएको पछिल्लो आरोप र हमलाप्रति खेद व्यक्त गरेका छन् । चीनले सिन्च्याङसम्बन्धी मामिलालाई लिएर चीनको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्न पनि संरा अमेरिकासित आग्रह गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले केही दिनअघि संरा अमेरिकामा शरण लिइरहेको तथाकथित स्वतन्त्र सिन्च्याङका प्रतिनिधिहरूसित भेट्नुका साथै सिन्च्याङमा चीनले मानव अधिकार हनन गरिरहेको आरोप ट्विट गरेका थिए । नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता शुयाङले बिहीबार त्यसको कडा खण्डन गरे ।

चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ –“सिन्च्याङको मामिला चीनको घरेलु मामिला हो । चीनको उत्तर पश्चिमी क्षेत्रमा अवस्थित सिन्च्याङ उग्युर स्वशासित क्षेत्रको स्थिति समग्रमा स्थिर छ । त्यहाँ आर्थिक विकासले गति लिएको छ, विभिन्न जातीय समुदायका मानिस मिलेर बसिरहेका छन् र जनताले त्यहाँको सुरक्षा व्यवस्था सदृढ भएकोमा सुरक्षित महसुस गरेका छन् र सामाजिक स्थिरता र विकासप्रति सन्तुष्ट छन् ।

नियोजित झूटका आधारमा संरा अमेरिकी पक्षले चीनको सिन्च्याङ नीतिलाई लिएर अनपेक्षित आरोप लगाउने गरेको छ, जसलाई चीन सरकारले कहिल्यै स्वीकार गर्नेछैन ।”
प्रवक्ता शुयाङले अमेरिकी विदेशमन्त्रीको कदमले चिनियाँ पक्ष अत्यन्त असन्तुष्ट भएको र अमेरिकी कदम र प्रतिक्रियाप्रति कडा विरोध जनाउँछ भन्दै अमेरिकी पक्षलाई त्यसबारे अगाडि नै जानकारी गराइसकेको बताए ।

“सिन्च्याङमा आतङ्कवाद र अतिवादको रोकथामको लागि चीन सरकारले व्यवसायिक र शैक्षिक तालिम केन्द्रहरू स्थापना सञ्चालन गरिरहेको र त्यस कार्यक्रमलाई त्यहाँका सबै जातीय समूहहरूले उत्तिकै साथ र समर्थन दिएका छन् । त्यसको सुन्दर परिणाम पनि हासिल भइरहेको छ ।” शुयाङले भने ।
ती प्रवक्ताले सिन्च्याङका व्यवसायिक र शैक्षिक तालिम केन्द्रहरू संरा अमेरिका र पश्चिमाहरूले दाबी गरेजस्तो कुनै ‘पुनर्शिक्षा क्याम्प’ (यातना गृह) नभएको र कसैलाई बन्दी बनाएर पनि नराखिएको प्रस्ट पारे ।

शुयाङले अमेरिकी पक्षसित पूर्वाग्रह त्यागेर तथ्यलाई आत्मसात गर्न र चीनको सार्वभौमसत्ता र स्वाभिमानप्रति चोट पुग्ने शब्द र व्यवहारमा सजगता अपनाउन तथा चीन र संरा अमेरिकाबीच आपसी विश्वास र सहयोग अभिवृद्धि गर्ने व्यवहारिक कार्यमा जोड दिन पनि आग्रह गरे । -सिन्ह्वा