ताजा अपडेट »

बजार नपाउँदा खेतमै कुहिन थाल्यो केरा, कृषक मर्कामा

सोमबार, २२ भदौ २०७७

परासी । बजारसम्म पुर्याउन नपाउँदा तयारी अवस्थामा रहेका केरा खेतमै कुहिन थालेपछि नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) का कृषकहरु मर्कामा परेका छन् । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा भने बजारसम्म पुग्न नसक्दा खेतमै कुहिन थालेको हो ।

कोभिड १९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन् । स्थानीय स्तरमा उत्पादन भएका केराले बजार पाउन छोडेपछि यहाँका कृषकहरु निराश छन् । नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा रहेको र निर्वाध रुपमा सवारीसाधन सञ्चालन हुन नपाउँदा यहाँका कृषकले उत्पादन गरेको केरा बजारसम्म सहज रुपमा ढुवानी तथा विक्री वितरण हुन नपाएको नवलपरासी केरा उत्पादक सङ्घका अध्यक्ष लख्खु यादवले बताउनुभयो । विक्रीका लागि तयारी अवस्थामा रहेको केराले बजार पाउन नसकेपछि खेतमै पाकेर कुहिन थालेको उनले बताए ।

पछिल्लो समय जिल्लामा केराको उत्पादन बढ्दो अवस्थामा रहेको छ । सङ्घका अनुसार जिल्लामा वार्षिक रु दुई अर्ब बरावरको केरा उत्पादन हुने गरेको छ । नेपालका विभिन्न मूख्य शहरमा यहाँबाट केरा जाने गरेपनि निषेधाज्ञाका कारण केराको ढुवानी र ओसारपसारमा असहजता पैदा भएको उनले बताए । सङ्घका अनुसार पश्चिम नवलपरासीमा दुई हजार ५०० विघा क्षेत्रफलमा केरा खेती हुने गरेको छ भने दुई हजार बढी कृषक व्यवसायिक केरा खेतीमा संलग्न छन् । यहाँ उत्पादन भएको केरा स्थानीय बजारसहित पोखरा, काठमाडौँ, नारायणगढ, धादिङ्, बुटवल लगायतका मूख्य शहरहरुमा पुग्ने गरेको छ ।

उखुको विकल्पमा केरा खेतीतर्फ आकर्षित भएका कृषकहरु लामो समयको बन्दाबन्दीका कारण केरा विक्री हुन छाडेपछि चिन्तामा परेका हुन् । समयमा केराको बजार व्यवस्थापन हुन नसके अहिले तयारी अवस्थामा रहेको दुई अर्ब बरावरको केरा नष्ट हुने सङ्घको दाबी छ । जिल्लामै सबैभन्दा धेरै केरा उत्पादन गर्दै आउनुभएका सुस्ता गाउँपालिका-५ का कृषक सञ्जय कोंहारले आफ्नो खेतमा पोकर कुहिन लागेको केरा देखाउँदै भने, ‘केरा विक्री गर्न नपाउँदा खेतमै पाकेको छ, कहाँ लगेर विक्री गरौँ, धेरै चिन्ता लागेको छ, कोरोना महामारीका कारण यसवर्ष मेरो रु ५० लाखको केरा नोक्सान हुने अवस्थामा छ, बजारको व्यवस्थापन गरीदिन अनुरोध छ ।’

उनले २१ विघा क्षेत्रफलमा केरा खेती गरेका छन् । वार्षिक २१ लाख रुपैँयामा जग्गा लिजमा लिएर व्यवसायिक रुपमा केरा खेती गरेका कोंहारको खेतमा ४५ हजार केराका बोट रहेका छन् । केराखेतीबाट कृषक कोंहारले वार्षिक ४५ लाख रुपैँयासम्म नाफा हुने गरेको बताए । तर यस वर्ष लागत उठाउन पनि मुस्किल परेको उनको भनाई छ । बजारको व्यवस्थापन समयमै र सहज रुपमा हुन सके केरा खेतीबाट लगानीको झण्डै दोब्बर आम्दानी हुने गरेको कृषकहरु बताउँछन् । बजारसम्म सहज रुपमा केरा पुग्न नसक्दा कृषकले केराको उचित मूल्य पाउन सकेका छैनन् । थोकमा प्रति दर्जन रु ४५ मा विक्री हुने गरेको केराको मूल्य घटेर अहिले रु ३० मा पुगेको उनले बताए ।

प्रतापपुर गाउँपालिका-६ का कृषक छविलाल हरिजनले विक्रीका लागि तयार भएको केरा खेतमै कुहिन थालेको बताउँदै लागत उठाउन पनि गाह्रो भएको गुनासो गरे । केराको उचित मूल्य पाउने वातावरण बनाईदिन उनले सरकारसँग माग गरेका छन् । दुई वर्षदेखि केराखेती थाल्नुभएका हरिजनले दुई विघा बढीमा केराखेती गरेका छन् । जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिका उखुको पकेट क्षेत्रको रुपमा परिचित रहेपनि लामो समयसम्म भुक्तानी नपाउने समस्या भोगेका यहाँका कृषकले उखुको विकल्पमा नगदे वालीकै रुपमा केराखेती गरेका हुन् । तर पछिल्लो पटकको विषय परिस्थितिले यो खेती पनि धरासायी हुने अवस्थामा पुगेको सङ्घका वरिष्ठ उपाध्यक्ष सुदानाको भनाई छ ।

‘हाम्रो केराले बजार पाउन भारतबाट आयात हुने केरा रोक्नुपर्छ या त नेपालको केरा सकिएपछि मात्र आयात गर्ने व्यवस्था गर्नुपर्छ, एक त समयमा मल नपाएर हामी कृषक प्रताडित छौँ, भारतमा मल सस्तो पर्ने तर हामी कहाँ महङ्गो पर्न जाँदा हाम्रो उत्पादन लागत बढी हुन्छ, हामीले भारतबाट आउने केरासँग प्रतिस्पर्धा गर्न सक्दैनौँ’, उनले भने । खुला सीमा नै नेपाली कृषकको मूख्य चुनौती रहेको विनयी त्रिवेणी गाउँपालिका-७ का कृषक मदन कुमार कुशवाहा बताए । कोरोना महामारीका कारण विचौलिया हाबी हुँदा केरा कृषकले उचित मूल्य पाउन नसकेको उनको भनाई छ । उनका अनुसार केराको खुद्रा मूल्य नघटेको तर विचौलियाले थोक मूल्य दोब्बर घटाएर कृषकसँग केरा खरिद गर्ने गरेका छन् ।

केरा खेतीलाई दीर्घकालिन रुपमा स्थापित गर्न समयानुकुल केरा नीतिको आवश्यक रहेको कृषकहरु बताउँछन् । कृषकलाई उचित अनुदान, समयमा मलबिउको उपलब्धता गराउने तथा बजार व्यवस्थापनको सुनिश्चितता गर्न सके केराबाट हजारौँ कृषक आत्मनिर्भर हुने सङ्घका अध्यक्ष यादवको भनाई छ ।