झुम्सा बजार नजिकै रहेको ढाप गैह्राबाट पूर्वदिशा कच्ची मोटर बाटो उक्लिए पछि तिलोत्तमा मावि रहेको पलन्धर टोल पुगिन्छ । सोही गाउँ हुँदै सर्लक्कै हिडेपछि बेलदमार गइन्छ । बेरुवाहुँदै फूलबारी गाउँ पुगिन्छ । सो गाउँमा उल्टेकुना,पाँकुरी,टोकलदी नामका टोल बस्तीहरु छन् । गाउँमा फूलबारी सामुदायिक वन उपभोक्ता समूह र फूलबारी युवा क्लव सक्रिय छन् । गाउँमा दालचिनी सहकारी संस्था रहेको छ । यस्तो खाले सहकारी सम्भवत यो पहिलो होला । यसको आफ्नै भवन र भौतिक सुविधा छ । वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा डिभिजन वन कार्यालय,पाल्पा र सामुदायिक वन समन्वय समिति, दोभानको संयोजनमा स्थानीयहरुले सो सहकारीको गठन र भवन निर्माण सम्पन्न गरेका हुन् ।
गाउँमा ३८ घरधूरी छन् । ९ घरधूरी दलितजातिको, ८ घरधूरीमा ब्राह्मण क्षेत्री र बाँकी सबै मगरजातिको बसोबास रहेको छ । पुगनपुग दुईसय जनसंख्या रहेको छ । जीतबहादुर क्षेत्री,बलबहादुर सुत्पराई र गुरुप्रसाद चालिसे जस्ता अगुवा किसानहरुले वर्षेनी लाखौं रुपैयाँका दालचिनी बेच्छन् । ३०/४० हजार रुपैयाँका दालचिनी नबेच्ने त को पो होलान् र गाउँमा । धान,मकै,कोदो,गहुँ खेती हुन्छन् । सिंचाईको सुविधा पाइपबाट प्रवन्ध मिलाइएको छ । अन्न उत्पादन गरेर वर्षदिन खान कमैलाई पुग्छ । व्यवसायिक तरकारीतिर ध्यान दिन थालेका छन् । बाख्रापालनमा जोड दिएका छन् । लोकल कुखुरा पालन गरेर घर खर्च गुजारेका छन् । आदर्श आधारभूत विद्यालय रहेको गाउँ ज्यामिरे हो । बजादी, पार्दी, भत्रबास, बेसारेघाट टोलको एकीकृत रुप नै ज्यामिरे हो । यहाँ करिव पौने दुईसय विद्यार्थी पढ्दै आएका छन् । सम्वत् २०२८ सालमा स्थापना भएको सो विद्यालयमा स्थानीय नमबहादुर तरामी मगर प्रधानाध्यापक छन् । घिमिरे थरका एक घर,१० घर दलित जाति र ३२ घरधूरी मगर जातिको बसोबास रहेको ज्यामिरे गाउँमा ज्यामिरे युवा क्लव,ज्यामिरे सामुदायिक वन उपभोक्ता समूह र स्थानीय आमा समूह सक्रिय रुपमा समुदायको विकासका निम्ति अग्रभागमा खटिएका छन् ।
गाउँमा युवाहरुले व्यवसायिक रुपमा ब्रोइलर कुखुरापालन थालेका छन् । रेश्मी थरका बाख्रापालकले बाख्रा बेचेरमात्र वर्षमा लाख बढी आम्दानी गर्दै आएका छन् । गाउँमै उनी जस्तै बाख्रापालक ६/७ जना छन् । मकै, कोदो, धान, गहुँ खेती गर्ने किसानहरुले आफ्नो उत्पादनबाट पौने वर्ष आफूहरुलाई नै धानेका छन् । दालचिनी उत्पादन हुन्छ । सिंचाईको खासै व्यवस्था हुन सकेको छैन । तैपनि तीनै खेती भने हुन्छ । स्थानीयहरुले गाउँमा अदुवा, पिंडालु, तामा र कुरिलो खेतीले गरेका छन् ।
ज्यामिरे गाउँ उक्लिएपछि देउराली गाउँ पुगिन्छ । दानसिङ्ग कोट,पखरडाँडा,झिन्टुङ्ग टोलहरुको समष्टि रुप नै देउराली गाउँ हो । यो गाउँमा शिक्षाका लागि नवज्योति बालविकास केन्द्र रहेको छ । जहाँ सहयोगी कार्यकर्ताका रुपमा देउकला छिन् । यो गाउँबाट स्नातकोत्तर गर्ने एकजना,स्नातक गर्ने एकजना,इन्टर गर्नेको संख्या दुई र एसएलसीमात्र पास गरेका सातजना छन् । देउराली गाउँमा सिंचाईको प्रवन्ध हुन सकेको छैन। तैपनि तीनै खेती हुने गर्छ । गाउँमा मकै, धान, कोदो फल्छन् । तीन÷चार घरहरु भूमिहीन छन् । उनीहरु खोरियातिर बसेका छन् । झुम्सा खोला लघु–जलविद्युत तेस्रोबाट गाउँमा बिजुली बलेको छ । यस वर्षको बाढी र पहिरोको कारण विद्युत गृहमा क्षति पुगेको छ ।
देउराली गाउँको विकासका लागि देउराली युवा क्लव रहेको छ । यसका संस्थापक अध्यक्ष मीनबहादुर थापाले ३० वर्षको उमेरमै सडक दुर्घटनामा परेर २०७३ को माघ २४ गते ज्यान गुमाउनु परेको थियो । मृत्यु हुँदा उनी ज्यामिरे गाउँमा रहेको आदर्श आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष थिए । उनीसँगै प्रेम राना, जसबीर बाकाबल,हरिप्रसाद राना,यमबहादुर राना, लालबहादुर नेपाली र दानबहादुर सारुको ज्यान गएको थियो ।
उनीहरु देउरालीका उज्याला तारा थिए । उनीहरुकै नाममा क्लबले स्मृति प्रतीक्षा बनाएको छ । श्रीडाँडा गाउँमा पञ्चेबाजा बजाएर फर्किने बेला जीप दुर्घटना भई ज्यान गएको हृदयविदारक घटना स्थानीयहरुको मनमस्तिष्कमा आज पनि ताजै छ । सोही जीपमा घाइते हुनेहरु भीमबहादुर दर्लामी, बलबहादुर दर्लामी, प्रकाश नेपाली, कमल ढकाल, तिलबहादुर बाकाबल,युवराज दर्लामी, कृष्णबहादुर थापा, प्रेम श्रीस, हेङ्लेस क्षेत्री, लुद्र बराइ, हरिबहादुर दर्लामी, राजकुमार परियार र गोविन्द विक उक्त दुर्घटना सम्झेर तर्सिन्छन् ।
देउराली युवा क्लवको दोस्रो अध्यक्षका रुपमा (त्रिभुव विश्वविद्यालय,केन्द्रीय क्याम्पसबाट विज्ञान विषयमा स्नातकोत्तर गरेका ) निश्चल क्षेत्री रहेका थिए । उच्च शिक्षा अध्ययन र कामको खोजीमा अहिले उनी जापान पुगेका छन् । अहिले कमल थापाले क्लवको अध्यक्ष पद सम्हालेका छन् । गाउँमा स–साना कुटे पसलहरु छन् । गाउँलेहरुले माथागढी देवीको थापना गरेका छन् ।
देउराली गाउँमा १३ घर रैथाने बाहेक ३५ घर गुल्मी र बाग्लुङ्गबाट २०४० तिर बसाइँ सरेर आएका हुन् भन्दै थिए स्थानीय देउराली सामुदायिक वन उपभोक्ता समूहका सचिव जगबहादुर क्षेत्री । उनको गाउँमा बाहुन,क्षेत्री ८ घर,मगर ३६ घरधूरीमा र ४ घरमा दलित जातिको बसोबास रहेको पाइन्छ । पौने तीनसय हाराहारी जनसंख्या रहेको छ ।
गाउँसम्म पुग्ने कच्ची मोटर बाटोको सुविधा छ । प्रदेश सरकारले रुपन्देहीको देवदह नपाको चरङ्गे, मुढाबास हुँदै ज्यामिरेको चौकी भञ्ज्याङ्गसम्म फाष्ट ट्रयाक खोलिसकेको छ । यो बाटो यस क्षेत्रका लागि लाइफ लाइनका रुपमा रहेको पाइन्छ । सिद्धबाबाको वैकल्पिक मार्गको रुपमा रहेको यो बाटोले स्थानीयहरुलाई धेरै राहत दिन सक्ने छ ।
माथि उल्लेखित तीनवटै गाउँमा प्रचुरमात्रामा कोदो खेती हुन्छ स्थानीय सरकारले कोदोको पकेट क्षेत्र घोषणा र आवश्यक सहयोग गर्न सकेमा उत्तम हुने देखिन्छ । कोदोबाट मनग्य आम्दानी गर्न सकिन्छ । कोदोबाट रक्सीमात्र होइन अनेक परिकार बनाउन सकिन्छ । कोदोको पाउरोटी र बेकरी आइटम उत्तम हुने गर्छ । त्यसका साथै कोदोको रोटी, ढिंडो लाभदायक हुने गर्छ । ढिंडो खानेको कहाँ बुद्धि हुने गर्छ र भन्ने चलन पुरानो भइसक्यो । चेतना र समय, परिस्थितिले ढिंडोलाई बिंडो थाम्ने खाद्यबस्तुका रुपमा परिभाषित गरिसकेको छ । ढिंडो फेसन र फमाईसको खाना बनिसकेको छ । सरदर वर्षेनी नेपालमा ५० करोड बढी रुपैयाँको कोदो भित्रिन्छ भन्ने तथ्याङ्क सुन्दा तपाइँलाई विश्वास लाग्छ ? जापान र ईजरायलले हप्तामा दुई चार छाक सबैका घरमा कोदोको रोटी र ढिंडो खानुपर्ने नियम बनाएको छ ।
नगदेबालीका रुपमा अदुवा, बेसार, केरा छँदैछ । ज्यामिरे र देउराली गाउँ उँचो स्थानमा रहेका गाउँहरु हुन् । शित्तल हावापानी छ । त्यहाँबाट हिमाल, पहाड तथा तराईका भू–भागहरु सजिलै देख्न पाइन्छन् । ज्यामिरे गाउँमा धङधङे नामको एउटा पुरानो गुफा छ । वडाको बजेटले सो गुफासम्म पुग्ने बाटो खनिएको र गुफालाई सफा गर्ने काम आफूहरुले गरेको बताउँदै थिए स्थानीय समाजसेवी दुर्गबहादुर थापा । ती गाउँहरुमा सांस्कृतिक सम्पदाहरु छन् । कृषिका लागि कर्मशील हातहरु छन् । जाँगर र जोश भएका गाउँलेहरु छन् । बेलामौकामा झ्याउँरे र ठूलो नाच नाच्छन् । युवाहरुले पञ्चेबाजा बजाउँछन् । दशै, तिहार, तीज, होलीपूर्णिमा, श्रीपञ्चमी जस्ता पर्वहरु मान्ने गाउँलेहरुले मौका संजोगमा सांस्कृतिक कार्यक्रमहरु समेत गर्छन् ।
स्थानीय सामुदायिक वन उपभोक्ता समूहहरुमा बाँदर, चितुवा, स्याल, खरायो, दुम्सी, मृग, घोरल जस्ता जनावर र लुइँचे, जुरेली, ढुकुर चराहरु पाइन्छन् । गाउँमा एउटा स्वास्थ्य एकाई केन्द्र रहेको छ । जहाँ सविता रिजालले सेवा दिइरहेकी छिन् । गाउँलेहरुले दालचिनी बेचेर जीवनलाई नयाँ गोरेटोमा लैजान चाहेको स्थानीय समाजसेवी एवम् वडासदस्य पम्फा मगरले बताइन् । यी गाउँहरुमा दालचिनी खरिद बिक्रीका लागि करिव ७ वटा काँटाहरु स्थानीयहरुले राखेका छन् । स्थानीयहरुले दालचिनीको नर्सरी निर्माण गर्न सक्ने हो भने आम्दानी बढ्ने सक्ने मगरले बताइन्।
दालचिनीबाट संसारका धेरै देशहरुले रक्सी बनाएको सुन्न सकिन्छ । चिनियाँ प्रविधिबाट बनेको दलाचिनीको रक्सीको मूल्य प्रतिलिटर १६ हजार अमेरिकी डलर पर्ने डा.हरिकृष्ण उपाध्यायले कतै लेखेको भेटेको थिएँ । यो बासन्दार विरुवा समेत भएकोले यसबाट सेन्ट र मसला पनि बनाउन सकिने जानकारहरु बताउँछन् । झुम्सामा यसको तेल निकाल्ने प्लान्ट ल्याइएको थियो ।
ती गाउँहरुका आफ्नै सुख र दुःखका नालीबेलीहरु छन् । समस्या र समाधानका बीच जीवनलाई आफ्नै परिस्थिति अनुसार व्यतित गरेकै छन् । दालचिनीका कारण स्थानीय युवाहरु विदेश खासै धसिएका छैनन् । गाउँमा पसिना र श्रम खर्चिएका छन् । आफ्नै माटोलाई सुगन्धित बनाएका छन् दालचिनी जस्तै । एकपटक घुम्न जाऔं, दालचिनीको गाउँ ।
प्रतिक्रिया