ताजा अपडेट »

स्कूले जीवन सम्झेर ल्याउँदा...

शनिबार, २० भदौ २०७७

मेरो हातेफोनमा खबर आउँदा म सुदुर पश्चिमी सहर धनगढीमा थिएँ । प्रधानाध्यापक चूडामणि सरले भन्दै हुनुहुन्थ्यो –मालिका माविले स्वर्णजयन्ती मनाउँदैछ । सबैको सहयोग जुटाउनुपर्नेछ । स्वर्ण–स्मारिकाको लागि केही लेख्नू । आफू पढेलेखेको स्कूलले गर्न लागेको यति महत्वपूर्ण कामको खबरले मलाई साह्रै खुशी तुल्यायो । मैले केही न केही त गर्नैपर्छ भन्ने लाग्यो । तुरुन्तै भनिदिएँ–हुन्छ सर सकेको गरौंला । जानेको लेखौंला । वाचा गरें ।

अतीतका कुरा लेख्ने अवसर पाउँदा …

सोँचिरहेछु केही त लेख्नै पर्छ तर थाहा छैन के लेख्ने खै ! साहित्यिक विधामा कहिल्यै कलम चलाएको होइन् । जागिरे जीवनमा पेसा अनुसारको वन, वनस्पति, बाघ, गैंडा, वातावरणको बारेमा धेरै लेखें । साहित्य र प्राविधिक कुरा फरक हुन् । आफू लेखक नभएकोले मलाई स्तरीय लेखनको चिन्ता भएन् । मनका कुरालाई शब्दमा पोख्न सके त्यही साहित्य बन्दो हो । फेरि द्विविधामा छ मन ‘ लेखुँ के ! विषयगत कुरा त जतापनि उपलब्ध भई हाल्छन् नै । कथा, कविता, गीत, गजल लेख्न त्यति सारो सीप छैन अनि यात्रा ? यसबारे लेखौं कि जस्तो लागेको हो ।

१५ वर्षे जागिरको दौरानमा घुमे,डुलेका ठाउँहरु नेपालका हिमाली क्षेत्र, अन्नपूर्ण, मनास्लु, धवलागिरी र कर्णालीतिरका लम्वे पदयात्रा वा एसिया र युरोपका केही देशको रोमाञ्चक यात्राहरुको संस्मरण रमाइलै हँदो हो तर त्यो लेखिन । मेरो स्कूलसँग कुनै सम्बन्ध थिएन् । म त्यस्तो कुनै ठूलो मान्छे वा विशेषज्ञ थिएन् । त्यसैले मैले लेख्ने कुनै लेख, आलेख वा विचार दर्शनका कुराको कुनै ओज र उचाई हुँदैन्थ्यो । आखिरमा मैले आफनै विद्यार्थी जीवन, गाउँठाउँ सेराफेरोका झिनामसिना संस्मरणहरु कोट्याउने विचार गरें । जुन कतै भनेका, सुनिएका होलान् तर लेखिएका छैनन् ।

हरेक मान्छेका आफनै भोगाइ बुझाई । अनुभव र अनुभूति हुन्छन् भन्छन् । ५० वर्षको जोवन काट्ने बेलामा स्कूलले निकाल्न लागेको स्मारिकामा आफना अतीतका स्मरण लेख्न पाउनुलाई अवसरका रुपमा सम्झें मैले ।

हजुरबासँगै भैंसी चराउँदा...

स्कूल छाडेको आज २२ वर्ष पूरा भई सकेछ । यसबीचमा छल्दी खोलामा धेरै पानी बगि सकेको छ । मैले स्कूल छाड्ने ताका जन्मेका भाई, बहिनी अहिले कतै स्नातकोत्तर पढ्दै होलान् । मेरा समकालीन साथीहरु बाहेक धेरैले चिन्दैनन् मलाई । मैले पढेको स्कूल, मलाई पढाएका गुरुहरु, मेरा सङ्गीसाथी, मेरो सेराफेरो सबै परिवर्तन भैसके, हुने पनि भए । विद्यार्थीका रुपमा मालिका माविमा १० वर्ष बिताउँदा कति स्मरणीय क्षणहरु आए होलान्, कति बिर्सिए । तैपनि अतीतका धेरै यादहरु मेरो स्मृतिमा अझै ताजै छन् ।

हजुरबासँगै भैंसी चराउन जाँदा चिप्लेटी खेलियो । ढुंगामा धूलेटो कोर्दै कखरा सिकियो । २०३६ सालमा बुवाले मलाई कक्षा १ मा भर्ना गर्न लैजाँदा मानध्वज गुरुले रजिष्टरमा मेरो नाम टिप्दै भन्नु भाथ्यो –गौतमबहादुर पौडेल रोल नं –२ । त्यहीबेलादेखि आरम्भ भो, मेरो अक्षर यात्रा । पहाडको सामान्य परिवार, निरक्षर बाबा आमा, हाम्रो खुशी र पढाईका लागि बुवाले हलो जोत्नु भो । आमाले लेक र बेसी धाउनु भो । दुःख, जिलो गर्दा हात मुख जोर्न पुगेपनि पैसाको खाँचोले सधै पिरोलि रहन्थ्यो । यतिसम्म अभाव हुन्थ्यो कि पाँच रुपैयाँ पर्ने चेलपार्क मसी किन्ने पैसा नभएर पैसा खोज्न बुवा गाउँतिर निस्कनु पर्दा । म धेरैपल्ट ढिला स्कूल पुगेको छु ।

बिहानै खाना खाएर धुलो उडाउँदै हामी बेसीको स्कूल पुग्थ्यौं । स्कुल पुग्दा पेट आधा ओर्लि सकेको हुन्थ्यो । दिउँसोको छुट्टी हुनु अगावै नजिकैको ज्ञानु दाइको चिया पसलबाट चिया नास्ताको मीठो बास्ना नाकैमा ठोक्किने गरी कक्षा कोठासम्मै आइपुग्थ्यो । गोजीमा कहिल्यै कौडी पैसा हुन्थेन् । समस्या भएपछि पढाइलाई क्यास गर्न चाहें । साथीहरुको आग्रहमा म एक घण्टा अगावै स्कुल पुग्थे । होमवर्क सार्न दिन्थें । सट्टामा साथीहरुले खाजा खुवाउँथे ।

लच्केका दलिन र उप्किएका भित्ताहरु …

स्कूलको अवस्था मेरो भन्दा फरक थिएन । अहिलेको जस्तो पक्की व्यवस्थित स्कूल कहाँ हुनु त्यतिबेला ? म सम्झन्छु अहिलेको मूल गेटनेर एल आकारको दुईतले सेतो भवन थियो । टाँढाबाट हेर्दा ठूलाबडाको दरबार जस्तै देखिन्थ्यो त्यो घर तर भित्र ? छाना चुहिएर पानीले पारेका डोब भूईँभरि देखिन्थे । भार थेग्न नसकेर लच्केका दलिन, माटो उप्किएका भित्ताहरु, लेउ लागेको चिसो भूई, भित्तामा झुण्डाइएको थोत्रो कालोपाटी, दुई चारवटा काठको फलेक । बस ! तिनै थिए स्कुलका सम्पत्ति । बेञ्चमा बस्न बिहान छिटो कक्षा पुग्नु पथ्र्यो अन्यथा घरबाट बोकेर लगेका पराले चकटी वा ढुंगामा बस्नु पथ्र्यो । हरिया स्याउलाले कोठा बर्ढादा धुलोको बादलभित्र हामी सबै लपक्कै छोपिन्थ्यौ ।
अग्लो लाँकुरीको बोट…

केही वर्षपछि भने नयाँ भवन बन्यो । हामी त्यसैमा स¥यौं । राम्रा डेस्क बेञ्च थिए बस्नलाई । त्यसका लागि विद्यार्थीले धेरै टाढाबाट चिसा काठ बोकेका थियौं । अहिले सोच्छु ₋श्रम गर्न गुरुहरुले हामीलाई त्यति बेलैदेखि सिकाउनु भएको रहेछ । नयाँ भवन, खेल मैदान बनेपछि विद्यालय हातामा बोटबिरुवा रोपिएका थिए । गतवर्ष म सिमलटारी आउँदा देखेथें₋मैले रोपेको लाकुरीको बोट निकै ठूलो भईसकेको रहेछ । हिजोको उजाड पाखामा खण्डहर जस्तै देखिने बूढो स्कुल आज भव्य र शानदार पूर्वाधारसहितको सुन्दर फूलवारीभित्र मुस्कुराएर बसे जस्तो लाग्यो मलाई ।

त्यतिबेलाको पढाई साह्रै मर्यादित थियो । विचारले कोही कतै भएपनि सतहमा देखिने खालको राजनीति थिएन् । बन्द तथा हड्ताल मलाई थाहा भएन् । देश परदेशका ठूला मान्छे मर्दा शोक मनाएको चाँहि याद छ । फलामे अनुशासनभित्र बसेर पढियो । अहिलेजस्तो कर्तव्य बिर्सने तर अधिकारको मात्र खोजी गर्ने प्रवृति थिएन । २०४६ सालपछि विकास र विकृतिसँगसंगै भित्रियो कि जस्तो लाग्छ । बन्दकोठा जस्तै त्यति बेलाको बन्द समाजमा उज्यालोको लागि झ्याल खोल्दा प्रकाश मात्रै नभएर दुर्गन्धभित्र पस्नु स्वभाविकै थियो । संक्रमणकालमा यस्तै हुन्छ । समयले सब सच्याउँदै लैजाने छ ।

रमाईला कुराहरु …

गर्व गर्न लायक गुरुहरुको टिम थियो । भाषा, साहिय, संस्कृति र इतिहासका जानफकार केशव र स्वः माधव गुरु, विषयवस्तुका पोख्त विनोद, वासु, दुर्गा, चूडामणि र रामचन्द्र सर, सरल स्वभावका धनी थम्मन, मानध्वज र द्रोर्ण सर, कलाका अगुवा चूडामणि घिमिरे एक से एक गुरुहरु मेरो सम्झनामा हुनुहुन्छ । स्टाफ मिटिङ्गको दिन हो क्यार हरेक महिना जसो उहाँहरु रमाईलो गर्नुहुन्थ्यो । ‘केटाकेटीहरु’को छुट्टि भएपछि अबेरसम्म उहाँहरुको ‘ईन्टरटेन्मेन्ट’ चलिरहन्थ्यो । हामी सरहररु नाचेको झ्यालबाट लुकेर हेथ्र्यौ । टीमवर्कको गतिलो माध्यम थियो त्यो । आजकल त्यस्तो हुन्छ कि हुन्न होला कुन्नि !

इष्टकोट लगाएर तम्घास घुमेको...

मेरो पढाइ र पोजिसन राम्रै भएर होला म गुरुहरुको नजरमा संधैं नजिक रहने मौका पाएँ । माया पाएँ । विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप हुन वा जिल्लास्तरमा हुने शैक्षिक, सांस्कृतिक प्रतियोगिताहरु विनोद र चूडामणि सरले जहाँजाँदा पनि मलाईसँंगै लगेर जानुहुन्थ्यो । उहाँहरुको पछि लागेर म धेरै ठाउँ घुमेको छु । दर्जनौैं पुरस्कार र प्रशंसापत्र बटुलेको छु । कक्षा एकदेखि कै मेरा सहपाठी मर्भूङ्गकी यमुना अर्याल र मेरोबीच कक्षामा को प्रथम हुने भन्ने प्रतिस्पर्धा चलिरह्यो । कक्षामा प्रथम भई अंगालो भरि पुरस्कार बोकेर घर जाँदा आमाखुशीले रुनुहुन्थ्यो ।

से- फाेक्सुण्डाे ताल,डाेल्पा पुग्दा

मेरो पढाईमा दाजुले हरदम ध्यान पुराउनु भयो । कक्षा फष्ट भएमा मैले उहाँबाट हरेक वर्ष विशेष उपहार पाउँथें । पहिलो उपहार स्वरुप उहाँले नेपाल र विश्वको नक्सा ल्याएर मेरो पढने कोठामा झुण्डाइ दिनुभयो, जहाँ मैले संसारलाई आँखा अगाडि देख्न पाउँथे । संधैँ नक्सा हेर्ने भएकोले होला अहिलेसम्म मलाई नेपालको भूगोल र विश्वका सबै मुलुकहरुको नाम कण्ठै आउँछ । घडी, समान्य ज्ञान, डिक्स्नरी हुुँदै एकवर्ष त त्यतिबेला निकै चलेको इष्टकोट पाउने भएँ ।

दाजुसँगै तम्घास गएँ र रुरु टेलर्सले सिलाएको इष्टकोट लगाएर सबैलाई देखाउन हो कि तम्घास बजारमा धेरै पटक ओहोरदोहोर गरेको छु । त्यस वर्षको दशैंभरि एक दिनपनि नछाडि मैले त्यही इस्टकोट लगाई रहें । पढाई र प्रगतिको लागि माया, प्रेरणा र प्रोत्साहन अति आवश्यक कुरा रहेछन् ।

प्रगतिशील उपन्यासहरु लुकीलुकी पढेको …

कुनै न कुनै हिसाबले कला र राजनीतितर्फ नजिक भसकेको रहेछु । सांस्कृतिक कार्यक्रम हुँदा गीत चाँहि खुवै गाईयो । ‘कोही किन बर्बाद होस’ भन्ने नाटकमा हो क्यार एकपटक स्टेज अभिनय गरेको छु । बुद्धिचाल बाहेक अरु खेल जानिएन् । खेल्न त कहाँ पाउनु बाहिर गएको भलिवल समात्न घण्टौं कुरेर बस्थ्यौं । स्कुल छेउछाउका फोगटे गराहरुमा टालोको भकुण्डो खेल्नु दैनिकी जस्तै थियो । नयाँ भकुण्डो बनाउन मैले धेरै सग्ला मोजाहरु बिगारेको छु । छ, सात कक्षा पढ्दा नै मैले दाजुले पाल्पा पढ्दा खेरी ल्याएका चिनियाँ क्रान्ति र अरु प्रगतिशील उपन्यासहरु लुकीलुकी पढने गर्थें । त्यो बेलाको कलिलो बाल मष्तिष्कले कति धेरै कुरा बुझ्न सक्थ्यो कुन्नी !

हीरक महोत्सवमा आउँला नि …

विद्यार्थी जीवनका ती पुराना दिनहरु अहिले मलाई प्रिय लाग्छन् । फेरि अब कहाँ पाउनु ती रमाइला दिन । अब ती दिनहरु केवल सम्झनामा मात्र बाँकी छन् । सपनाहरु धेरै थिए । कति पूरा भए कति अधुरै छन् । कर्मथलोका लागि धेरै गरियो । आफू जन्मे हुर्केको गाउँठाउँ, पढेको स्कूलका लागि चाहेर पनि केही गर्न नसकेकोमा खिन्नता लागि रहेको छ । एकबारको जूनीमा आधा बढी जोवन त काटि सकिएको छ । दाम कमाउने ठूलो मान्छे हुने सपना कहिल्यै देखिएन् ।

ठूलो मान्छे हुनुभन्दा बरु असल मान्छे बन्न सके जाती हुँदो हो जस्तो लाग्छ । मलाई माया दिने मेरो बा, आमा, दाजु, परिवार, ज्ञान दिने आदरणीय गुरुहरु, मेरा समकालीन साथीहरु सबैलाई आज सम्झन र सम्मान दिन मन लागेको छ । यसै संस्मरण मार्फत दूरदराजबाटै भन्नचाँहे₋सलाम ! मेरा गुरुहरु, मेरा अभिभावक र मित्रहरु तपाईहरुसँग खुशी साट्न स्वर्ण जयन्तीमा आउन सकिन । सोचेजस्तो भए हीरक जयन्तीमा भेटौंला !!