ताजा अपडेट »

सूचना प्रविधिका कुरा

शनिबार, २० भदौ २०७७

सूचना प्रविधिको तीव्र विकासको कारण सिङ्गो संसार हत्केलामा सीमित भएको छ । विज्ञान तथा विविध क्षेत्रमा हासिल गरेका नवीनतम महत्वपूर्ण ज्ञानहरु सेकेण्ड भएमा खोज्न सकिन्छ । ज्ञानको महासागरमा डुबल्की मारेर विधि र सीप सिकेर आफ्ना सम्पूर्ण अभिष्टहरु पूरा गर्न सकिन्छ । इन्टरनेट मानव जातिहरुको अभिन्न अङ्ग बनेको छ । इन्टरनेटबिना मानवको यात्रा अधुरो मात्र होइन, माकुराको जालोमा अल्झिएको झिंगाको जस्तै हुन्छ निरर्थक !

एउटा भनाई छ- 'जब जुत्ता खुट्टामा लगाइन्छ तब जुत्ता समाधान हो । जब जुत्ता हातमा लगाइन्छ नि तब जुत्ता समस्या हो ।' त्यसको अर्थ सूचना प्रविधि (इन्टरनेट) लाई गलत उद्देश्यले प्रयोग गरियो । यसले व्यक्तिको गतिशीलतालाई अवरोध बनाउँछ । मान्छेका सबै आकांक्षाहरुको परिमाण नकारात्मक निस्कन्छ । त्यसैले इन्टरनेटलाई आफ्नो लक्ष्यमा पुग्न नभई नहुने साधनको रुपमा ग्रहण गरि प्रयोग गर्न जान्नु पर्दछ । दिनानुदिन इन्टरनेट प्रयोगको आवश्यकता र महत्व ह्वात्तै बढ्दै गएको छ । युवाहरुले इन्टरनेटमा तीव्र रुपमा पहुँच विस्तार गर्दैछन् । यसको प्रयोग गरि के के गर्न सकिन्छ ? भनि सिक्न र बुझ्न धेरै जिज्ञासु भएका छन् । हामी इन्टरनेटको माध्यमबाट मनोरञ्जन, सूचना मात्र पाउँदैनौ, ज्ञानको भोकमेटाइ व्यापार, व्यवसायिक सफलता प्राप्त गर्न यसको अहम् भूमिका छ भनी बोध गर्नुपर्छ ।

अशिक्षाले गर्दा होला नेपालका युवाहरुको ठूलो जमात छ । जो फेसबुक चलाउन मात्र इन्टरनेटको प्रयोग गर्दछन् । फेसबुक नै इन्टरनेट हो भन्ने सङ्कुचित सोचाई रहेको पाइन्छ । फेसबुक लगाएत अन्य सामाजिक सञ्जाललाई तस्वीर पोष्ट गर्ने, मनोरञ्जन पाउने साधनको रुपमामात्र बुझ्नु हुँदैन । धेरै युवाहरुले आफ्नो मोबाइल वा ल्यापटप मा फेसबुक आईडी लग आउट नहुँदासम्म चलाउँछन । यसको प्रयोग सम्बन्धि आधारभूत ज्ञान समेत नहुँदा लग इन गर्न नजानेर एउटै व्यक्तिले आफ्नो नाममा ४/५ फेसबुक आइडी बनाउँछन् । सूचना प्रविधिको व्यापक सञ्जालबाट हामी युवाहरुले गलत कुराहरु सिक्न हुँदै, जीवनोपयोगी विषयवस्तुहरुलाई मात्र आत्मसात गर्नुपर्दछ ।

सूचनाको माध्यमबाट अरुलाई सत्मार्गमा हिड्न प्रेरित गर्ने र आफूले सिकेका सीपहरु अरुलाई बाँड्नुपर्दछ । शिक्षा हासिल गर्न किताब किन्ने र झोला बोक्ने झन्झटबाट मुक्त हुन सक्नुपर्छ । आज इन्टरनेटको माध्यमबाट गुगल सर्चमा गई आफूले खोजेको सन्दर्भ सामग्री फेला पार्न सकिन्छ । आफूलाई मनपर्ने विश्व प्रसिद्ध महान लेखकहरुका महान कृतिहरु, सरकारी कानून, नियमावली तथा रोजगार लगाएत अन्य जानकारीहरु पीडिएफको रुपमा पाउन सकिन्छ । यसले हामीलाई धेरै नै सहज बनाएको छ ।