सिद्धार्थ लोकमार्गको बुटवल तानसेन खण्डमा पर्ने चर्चरे पुरानो बस्ती हो । सोही बस्तीको पारिबाट मोटर बाटो कोल्डाँडातिर उक्लिएको छ । कोल्डाँडा साविक गाविसको नाउँ समेत हो । साविक कोल्डाँडा गाविसका वडा नं. १ देखि ४ सम्म अहिलेको तिनाउ गाउँपालिकाको वडा नं. ४ मा पर्छ भने साविकका बाँकी वडाहरु तिनाउको वडा नं. ५ मा समाहित भएका छन् ।
पुरानो वडा नं. ५ मा ४२ घरधूरी छन् । दुईघर दलित(दमई) जाति बाहेक अरु सबै मगरजातिको बसोबास रहेको छ । बिस्कुनडाँडा,भक्तेछाप यहाँका बस्ती हुन् । पुननपुग दुईसय ५० जनसंख्या छ । कक्षा आठसम्म पढाई हुने आदर्श आधारभूत विद्यालयमा सयजना बढी विद्यार्थी पढदै आएका छन् । राजेश चौधरी तराईबाट त्यहाँ हेडमास्टरी गर्न पुगेको हुन् । गाउँमा पुरानो जमानाको पानी टंकी छ । त्यसैलाई मर्मत गर्दै काम चलाएका छन् । पानीका मुहानहरु खासै छैनन् नजिकहुँदी ।
साविकको कोल्डाँडा वडा नं. ६ मा घुँघुँराछाप गाउँ छ । ३५ घरमा करिव पौने दुईसय जनसंख्या सबै मगरजातिकै छन् । पानी खानका लागि पुरानो पानी टंकीलाई व्यवस्थापन गरिएको पाइन्छ । कक्षा तीनसम्म पढाई हुने विद्यालयमा दुईजना शिक्षक र पौने दर्जन विद्यार्थी छन् भन्ने कुराले हाम्रो शैक्षिक अवस्था प्रष्टै हुन्छ । ईश्वरीप्रसाद बस्याल प्रधानाध्यापक छन् । गाउँमा विद्यालय नभई नहुने भएरपनि विद्यार्थी संख्या नपुग्ने ? यस्तो गतिले नै हो विद्यालय मर्ज हुनुपर्ने अवस्था । सो विद्यालय मर्ज भई हालेमा त्यहाँका साना विद्यार्थी एक घण्टा लगाएर आदर्श आधारभूत विद्यालय पुग्नु पर्नेछ । क्याचमेण्ट एरिया सानो भएपछि समस्या भएको प्रधानाध्यापक भन्दै थिए ।
पुरानो वडा नं. ७ मा कामी गाउँ,माँझ गाउँ नाम गरेका बस्तीहरु छन् । ८० घरमा आधाआधी नै दलित(कामी) जाति र मगरहरु छन् । झण्डै चारसय बढी जनसंख्या रहेको उक्त गाउँमा एउटा बालविकास केन्द्र रहेको छ । १०÷१२ जना बालबालिकालाई बाल सहयोगी कार्यकर्ता जयन्ती चिदीले पढाउँदै आएकी छिन् । सामाजिक स्रोत विकास केन्द्र,नेपाल नामक गैह्र सरकारी संस्थाले पिउने पानीको प्रवन्ध मिलाएको पाइयो ।
साविकको कोल्डाँडा गाविसको नामले चिनिने कोल्डाँडा गाउँमा ( साविकका वडा नं. ८ र ९ मा) एक सय ८३ घरहरु छन् । सात घर दलित जातिका छन् भने अरु सबै मगरजातिका बसोबास रहेको पाइन्छ । सोही गाउँमा रहेको बुद्धविकास माध्यमिक विद्यालयमा पौने तीन सय विद्यार्थीले पढ्दै आएका छन् । कपिलबस्तुबाट पढाउन आएका राजेन्द्रप्रसाद चौहान हेडमास्टरका रुपमा कार्यरत् छन् । गाउँमा मगर संस्कृति संरक्षण तथा व्यवस्थापन समितिले विगत दुई आर्थिक वर्षदेखि गाउँमै मगर सङ्ग्रहालय निर्माण गर्दैछ । समितिका सचिव एवम् वडाध्यक्षका उम्मेदवार समेत रहेका गणेश रास्कोटीले भन्दै थिए–तीन करोड खर्चिने गरी प्रदेश सरकारले निर्माण गर्ने उक्त संग्रहालयको डिपीआर अनुसार कार्यसम्पन्न हुन अझ्ै केही समय कुर्नुपर्ने छ ।
उल्लेखित सबै गाउँमा हिउँदे कच्ची बाटाहरु पुगेका छन् । प्रायः सबै घरहरु टीनले छाएका छन् । लघु–जलविद्युतले उज्यालो पाएका स्थानीयबासीहरु अहिले केन्द्रीय लाइन बाल्दै आएका छन् भने केहीले निकट भविष्यमै बाल्ने तयारीमा छन् । गाउँमा मुख्यबालीका रुपमा धान र मकै हुन् । कही कतै कोदो समेत रोपिन्छ ।
स्थानीयहरुले व्यवसायिक तरकारी खेतीमा हात हालेका छन् । सेमी,बोडी,फर्सी,भेन्टा, खुर्सानी,टमाटर खेती गरेर आफ्ना घरपरिवार धानेका छन् । यहाँका उत्पादित अन्नले वर्षदिन खान पुग्ने विरल्लै भेटिन्छन् । नगदे बालीका रुपमा रहेका तरकारी खेतीले जीविकोपार्जनमा हदैसम्म सम्भव तुल्याएको छ । जिल्ला समन्वय समिति,पाल्पाकी सदस्य एवम् बिस्कुनडाँडा भक्तेछापकी स्थायी बासिन्दा इन्द्रा चिदी,घुँघुरा छापका बालसिंह गाहा,भीम राना,चन्द्रिकी चिदी लगायतले व्यवसायिक कुखुरापालन, बाख्रापालन बंगुरपालन तथा अन्य पशुपालन गरी गाउँमै मनग्य पैसा कमाएका उदाहरणहरु छन् ।
गाउँलेहरुले केरा, बेसार, दालचिनी र अम्रिसो खेती गरेर नूत, तेल, लत्ताकपडा र औषधोपचारका लागि खर्च पुराएकै छन् । उनीहरुको आम्दानीले घरको गर्जो टरेकै छ । गाउँमा लामाझाँक्री मान्ने चलन नभएको होइन । तैपनि नयाँ पुस्ताले आफ्ना सन्तानहरुलाई स्वास्थ्य चौकीमा लैजाने अनि सुईखोप लगाउनतिर ध्यान दिएकै छन् ।
गाउँका युवाहरु नेपाल प्रहरी,नेपाली सेना र शिक्षण पेसामा आवद्ध छन् । वैदेशिक रोजगारका लागि खाडीमुलुक जानेहरु थुप्रै छन् । जापान जाने र बृटिशको लाहुरे बनेका एउटा हातको औलामा गन्न सकिने छन् ।
गाउँका युवाहरुले युवा क्लव,आमाहरुले महिला समूह र सामदायिक वन उपभोक्ता समूहमार्फत गाउँको विकासमा टेवा पुराउँदै आएका छन् । गाउँमा संस्कृति संरक्षणका कामहरु केही भएका छन् । दशै,तिहार,साउने र माघे संक्रान्ति मान्ने खुब चलन छ । गाउँमा श्रीपञ्चमी र फागुन १५ मगर दिवस मनाउने नयाँ चलन आएको छ । मागी र भागी विहे दुबै चलेका छन् । सोरठी,सालै जो र झ्याउँरे नयाँ पुस्ताले बिर्सिदै जाने हो कि भन्ने पिरलो वडा सदस्यहरु हस्तबहादुर र नरबहादुर आलेका मनमा छन् । ती संस्कृतिहरुलाई पाका पुराना पुस्ताले जोगाउने प्रयास गरेपनि नयाँ पुस्ताहरु डेकमा उफ्रिन छाडेका छैनन् ।
गाउँमा पुग्न प्रदेश सरकार भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले चर्चरे नजिकै बेठियाघाटमा पुलको शिलान्यास सम्बन्धित मन्त्रीबाट भई सकेका छन् । सो पुल निर्माण भएपछि गाउँलेहरुलाई सीधै सिद्धार्थ लोकमार्गसँग पहुँच बढाउने छ । गाउँलेहरुको सम्पर्क पाल्पा तानसेन र बुटवलसँग बढ्ने छ । स्थानीय उत्पादनले बजारसँग सामीप्यता जोड्ने छ ।तिनाउ गाउँपालिकाले स्थानीय सामुदायिक भवनहरु निर्माण गर्न,विद्यालयका भवनहरु बनाउन र टोलटोलमा बाटोको ट्रयाक खोल्न भरपूर सहयोग गरेको स्थानीय समाजसेवी यमबहादुर चिदीले बताए ।
गाउँमा न्वारान नगरिएका अचम्मका गुफाहरु छन् । नवदुर्गा कोट घर छ । पुराना धार्मिक मठ,मन्दिरहरु छन् । कौडेको लेक नजिकै छ । भ्यू टावर बनाउन सकिएमा पर्यटकहरुलाइ तान्न सकिने स्थानीय वडा सदस्य छमी बिकले बताइन् । साविकको कोल्डाँडा गाविस वडा नं. ५ बाट करिव ४० घर बसाइँ सरेर पाल्पा माथागढीको सराईमा बस्न थालेका छन् । दुईचार रुपैयाँ कमाएपछि छोराछोरीलाई पढाउने र सुखको खोजीमा स्थानीयहरुले आफ्ना खेतबारी बाँझो राखेर तल बेसी सराईमा सर्न थालेको धेरै नभएको उनै यमबहादुर चिदीले बताए ।
गाउँमा पुग्ने कच्ची हिउँदे बाटाले गाउँलेका थप्लामा नाम्लाका डामहरु घटाउन सकेका छैनन् । वर्षामास उत्पादन हुने फलफूलहरुले बजार भेट्न भ्याएका छैनन् । गाउँलेका खुसीहरु अनुहारमा प्रष्टै देख्नका लागि समृद्धिका ढोकाहरु खोल्न ढिला गर्नै हुँदैन । यसका लागि सम्बन्धित सरोकारवालाहरुले स्थानीयहरुको माटोको स्थिति, उनीहरुको आवश्यक माग र जीवनको मर्यादालाई सम्बोधन गर्न सकेमा पक्कै पनि तिनाउले समृद्धिको फड्को मार्ने छ ।
प्रतिक्रिया