तिनाउ । पाल्पाको तिनाउ गाउँपालिकामा कोरोना संक्रमित बिरामीहरुका लागि २० बेडको आइसोलेशन बेडसहितको अस्पताल सञ्चालनमा आउने भएको छ । तिनाउ-२ को बोटेगाउँमा आइसोलेसन बेडसहितको अस्पताल निर्माणका लागि काम धमाधम भइरहेको छ ।
दोभान स्वास्थ्य चौकीको ५ रोपनी क्षफल जग्गालाई सदुपयोग गरी भविष्यमा अत्याधुनिक अस्पताल बनाउन मिल्ने गरी काम भइरहेको छ । हालका लागि आइसोलेशन अस्पतालका रुपमा निर्माण गरिएको हो । अस्पताल सञ्चालन गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मचारीहरुको समेत व्यवस्था गर्न लागिएको तिनाउका प्रवक्ता तथा वडा नम्बर २ अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । करिव ३५ लाखको लागतमा संरचना निर्माण हुन लागेको उनले बताए । कोरोना पोजेटिभ देखा परेका विरामीहरुलाई विशेष स्वास्थ्य सुविधा उपलब्ध गराउने गरी अस्पताल सञ्चालनमा आउन लागेको उनले बताए ।
स्थानीय व्यवसायी, विभिन्न खानी उद्योग, टिप्पर व्यवसायी तथा तिनाउ गाउँपालिकाको आर्थिक सहयोगमा अस्पताल बन्न लागेको हो । प्रवक्ता श्रेष्ठका अनुसार भविष्यमा स्थानीय रुपमा गाउँपालिकासँग समन्वय गरी एमबिबिएस डाक्टरसहितको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने लक्ष्य रहेको छ ।
प्रतिक्रिया