वल्लो घरमा मिठो मसिनो पाक्दा पल्लो घरमा नपुर्याई नखाने पूर्वीय संस्कृति पछ्याएर हुर्किएका हामी नेपाली बीचको भावनात्मक सम्बन्धको वर्णन गरि सक्नु छैन । एउटालाइ चोट लाग्दा अर्कोको आँखा रसाउँछन् । छिमेकीको चोट छिमेकीले नै सम्सुम्याउँछन् । हामी जिन्दगीका हरेक पलहरु सगोलमा मनाउँछौ जहाँ हामी पलपलमा सामाजिक अपनत्व महशुस गर्दछौ । छिमेकीको घरमा कोहि बिरामी मात्र पर्यो भने पनि आफ्नो गच्छे अनुसार फलफूल गोरस लिएर भेट्न जाने हाम्रो समाजमा आज कोरोनाको कहर पसेको छ । मानिससँग मानिस तर्किनु पर्ने स्थितिले हाम्रो सामाजिक भावनात्मक एकतामा चोट पुर्याएको छ।
कोरोनाबाट मरिएला नमरिएला तर आज जनमानसमा उपचारै नपाएर मरिन्छ कि भन्ने मनोत्रास बढेको छ । एकातिर कोरोना एउटा सामान्य बिमारी हो । जसबाट सामान्य सावधानि अपनाएपछि सहजै पार पाउन सकिन्छ भन्ने छ । अर्कोतिर कोरोना लागेको छ कि भन्ने आशंकामै विरामीलाइ उपचारबाट बन्चित गर्ने दोहोरो मानसिकताबाट मानिसहरु शसंकित बनिरहेका छन् ।
एक्कासी पिसाब बन्द भएपछि शनिश्चरे नगरपालिका(२ मोरङ की ६२ वर्षीया सानकुमारी राईलाई बुधबार राति ८ बजेदेखि उनका आफन्तहरुले मोरङका विभिन्न अस्पतालहरु डुलाउन लागे निरन्तरको प्रयासपछि समयमै कुनैपनि अस्पतालहरुमा भर्ना नलिएपछि उनले प्राण त्यागिन् । यस्तै भयो उदयपुरको चौदण्डीगढी नगरपालिका– ६ की ६५ वर्षीया डम्बरकुमारी बस्नेतको हालत पनि । प्रायस् सबै अस्पतालहरुले उपचार गर्न नमानेपछि उनको ज्यान गयो । यी त केवल प्रतिनिधि घटनाहरू मात्र हुन् । कोरोनाको कारण देखाएर नीजि अथवा सरकारी अस्पतालहरुले नै विरामीको भर्ना लिन नमानेपछि यस्ता घटनाहरु विगत केहि महिनादेखि दिनहुँ जसो घटिरहेका छन् ।
छिमेकी देशको कुनै शहरबाट शुरु भएको संकटले आज विश्व त्राहीमाम गराइरहेको छ। जन्मपछिको मृत्यु अकाट्य छ । यसैले होला हरेक कुना कन्तरा अनि खोंचबाट निरन्तर सुन्नु पर्ने मृत्युका खबरहरुले आजभोलि मन कुँडिन छाडेको छ । मन कठोर भएर भने अवश्य होइन। मन त तब चिरिन थालेको छ जब सुनिन्छन् ‘’ अस्पताल चहार्दा चहार्दै रात बित्यो । बिरामीको मृत्यु एम्बुलेन्स मै भो ‘’। जहाँजहाँ स्वास्थ्य र शिक्षाको सहज पहुँच हुन्छ सामान्यतस् हामी त्यस ठाउँलाई सुगम भन्थ्यौ । हामीलाई के थाहा ठुलाठुला घरहरुमा कोसौं टाढादेखि देखिने ‘’सेवा नै धर्म हो ‘’ भनि लेखिएका बोर्ड लगाएर खुलेका नीजि अस्पतालहरु केवल धन आर्जन गर्न संचालन गरिने कुनै अड्डाभन्दा कम छैनन भन्ने। हामी मानवीयता हराएका यस्ता सहरमा छौ (जुन ढुंगे युगभन्दा अमानवीय छ।
नैतिक, स्वास्थ्य सेवा,अभ्यास स्थापना साथै देशको चिकित्सा शिक्षाको गुणस्तर अनि स्वास्थ्य सेवाको गुणस्तर नियन्त्रण गर्ने निकाय हो नेपाल मेडिकल काउन्सिल । जसलाई सर्वसाधारणले सायदै चिन्लान् । आज स्वास्थ्य क्षेत्रमा भैरहेका यतिधेरै बेथिति र विसंगतिका विरुद्दमा कुनै आवाज सुनिदैंन । यहि मेडिकल काउन्सिलको लाचारिकै कारण होला व्यवसायिक मर्यादाको अलिकतिसम्म मान नराख्ने स्वास्थ्य संस्थाहरु निर्वाध चलिरहेका छन् । विसंगतिका विरुद्द कानुनी कारवाहीको शुनिश्चितता हुँदो हो त सरकारको अपनत्व महसुस गर्दै प्रत्येक नेपाली शान्तसँग निदाउँथे ।
पेशागत हकका लागि खुलेका संगठनहरु स्वास्थ्य क्षेत्रमा कम छैनन् तर आफ्नो सामान्य हकहितका लागि सेतो कोटमा कालो पट्टि बाँधिहाल्ने स्वास्थ्यकर्मीहरु सामान्य विमारीले अकाल मै ज्यान गुमाउदा समेत गुमनाम छन् । सरकारको उपस्थिति महसुस गर्न सकिएको छैन। दिनहुँ दैनिक पत्रपत्रिकाहरुमा यस्ता समाचारहरु प्रकाशित भईरहँदा स्वास्थ्य सेवामा चरम लापरवाही गर्ने स्वास्थ्य संस्था साथै स्वास्थ्यकर्मीलाई कारवाही गरेको कहिँ कतै सुन्नसम्म पाइँदैन । जसले आममानसमा नैराश्यता बढिरहेको छ।
आज कोरोनाका कारण कोरोना संक्रमितलाई भन्दापनि अन्य विरामीहरुले सास्ती खेप्नु परेको छ। आज दीर्घ रोगीहरु अस्पताल जान छाडेका छन् । नियमित डायोलोसिस गर्नुपर्ने बिरामीहरु सेवाबाट बन्चित भएका छन् । बालबच्चाहरु नियमित खोप पाइरहेका छैनन् । यस्तो अवस्थामा नियमित उपचार नपाएर ज्यान गुमाउनेहरुको गणना सायदै हुने गरेको छ। एकातिर संक्रमित देखिनासाथ अस्पताल शील गर्ने अर्कोतिर खुलेका अस्पतालहरुमा विरामीहरुले सहजै प्रवेश नपाउने समस्याले स्थिति भयावह बनिहेको छ।
Pandamic शुरु भएको आज आठ महिना नाघी सक्यो तर स्थिति हेर्यो भने आज हामी जहाँको त्यहि भएको अनुभूति हुन्छ। विरामीलाइ बेड नभएको, आइसियुको अभाव प्रसस्तै देखेका छौ। अझ धेरै संख्यामा बिरामीलाई भेन्टिलेटर आवश्यक पर्यो भने झनै के होला रु सर्वसाधारणले दुनियाँ कै सबैभन्दा लामो लकडाउन भोगेर बाहिर निस्किदा कोरोना विरुद्द सरकारले गरेको व्यापक तयारी देख्न पाउने आशामा थिए । सोचे जस्तो देखिएन। सरकारले केहि गर्दै गरेन, हुँदै भएन भन्ने होइन शून्य प्रयोगशालाको स्थितिबाट करिब अढाई दर्जन पुर्यायो । सिमित स्रोत रसाधनबाट लाखौको व्यवस्थापन गरियो । त्यो पर्याप्त थिएन। शास्त्रमा भानिको छ ‘’तिमीले के गर्यौ र कस्तो गर्यौ तो परिणामले बताउँछ’’ हामी परिणाम देखिरहेका छौ।
अझै पनि समस्या ज्युका त्यूँ छ । अझ बढ्दो यस्तो अवस्थामा सामान्य कमजोरीले पनि असामान्य क्षति बेहोर्नु पर्न सक्ने हुन्छ। अन्य मुलुकहरुबाट पाठ सिक्दै त्यहि अनुरुप समस्यासँग जुझ्नु पर्ने हो । अझै पनि सरकारको कार्यदिशा हेर्यो भने शसंकित बन्दै छौं । कोभिड र ननकोभिड्लाइ एउटै अस्पतालमा उपचार गर्दा इटलीले भोगेको बिनाशलाइ नजर अन्दाज गर्दैछौ। सोहि गल्ति इबोलाको समयमा अफ्रिकी मुलुकहरुबाट भएको थियो। यस्ता दृष्टान्तलाई नजरअन्दाज गर्दै सबै अस्पतालले सबै बिरामीको उपचार गर्नुपर्ने वाध्यकारी स्थिति ल्याउँदै छौ।
महामारीको शुरुवाती अवस्थामै सबैको सोचमा आएकै कुरा हो । अब डेडिकेटेड अस्पतालको जरुरी हुनेछ। शहरमा रहेका अस्पतालहरुमध्ये केहीलाई तुरुन्त कोरोना विशेष बनाउनु जरुरी थियो जुनकुरा सामाजिक संजालका साथै केहि जिम्वेवार नेतृत्वबाट नसुनिएको होइन । सुनुवाई देखिएन । आज खाली छाप्रा र टहरालाई नै अस्पतालमा रुपान्तरण गरिरहेका छ। जसले गर्दा ठुलो आर्थिक भार खेप्नु परेको छ। विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरुलाई थाप हौशला साथ आवश्यक साधन सम्पन्न गराई नियमित खटाउनुको विकल्प छैन । जसकालागि सरकारको उपस्थिति हरपल हरेक स्थानमा अत्यावश्यक छ।
आज देशमा कोरोना बाहेक अन्य विभिन्न प्रकारका स्वास्थ्य समस्याहरुसँग जुधेर बसेको जनमास छ । यसलाई भुल्नु हुँदैन। कोरोनाको कारण देखाएर अन्य विरामीले उपचार नपाउने स्थितिको अन्त्य हुनुपर्छ। स्वास्थ्य सेवालाई केवल व्यवसायिकतामात्र देख्नेहरु कारबाहीको दायरामा आउनुपर्छ। महामारी विरुद्द लड्नको लागि सरकारको हर प्रयासमा सबैका साथ र सहयोग अपरिहार्य छ।
प्रतिक्रिया