ताजा अपडेट »

माथिल्लो त्रिशूली जलविद्युत् आयोजना : प्रधानमन्त्रीलाई २० कित्ता

विहीबार, १४ चैत्र २०७५

चैत १४,
काठमाण्डौं । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनी २० कित्ता नै शयेर परेको छ ।

यस्तै ऊर्जामन्त्री वर्षमान पुनलाई २० कित्ता, पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई समेत २० कित्ता शेयर परेको छ ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार ५० हजार २६७ जनालाई जनही ३० कित्ता र एक लाख ५४ हजार ५५९ लाई भने २० कित्ता शेयर परेको छ ।

शुरुमा २० कित्ताका दरले सबै आवेदकहरुलाई बाँडफाँट गरिएको र बाँकी रहेको सेयर गोला प्रथाबाट बाँडफाँट गरिएको हो । आइएमई क्यापिटलका अनुसार एक लाख चार हजार २९२ जना आवेदकले २० कित्ताका दरले र ५० हजार २ सय ६७ जनाले ३० कित्ताका दरले आईपीओ पाएका छन् ।

कूल ६७ आवेदन भने रद्द भएको छ । त्रिशूली जलविद्युत् कम्पनीले ३७ लाख पाँच हजार कित्ता शेयर यही चैत ७ देखि ११ गतेसम्म बिक्री गरेको थियो ।