गुल्मी । गुल्मीमा निर्माण गरिएको थ्रिडी पार्क अलपत्र भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा थ्रिडी पार्क निर्माण गरिएको हो । वर्षौदेखि इतिहास बोकेको लाकुरीमञ्च मासेर तयार पारिएको पार्क सञ्चालनमा नआउँदा स्थानीयले गुनासो व्यक्त गर्न थालेका छन् । जिल्ला सदरमुकाम तम्घासको अति व्यस्त स्थल लाकुरी मञ्चमा निर्माण गरिएको पार्क संचालन र व्यावस्थापन प्रक्रिया अन्यौलमा परेको हो ।
एक बर्षसम्म निर्माण व्यावसायीले पार्क हस्तान्तरण गरेका छैनन् । संचालन र व्यावस्थापनको टुङ्गो नलाग्दै संरचना बिग्रन थालेका छन् । पार्कमा हस्तान्तरण नहुँदा घुम्न आउनेहरुले फालेका फोहर तथा संरचनामा उनिहरुले गर्ने लापरवाहीका कारण कुरुप हुँदै जान लागेको छ । पार्कमा जम्मा हुने पानीमा सडक बालबालिका पौडी खेल्न थालेका छन् भने गेट पनि भाँचिएको छ । रंगरोगन समेत मेटिन थालेका छन् । संरचना निर्माण गर्न हतारो गर्ने तर व्यावस्थापनमा चासो कम दिने प्रवृतिको पछिल्लो उदाहरण तम्घासको थ्रिडी पार्क बनेको छ ।
५५ लाखको लागतमा निर्माणको गरिएको पार्क बनाउँदा बर्षौको पहिचान र संरचना लाँकुरीमञ्च भत्काएर बनाउने विषयमा विवाद समेत उत्पन्न भएको थियो । यसरी वर्षौदेखिको पहिचान लाँकुरीमञ्च मासेर बनाएको संरचना व्यवस्थित सञ्चालनमा नआउँदा जनगुनासो बढ्न थालेको छ ।
रेसुङ्गाका मेयर डिल्लीराज भुसालले पार्कका संरचनामा क्षति पुगिरहेको विषयमा आफूलाई जानकारी भएकाले छिटो संचालनमा ल्याउन पाए संरक्षणका लागि नगर प्रहरी खटाउने योजनामा रहेको बताए । स्थानीयले सरकारी अड्डा, सदरमुकाम, मिडिया र नागरिक समाजको केन्द्र भएकै स्थानमा पार्कको दुर्दशा यस्तो भएपछि दुरदराजको स्थिती कस्तो होला भनेर कटाक्ष गर्ने गरेका छन् ।
प्रतिक्रिया