ताजा अपडेट »

सरकार बनाउन सात पार्टीको गठबन्धन

विहीबार, १४ चैत्र २०७५

चैत १४,
थाइल्याण्ड । थाइल्याण्डका सात पार्टीले बुधबार नयाँ गठबन्धन बनाएका छन् । सन् २०१४ मा भएको सैनिक ‘कू‘ पछिको पहिलो निर्वाचन लगत्तै उनीहरुले गठबन्धन बनाएका हुन् ।

यही गठबन्धनले नै नयाँ सरकार बनाउने प्रयास गर्ने समाचारमा जनाइएको छ ।
निर्वाचनको वैधानिकता र निश्पक्षतामाथि भने कतिपयले प्रश्न उठाइरहेकै बेला केही पार्टीहरुले गठबन्धन बनाएर सरकार बनाउने कसरत सुरु गरेका हुन् ।

स्वेच्छिक निर्वासनमा रहनुभएका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको समर्थन रहेको फिउ थाई पार्टी सहित अन्य छ पार्टी गठबन्धनमा छन् ।‘हामीले सरकार बनाएर शक्तिको दुरुपयोग रोक्न चाहन्छौँ,’ फिउ थाइको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार सुदारात केयुराफानले पत्रकारहरुसँग भने ।

उनले थपे, ‘लोकतन्त्रको पक्षधर पार्टीहरुलाई नै जनताले साथ दिएका छन्, विश्वास गरेका छन् ।’ गत आईतबार भएको मतदानको अन्तिम नतिजा भने औपचारिक र आधिकारिक रुपमा अहिले सम्म पनि सार्वजनिक गरिएको छैन ।

कुनै कारणबिना नै मतगणनाको पूर्ण परिणाम सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको आलोचना भएको छ । निर्वाचन आयोगका अधिकारीले भने ‘मानवीय त्रुटीका कारण’ मतपरिणाम ढिलाइ भएको दाबी गरेका छन् ।

यही बीचमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले भने निर्वाचनमा ‘व्यापक धाँधली’ भएको आरोप लगाएको समाचार प्रकाशित भएको छ । सामाजिक सञ्जालमा अधिकांशले सिनावात्राको भनाइप्रति सहमति जनाएको देखिएको छ।

कतिपय स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि ‘मतगणना पारदर्शी नभएको तथा मतपरिणाम निकै त्रुटिपूर्ण’ रहेको बताएका छन् । उनीहरुले अनुगमनका क्रममा देशव्यापी रूपमा मत किनबेच भएको थाहा पाएको जनाएका छन् ।

सत्ताच्युत प्रधानमन्त्री थाक्सिन सिनावात्रा र सेना समर्थकहरूबीचको सत्ता संघर्षका कारण थाइल्यान्डमा केही वर्षयता राजनीतिक अस्थिरता रहेको छ ।

कुल ७५० सिट रहेको थाइल्यान्डको संसदको तल्लो सदनमा ५०० जना निर्वाचनमार्फत छानिन्छन भने माथिल्लो सदनमा २ सय ५० सिटमा सेनाले सांसदहरू मनोनीत गर्ने व्यवस्था रहेको छ । -रासस/एएफपी