ताजा अपडेट »

लकडाउन अवधीको शुल्क उठाउन विद्यालयको ताकेता

मंगलबार, १६ भदौ २०७७
1 Shares

मिल्दैन : स्थानीय सरकार, अधिकारमा पर्दैन :प्रदेश सरकार

बुटवल । विगत ७ महिनादेखि पठन-पाठन ठप्प भएपनि रुपन्देहीका केहि शैक्षिक संस्थाहरुले अनलाइन शिक्षाको नाममा अभिभावहरुबाट शुल्क उठाउन थालेका छन् । जिल्लाका नाम चलेका शैक्षिक संस्थाहरुले नै लकडाउनको अवधिका सूचना जारी गर्दै शुल्क उठाउन थालेका हुन् । शिक्षक तथा कर्मचारीहरुलाई तलब भत्ता खुवाउन समस्या भएको भन्दै उनिहरुले विद्यार्थी नविकरण तथा मासिक शुल्कबापतको शुल्क भुक्तानीका लागि अभिभावकहरुलाई आग्रह गरेका हुन् । गत असारदेखि अनलाइन कक्षा सञ्चालन गरिएको जनाउँदै ती विद्यालयहरुले शतप्रतिशत तथा केहि विद्यालयले छुटसहित शैक्षिक शुल्क असुल्न थालेका हुन् ।

रुपन्देहीको बुटवलमा रहेको न्यू होराइजन माध्यमिक विद्यालयले सूचना जारी गर्दै विगत ५ महिनादेखि शिक्षक कर्मचारीहरुलाई आम्दानी बिनानै तलब दिँदै आएको बताउँदै शुल्क भुक्तानी गर्न अभिभावकहरुलाई आग्रह गरेको छ । गतवर्षको दर रेटमानै शुल्क बुझाउन आग्रह गर्दै विद्यालयले गत असारदेखि अनलाइन कक्षा सञ्चालन बापतको शुल्क बुझाउन भनेको छ । यस विषयमा कुरा गर्दा विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले अभिभावकहरुको आग्रहमै शुल्क उठाउने निर्णय गरिएको जानकारी गराए ।

यसैगरी बुटवलकै दिप बोर्डिङ्ग स्कूलले पनि सूचना जारी गरी नयाँ विद्यार्थीहरुको भर्ना तथा पूराना विद्यार्थीहरुको नविकरण शुल्क भुक्तानी गर्नका लागि यहि भाद्र २४ गतेसम्मको समय दिएर ताकेता गरेको छ । विद्यालयले प्रत्यक्ष भेटेर, अनलाइन तथा बैंकमा रकम जम्मा गर्नका लागि आग्रह गरेको छ । यस विषयमा प्रश्न गर्दा विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले बुटवल उपमानगरले प्रकाशन गरेको पछिल्लो सुचनालाई आधार मानी आगामी २० गतेदेखि शुल्क उठाइने बताए ।

यस्तै बुटवलको अर्को विद्यालय एभरेष्ट इंलिश बोर्डिङ्ग स्कूलले पनि शुल्क अशुल्नका लागि सूचना प्रकाशित गरेको छ । यस विषयमा बोल्दै विद्यालयका प्राचार्य कृष्णप्रासाद न्यौपानेले बुटवल उपमहानगरले गत भाद्र १० गते जारी गरेको सुचनालाई आधार मानी सुचना जारी गरिएको जनाए । ‘उपमहानगरले भाद्र १६ गतेदेखि शैक्षिक कार्यक्रम सञ्चालन गर्न आह्वान गरेअनुसार सुचना जारी गरिएको हो ।’-उनले भने ‘१५ गते उपमहानगरको पछिल्लो सुचनाअनुसार हाललाई हामीले जारी गरेको सुचना स्थगित गर्ने भनेका छौं ।’

यी लगाएत रुपन्देहीका अन्य निजी विद्यालयहरुले समेत अभिभावकहरुबाट शुल्क असुल्नका लागि सूचना प्रकाशन तथा प्रत्यक्ष फोनमार्फत ताकेता गर्ने गरेको अभिभावकहरुले गुनासो गरेका छन् । बुटवलका एक अभिभावक हरि क्षेत्रीले कोभिड र लकडाउनका कारणले आक्रान्त बनिरहेका बेला निजी तथा ठूला भनिएका शैक्षिक संस्थाहरुले नै शुल्क उठाउने नाममा आतंक सिर्जना गरेको आरोप लगाएका छन् । आफ्ना ७ जना विद्यार्थी विभिन्न शैक्षिक संस्थामा अध्ययन गरिरहेको जानकारी गराउँदै उनले कोरोना कहरका बीच शैक्षिक संस्थाहरुबाट पछिल्लो समय भएका गतिविधि उपयुक्र्त नभएको उल्लेख गरे।


सामुदायिक विद्यालयहरु पनि शुल्क असुल्दै

यसैगरी जिल्लामा रहेका केही सामुदायिक विद्यालयहरुले समेत विद्यार्थीहरुबाट शुल्क असुलेका छन् । रुपन्देहीको तिलोत्तमा-५ मा अवस्थित शान्ति नमुना माध्यमिक विद्यालयले शुल्क उठाएको प्रमाण फेला परेको छ । विद्यालयले एक विद्यार्थीबाट साउन १४ गते ७ हजार रुपैयाँ असुलेको हो ।

यसैगरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ मा अवस्थित रुपन्देही लिलाराम उच्च माविले पनि विद्यार्थीबाट शुल्क असुलेको छ । विद्यालयले विभिन्न शिर्षकमा विद्यार्थीबाट ५ हजार शुल्क असुलेको प्रमाण फेला परेको छ । यी बाहेक जिल्लाका अन्य केहि सामुदायिक विद्यालयहरुले शुल्क उठाएको गुनासो बढेको छ ।

निजी तथा सामुदायिक विद्यालयहरुले शुल्क उठाएको विषयमा कुरा गर्दा प्रदेश ५ सामाजिक विकासमन्त्री सुदर्शन बरालले निजी विद्यालयहरुले शुल्क उठाउन लागेपनि प्रदेश सरकारले कुनै कारबाही गर्न नसक्ने बताए । ‘शैक्षिक संस्थाहरुले सञ्चालन गरेका अनलाइन कक्षालाई संघीय सरकारको शिक्षा मन्त्रालयले मान्यता दिएपनि उनिहरुले शुल्क उठाउन नपाउने भनेको छ । तर, निजी विद्यालयहरुले शुल्क उठाउन पाउनु पर्छ भनेका छन् ।’-मन्त्री बरालले भने ‘यसै विषयमा कुरो बाँझिएको छ ।’ संघीय सरकारले यस विषयमा निर्णय गर्ने अधिकार प्रदेशलाई नदिएको हुँदा कुनै पनि कारवाही गर्न नसकिने उनले उल्लेख गरे । यसैगरी विद्यालयहरुले विद्यार्थी नविकरण शुल्क भने कुनैपनि हालतमा उठाउन नपाउने उनको भनाई छ ।

उपमहानगरकै अस्पष्ट नीति

बुटवल उपमहानगरको भाद्र १० गते सुचना जारी गर्दै मन्त्रालयको निर्देशन अनुसार भाद्र १६ गतेदेखि विद्यार्थीहरुको तथ्याङ्क संकलन, नयाँ विद्यार्थी भर्ना लगायतका गतिविधि सञ्चालन गर्न आह्वान गरेको थियो । जारी सूचनामा भाद्र १५ गतेसम्म शुल्क उठाउन नपाउने उल्लेख गरिएपनि त्यसपछिका दिनमा के गर्ने भन्ने विषयमा भने उल्लेख गरिएको थिएन । यसैगरी उपमहानगरको भाद्र १४ गते बैठक बसी १५ गते जारी गरिएको सूचनामा भाद्र २० गतेसम्म कुनै पनि शैक्षिक गतिविधि सञ्चालन नगर्न निर्देशन जारी गरिएको छ ।

बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले शैक्षिक संस्थाहरुले शुल्क उठाउने बारे कुनै निर्णय नभएको बताउँदै त्यसो गरेको पाइए कारवाही गरिने बताए । विद्यार्थी नविकरण तथा अनलाइन कक्षा सञ्चालनको नाममा शैक्षिक शुल्क उठाउने विद्यालयहरुलाई उपमहानगरबाट प्रदान गरिनै सबै सेवा सुविधाबाट बञ्चित गर्ने गरी कारवाही गरिने उनले चेतावनी दिए । ‘नगर शिक्षा समितिले हालसम्म यो विषयमा कुनै पनि निर्णय गरेको छैन ।’-सुवेदीले भने शिक्षा मन्त्रालयले पनि शुल्क असुल्न नपाउने गरी निर्देशन जारी गरेको छ । यदि कसैले त्यसो गरेको पाइएमा कारवाही हुन्छ ।’

यसैगरी निजी विद्यालयहरुको छाता संगठन प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले भने शैक्षिक संस्थाहरुले शुल्क उठाउनुको विकल्प नभएको उल्लेख गरे । अनलाइन कक्षा सञ्चालन तथा विद्यार्थी नविकरण शुल्क उठाउने बारे प्याब्सनले हालसम्म कुनै संस्थागत निर्णय भने गरेको छैन । संस्थागत निर्णय नभएपनि शैक्षिक संस्थाहरुले शुल्क उठाउन पाउनु पर्ने पौडेलको भनाई छ ।

‘सरकारले कक्षा सञ्चालन गर्न पनि भन्ने शुल्क उठाउन नपाउने ?’-प्रश्न गर्दै पौडेलले भने ‘सरकारले कि त निजी विद्यालयहरुका लागि राहतको घोषणा गर्नु पर्यो होइन भने शुल्क उठाउन दिनु पर्छ ।’ कर्मचारी तथा शिक्षकलाई तलब दिनका लागि शुल्क उठाउनुको विकल्प नभएको दोहोर्याउँदै उनले यस विषयमा प्याब्सनले छिट्टै निर्णय गर्ने बताए ।

जिल्लामा प्याब्सन आवद्ध ३६५ विद्यालयमा ५ हजार ५ सय शिक्षक, १६९५ कर्मचारी आवद्ध रहेको उनले जानकारी गराए । यसैगरी शिक्षा कार्यालयको तथ्यांक अनुसार कक्षा नर्सरीदेखि कक्षा १० सम्म १ लाख १५ हजार विद्यार्थी रहेको बताए ।