बाह्रै महिना चिसो
कुहिरोको सिरक ओढ्ने गाउँ
हावाका झोक्काले कुहिरो उडाएर लैजान्छ घरिघरि
अनि
देखिन्छन उत्तरतिरका सेता हिमाल
तराईका रहर लाग्दा फाँटहरु
गाउँमा मगरजातिको बस्ती
एकल जाति, मगरभाषी
मगर संस्कार /संस्कृति
आउ मेरो जन्तीलुङ्ग गाउँ
भ्यू प्वाइन्टमा फोटो खिचौंला
मकै र भट्टसँग कोदोको अर्नी खाँदै
होमस्टेमा झ्याउँरे र सोरठी नाचौंला !
(डीबी गुरुङको जन्तीलुङ्गलाई फर्केर हेर्दा कविताको एक अंश)
मगरभाषामा लुङ्ग भन्नाले ढुंगालाई जनाउने सोही भाषाका जानकार पूर्णबहादुर खाम्चा मगर बताउँछन् । मरामकोटबाट उत्तरपश्चिमतिरको गाउँ हो जन्तीलुङ्ग । जन्ती भन्नेबित्तिकै विहेमा दुल्ही लिन हिडेका दुल्हाका साक्षीहरु भनेर बुझिन्छ । मरामकोटबाट हेर्दा जन्तीजस्तै लस्कर लागेका ढुंगाहरु देखिन्छन् । त्यही भएर सो गाउँको नाउँ जन्तीलुङ्ग हुन सक्ने मस्याम गाविसका पूर्वअध्यक्ष पूर्णबहादुर खाम्चा मगरले ठोकुवा गरे । तिनाउ गाउँपालिकामा भर्कालुङ्ग, मिकार्लुङ्ग, जन्तीलुङ्ग जस्ता गाउँहरु छन् । जो रैथाने मगरहरुले आफ्नौ भाषामा राखेका नामहरु हुन् ।
डुम्रे बजार नजिकैबाट जन्तीलुङ्ग होमस्टेमा जाने स्वागत गेट बनाइएको छ । जहाँबाट कच्चीबाटो मस्यामको हटिया पुगिन्छ । मस्यामहुँदै जन्तीलुङ्ग करिव १२ किलोमीटरको दूरीमा पर्छ । त्यसैगरी नयाँ बजार( नयाँ जोरधारा) बाट उत्तरतिर पाँच किमीको दूरीमा मरामकोट र त्यहाँबाट करिव पैदल एक घण्टा र मोटर साईकिलमा १५ मिनेटमा जन्तीलुङ्ग पुगिन्छ । जन्तीलुङ्ग, तिनाउ गाउँपालिकाको सगरमाथा हो । यो गाउँ सुमद्रीदेखि एक हजार ६ सय मीटर उचाइँमा रहेको छ । तिनाउ गाउँपालिकाको वडा नं. ६ मा पर्ने यो गाउँ साविकको मस्याम गाविसमा पर्छ । पुननपुग चारसय जनसंख्या छ । १० घर गाउँहरुले २०७५ सालको बैसाख २२ गतेदेखि तिनाउ गाउँपालिकाको आर्थिक एवम् भौतिक सहयोगमा होमस्टे (घरबास कार्यक्रम) सञ्चालन गरेका छन् । गत आर्थिक वर्षमा पालिकाको १० लाख र स्थानीयहरुको दुई लाख बराबरको श्रमदानमा भ्यू प्वाइन्ट निर्माण सम्पन्न भएको गाउँ कार्यपालिका सदस्य मीनासरा लम्तरी मगरले बताइन् । उनी सोही गाउँकै स्थानीय बासिन्दा एवम् होमस्टे सञ्चालक समेत हुन् ।
गाउँमा कक्षा तीनसम्म पढाई हुने कुण्डली स्कूल छ । टेकबहादुर लामिछाने मगर प्रधानाध्यापक छन् । कक्षा चारदेखि माथि पढ्न यहाँका विद्यार्थी मरामकोटको भूमिशाला आधारभूत विद्यालय र मस्याम हटियाको मस्याम माविमा जान्छन् । उनीहरुलाई आधादेखि पौनेघण्टा स्कूल पुग्नै लाग्छ । गाउँमै कक्षा पाँचसम्म पढाउन सकिने हो भने ती साना बालबालिकाहरुका पिडौंला फर्किने थिएनन् । थकाई लाग्यो भन्दै गृहकार्य गर्न नसकेर बेलैमा सुत्नुपर्ने थिएन । तैपनि गाउँमा शिक्षाको चेतना फैलिदै गएको छ । डिग्री पढ्नेहरु ४/५ जना छन् भने स्नातक पढ्नेहरु ६/७ जना छन् । कक्षा ११/१२ उत्तीर्ण हुनेहरु त ९/१०जना पुगीसकेका छन् । यो शुभसंकेत हो ।
गाउँमा बालविवाह हुने चलन पूर्णरुपमा हटाउन नसकिएको जनप्रतिनिधिका रुपमा रहेकी मीनासराले भनिन्–केटाकेटीहरुलाई जति सम्झाए पनि हुन्न । जनजातिका सन्तान भएर हो कि के हो कुन्नि ? तैपनि पहिलेको तुलनामा कम भने भएको छ । यहाँ धेरे भागी विहेको चलन छ । ढोगभेट गरेपछि विहे उम्क्यो ।
अग्लो ठाउँ, भीराला परेका पाखोबारीहरु । धान फल्दैनन् । मकै, कोदो, पापर राम्रै फल्छन् । पिंडालु र आलु उसिनेर खाने चलन छ । होमस्टेमा आउनेहरुलाई अर्नी (नास्ता)का रुपमा तिनै कुरा खुवाइन्छ । साथमा भुटेको मकै र भट्ट भुटेर चट्ट खुवाएपछि पाहुना मख्ख नहुने कुरै भएन । यहाँका नागरिकहरु रोजगारीका लागि नेपाली सेना, नेपाल प्रहरीमा करिव डेढ दर्जन जति कार्यरत छन् भने केही स्थानीय ब्यक्तिहरु वैदेशिक रोजगारका लागि मलेसिया, कतार, दुबई लगायतका देशहरुमा पुगेका छन् । स्थानीयहरुले कृषि र पशुपालनलाई प्राथमिकता दिइ आफ्नो जीवन निर्वाह गर्दै आएका छन् । गाउँका बीरबहादुर रुचालले गत वर्षमात्र करिव डेढ लाखको खसी र बोका बेचेर थैली बलियो बनाए । उनी जस्तै लालबहादुर लामिछाने र कृष्ण चिदीहरु व्यवसायिक पशुपालनतर्फ उन्मुख भएका छन् । आम्दानीको मुख्य स्रोत कृषि रहेको छ । हरिया केराउ,करेला,पिंडालु र लहरे तरकारी बेचेर जीवन गुजार्नेहरु धेरे नै छन् । स्थानीय उत्पादनले गाउँलेहरुलाई करिव ६ महिना धान्ने गर्छ ।
गाउँमा परदेशिएका लाहुरेहरु आउँदा सांस्कृतिक चलनलाई दीगो र जगाइ राख्नका लागि आमा समूहका दिदीबहिनीहरुले नाचगान गर्ने रीतिरिवाज चलेको छ । छैठी गर्ने, भातखुवाइ, छेवर ,विहेमा भोज भतेर गर्ने चलन चलेकै छन् । गाउँमा तीज, दशै, तिहार, श्रीपञ्चमी र फागुन १५ मा मगर दिवस मनाउने चलन रहेको छ ।
गाउँमा होमस्टे चलेपछि सांस्कृतिक कार्यक्रम (ठूलो नाच, झ्याउँ रे, सालैजो जस्ता नाच) देखाउने चलन बनेको छ । प्रायः सबैले मगर भाषा बोल्छन् । यसले गर्दा भाषाको जगेर्ना र संस्कृतिको संरक्षणमा टेवा पुगेको पाइन्छ ।
जन्तीलुङ् सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर लम्तरीका अनुसार गाउँमा होमस्टे खुलेपछि पाहुनाहरुलाई खाजा, खाना र बस्नका लागि सक्दो उचित प्रवन्ध मिलाईएको छ । स्थानीयहरुले आफ्नो पाक्कला सीप, क्षमता, जाँगर र श्रमलाई प्रयोग गरेर गाउँघरमै पाइने खाद्य परिकारहरुको व्यवस्थापन गर्दै आएका छन् । बटुक, सेलरोटी, कोदो र फापरका रोटी, अचार, स्थानीय कुखुरा, खसी बोकाको मासु, अण्डाका परिकार बनाएर पाहुनाहरुलाई खुवाउने प्रचलन छ । होमस्टेका कारण स्थानीय बासिन्दाहरुलाई आम्दानीतर्फ अग्रसरता गराएको मात्र होइन यसले स्थानीय खाद्यदार्थको बहुप्रयोग,पकाउने खुवाउने शैलीमा निख्खतरा ल्याएको र आफ्ना उत्पादन खपत भएको पाउन सकिन्छ । स्थानीय रुपमा पाइने टिम्बूर,पाखनवेद र चुत्रोको औषधीमूलक तरल पदार्थ तयार पारेर होमस्टेमा चखाउने प्रवन्ध मिलाईको समेत मिलाइएको छ ।
जन्तीलुङ गाउँमा मगर( मुख्यगरी लम्तरी, लामिछाने, रुचाल र चिदी थरका) जातिको घना बस्ती छ । गाउँमा ग्वाँजीबुढी र धरापडाँडा गरी दुईवटा सामुदायिक वन उपभोक्ता समूहहरु छन् । ६५ घरधूरी रहेको सो गाउँमा माथिल्लो, तल्लो, बीच, रिपाहा र भिराले गरी चारवटा टोलबस्तीहरु छन् । स्थानीय सरकारको आर्थिक सहयोगमा पानी पुनर्भरण ( रिचार्ज सेन्टर) केन्द्र निर्माण गरिएको छ । जसले गर्दा बस्तुहरुलाई पानी पिलाउन सजिलो र पानी रिचार्ज गर्न सम्भव भएको देखिन्छ ।
तिनाउ गाउँपालिकाकै गौरव र पर्यटकीय स्थल जन्तीलुङ्गको आफ्नै विशेषता र हैसियत छ । कृषिमा आधारित गाउँलेहरुलाई कृषि एवम् सांस्कृतिक पर्यटन मार्फत माथि उठाउन सकिन्छ । गाउँलेहरुको आर्थिक विकासका निीम्त यहाँ उत्पादित कृषि उत्पादनको खपत र बजारीकरणका लागि सहयोग पुराउनु पर्ने देखिन्छ । त्यसका लागि परम्परागत सांस्कृतिक कार्यक्रमहरुलाई आम्दानीसँग जोडेर लैजान समेत पर्यटन विकासको खाँचो देखिन्छ ।
तिनाउ सरकारका प्रमुख ओमबहादुर घर्तीमगरले भने–तिनाउलाई चिनाउने पर्यटकीय गन्तव्यहरुमध्ये जन्तीलुङ्ग महत्वपूर्ण गन्तव्य हो । यहाँका बासिन्दाहरुले सञ्चालन गरेको होमस्टे र भ्यू पोइन्ट, होमस्टेको ब्रोसियर र प्रवेशद्वारका लागि आर्थिक सहयोग गरिसकेको छ । आगामी दिनमा सबै घरहरुमा शैचालय निर्माण, किसानहरुलाई केराउको बीउ वितरण, करेसाबारी खेती तालिम र लोकल कुखुरापालनलाई प्राथमिकता दिने योजना रहेको छ ।
अतिनै सुन्दर जन्तीलुङ्गको शब्दहरुमा बयान गरी साध्य छैन । एकपटक होइन पटक पटक पुग्न मन लाग्छ । मकै र भट्ट चपाउँदै हिमाल र तराई एकैपटक भ्यू प्वाइन्टबाट हर्ने रहर कहाँ मर्दो रहेछ र ?
प्रतिक्रिया