भैरहवा । विश्वसँगै नेपाल पनि कोभिड-१९ आक्रान्त बनेको छ । यसैगरी रुपन्देहीमा संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै जाँदा उनिहरुको व्यवस्थापनमा थप जटिल समस्या देखिन थालेका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार संक्रमितलाई छुट्टै व्यवस्थापन गर्नु पर्नेहुँदा उनिहरुको बसाई र उपचारमा समस्या देखा परेको हो । सचेतना अभावमा अहिले पनि कोभिड-१९ संक्रमित प्रति गर्ने र हेर्ने दृष्टिकोण नकारात्मक पाइन्छ । संक्रमित भएको थाहा पाएर टोल छिमेकको व्यवहार परिवर्तन हुने गर्दछ भने सबैभन्दा बढी समस्यामा घर वा कोठा बहालमा लिएर बस्नेहरुको लागि हुने गरेको छ ।
यस्तै समस्या आइपरेको थियो भैरहवा स्थित नेपाल एसबिआई बैंकका कर्मचारीलाई । साउनको ३२ गते बैंकका १२ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि उनिहरुको व्यवस्थापन गर्न बैंकर्स मात्र नभई स्थानीय प्रशासनलाईसमेत हम्मे-हम्मे परेको थियो । भैरहवामै प्रयाप्त होटलहरु रहेपनि उनिहरुले संक्रमितलाई होटल उपलब्ध गराउन मानेन्न । सदरमुकाम भैरहवामै रहेको विभिन्न प्रशासनिक निकायको प्रमुखहरुसँगै होटल एसोसिएशनका जिम्मेवार पदाधिकारीले भैरहवाका होटल सञ्चालकलाई होटल दिन आग्रह गर्दासमेत उनिहरुले नमानेको बैंकर्स एसोसिएशन भैरहवाका उपाध्यक्ष खिमबहादुर कार्कीको भनाई छ । ‘अप्ठ्यारो परेको बेला भैरहवाका नाम चलेका होटलदेखी सामान्य होटल सम्मलाई गुहार गर्यो, तर कसैले पनि सुनेन्न ।’-कार्कीले गुनासो पोखे ।
आवश्यक परेको समय होटल उपलब्ध गराउने बाचा गरेका होटल व्यवसायीहरु पछि हटेपछि भैरहवामा बिभिन्न सामाजिक क्रियाकलापमा संलग्न रहेका दिनेश पौडेल र ज्ञानु पौडेलले सञ्चालन गरेको ग्यालेक्सी होटलमा ती १२ जना संक्रमितलाई आइसोलेशनमा राखिएको थियो । सम्भवतः नेपालमै पहिलो पटक यसरी सामुहिक रुपमा आइसोलेशनको लागि होटल उपलब्ध गराइएको सञ्चालकको दावी छ । समाजप्रति केही उत्तरदायित्व पनि रहेको कारण अप्ठ्यारो परेको बेला होटललाई आइसोलेशनको रुपमा प्रयोग गर्न दिएको यसका सञ्चालक ज्ञानु पौडेलले बताईन । ‘प्रायजसो बिरामीहरु सन्चो भएर घर गइरहेको अवस्था छ ।’ पौडेलले भनिन ‘सामाजिक रुपमा विभेदमा परेको संक्रमितलाई हामी अझै पनि आइसोलेशनको रुपमा होटल उपलब्ध गराउन तयार छौं ।’
साउन ३२ गते आइसोलेशन बस्न आएका १२ जना संक्रमितहरुलाई घरकै जस्तो व्यवहार गरिएको सञ्चालकको भनाई छ । पोषणयुक्त खानाको साथै गुर्जो, मरिच, बेसार, अदुवा लगायतको धुलो तातो पानी र दुध नियमित प्रदान गरिएको थियो । यसको साथै समय समयमा होटललाई निसंक्रमण पनि गरिएको होटल सञ्चालकको भनाई छ । घरायसी वातावरणमा सबै संक्रमितलाई सन्चो बनाएर भदौ १४ गते होटलबाट बिदाई गरिएको थियो ।
होटलका अर्का सञ्चालक दिनेश पौडेल माईक्रोबायोलोजी र जनस्वास्थ्य बिषयमा अध्ययन गरेका कारण पनि होटल आइसोलेशन सफल भएको हो । स्वास्थ्य विषयको अध्ययनसहित समाजसेवाको भावनाले संक्रमितहरुको व्यवस्थापन गर्न सहज बनाएको सञ्चालकको भनाई छ । ‘सबै जना संक्रमित हुनुहुन्छ भनेर मानसिक रुपमै तयार थियौ ।’ सञ्चालक दिनेश पौडेलले भने ‘यसले गर्दा संक्रमितको खानपानदेखी सरसफाई र फोहोर व्यवस्थापन र उहाहरुसित सम्पर्क गर्ने माध्यमको पनि व्यवस्थापन गरेकोले थप सहजता आयो ।’

अस्पतालमा समेत स्थान नभएको अवस्थामा होटललाई आइसोलेशन केन्द्रको रुपमा उपलब्ध गराएर ग्यालेक्सी होटलले नमूना काम गरेको स्थानीयबासीहरुको भनाई छ । यसले संक्रमितहरु प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुको साथै भैरहवामा रहेका अन्य होटललाई पनि आइसोलेशन केन्द्रको रुपमा उपलब्ध गराउने नैतिक दबाब दिने उनिहरुको भनाई छ ।
सिद्धार्थनगर नगर पालिका-८ का वडा अध्यक्ष राजनजंग राणाले भैरहवामा आइसोलेशन केन्द्र नभएको र अस्पतालले समेत संक्रमितलाई भर्ना लिन नमानेको अवस्थामा ग्यालेक्सी होटलले ठूलो गुन लगाएको बताए । यस्तै स्थानीयबासी उमेश थापा मगरले होटलको यो कार्यले स्थानीयबासी पनि गर्वित भएको अनुभुती गरेको बताए । समाजमा संक्रमितलाई हेर्ने दृष्टि अब परिवर्तन गर्नु पर्ने उनको भनाई छ ।
प्रतिक्रिया