ताजा अपडेट »

लगानी वातावरणबाट निजी क्षेत्र उत्साहित

विहीबार, १४ चैत्र २०७५


चैत १४,

काठमाडौँ । विगतमा सधैँजसो प्रतिपक्षजस्तै सरकारको आलोचना गर्ने नेपालको निजी क्षेत्र अहिले सरकारको सहयात्रीका रूपमा सक्रिय भइरहेको देखिन्छ । “राजनीतिक अस्थिरता भयो, सरकारले हाम्रा कुरै सुन्दैन, नेपालमा लगानीको वातावरण भएन भन्नेदेखि उद्योगका तालाचाबी नै सरकारलाई बुझाउँछाँै,” भन्दै हिँड्ने निजी क्षेत्रमा पछिल्लो समय आशाको सञ्चार भएको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका नेतृत्वले अहिले निराश अभिव्यक्ति दिन छाडेका छन् । अब ‘केही हुन्छ कि वा गर्न सकिन्छ कि’ भन्ने आशामा उनीहरू पुगेका छन् ।


स्थिर सरकारका कारण बनेको स्थिर राजनीतिक वातावरण, शान्तिसुरक्षाको प्रत्याभूति, निजी क्षेत्रमैत्री कानुनी तथा नीतिगत सुधारका प्रयासजस्ता कारणले निजी क्षेत्रका नेतृत्वको स्वर फेरिएको छ । शुक्रबार र शनिबार हुन लागेको नेपाल लगानी सम्मेलनका सन्दर्भमा सरकारले गरेका नीतिगत सुधारका प्रयास, सहकार्यलगायतका कारण विगतमा आक्रोश र निराश भाव जनाउने व्यवसायी नेतृत्व तहको अनुहारमा मुस्कान र आशाका किरण देखिन्छन् । सरकारले बुधबार आयोजना गरेको लगानी सम्मेलनबारेको पत्रकार सम्मेलनमा उपस्थित व्यवसायीको छाता सङ्गठनको नेतृत्वले यस्तै भाव सञ्चार गरे । 


नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाका अनुसार स्थिर र बलियो सरकार गठनपछि लगानी सम्मेलनको कार्यक्रम बन्दै जाँदा निजी क्षेत्रमा पनि नयाँ ऊर्जा थपिएको छ । “विगतमा विभिन्न लगानीकर्ताका मञ्चमा गएर ‘नेपालमा लगानी गर्नुहोस,’ भन्दा तपाईंको देशमा राजनीतिक सङ्कट छ, सरकार फेरिइरहन्छ, ऊर्जा छैन, हड्ताल छ भन्ने जवाफ सुन्नुपथ्र्यो,” –राणाले भन्नुभयो, “अहिले इतिहासकै बलियो र स्थिर सरकारले समृद्विको लक्ष्यसहित लगानीकर्तालाई अनुकूल वातावरण बनाउँदै छ । हामीले पनि ढुक्क भएर लगानी आह्वान गर्नसक्ने अवस्था बनेको छ । लगानीकर्ता आकर्षित हुने अवस्था छ ।”


राणाको भनाइलाई पछ्याउँदै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानी वातावरण अनुकूल बनेको सन्देश विश्वभर नै पुगेको बताउनुभयो । “नेपालमा लगानी गर्ने नगर्नेबारे लगानीकर्ताले आफ्ना दूतावासबाट विवरण मगाउँछन् । विगतमा त्यस्ता दूतावासबाट सकारात्मक सन्देश पाउँदैन थिए ।” उहाँले भन्नुभयो, “अहिले अवस्था फेरिएको छ । सबै दूतावासले नेपालको अवस्था सुध्रिएकोे ब्रिफिङ गर्दा रहेछन् । यो सम्मेलनमा विदेशीको उपस्थिति यसैले पनि बढी भएको हो ।” 
नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपाल लगानी प्रतिफलको दर राम्रो मात्र नभएर उत्कृष्ट रहेको ठोकुवा गर्नुहुन्छ । “विगतमा नेपाल लगानीको उपयुक्त गन्तव्य मानिँदैनथ्यो तर अहिले अवस्था फेरिएको छ,” उहाँले भन्नुभयो, “लगानी गरेर धेरै कमाउन सक्ने अवस्था बनेको छ । रेट अफ रिटर्न राम्रो मात्र होइन उत्कृष्ट छ । यो कुरा विदेशी लगानीकर्तामाझ सम्मेलनमा बाँड्नु छ ।”
लगानीको वातावरण बनाउने लक्ष्यसहित सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधनसमेत गरिसकेको छ । अर्थमन्त्री युवराज खतिवडाका अनुसार आगामी संसद् अधिवेशनमा पारित गर्नेगरी बौद्धिक सम्पत्तिमाथिको अधिकार ऐन, औद्योगिक व्यवसाय ऐन र कम्पनी ऐन पनि बन्दैछन् । “यी कानुन पनि लगानी सम्मेलनअघि नै पारित गराउने सरकारको योजना थियो तर समय पुगेन,” उहाँले भन्नुभयो, “आगामी संसद्मा पारित गराउने गरी तयारी भइरहेको छ ।”


लगानी सम्मेलनले स्वदेशी निजी क्षेत्रलाई विदेशी लगानीकर्तासँग सम्बन्ध विस्तारको अवसर पनि उपलब्ध गराउँदै छ । सम्मेलनका निर्धारित सत्रमा आपसी छलफलका अतिरिक्त रुचि लागेका स्वदेशी र विदेशी लगानीकर्ताबीच विभिन्न बीटुबी, साइडलाइन वार्ता पनि हुनेछन् । अर्थमन्त्री खतिवडाको ठम्याइँ छ, “नेतृत्वदायी भूमिका निर्वाह गर्दै विदेशी लगानीकर्तालाई परिचालन गर्ने अवसर नेपालको निजी क्षेत्रले पाउँदैछ ।”- गोरखापत्र