एकपटकमा एउटामात्र वर माग्न परेपछि फसाद भएछ । थुप्रै वर मागौंला भनेर पैदल उकालो हिडी पुगेको भक्तजन दोधारमा परेछ । अब के गरुँ? घोरिएर जुक्ति निकालेपछि चिच्चाएर भनेछ–ए ! सत्यवती बज्यै,मेरो माईलो छोराले माँझ तलाको धनसारको मैन खाँबोमा मोही पारेको देख्न पाम । यो वर एउटै वाक्यमा वा एक सासमा भन्न सकिने खालको छ । चलन नै छ मन्दिरको छेउमै रहेको सत्यवती ताललाई फन्को मारेर घोक्रो फुल्लाएर चिच्चाउने अनि मागेको वर पुग्छ । मागेको वर पुरा भएपछि परेवा उडाउने वा बोका, भाले बली चढाउन फेरि सत्यवती बज्यैको समीपमा पुग्ने।
माथि उल्लेखित एउटै वरमा माईलो छोरो भन्नेवित्तिकै कम्तिमा तीन भाइ छोरा,माझ तला भन्नासाथ तीन तलाको घर, धनसार (अन्न उब्जनी हुने जमिन नभई धनसार त भरिन्न ।) र मोही पार्नका लागि गाईभैसी नभई भएन । लगभग सबै कुरालाई मिलाएर एउटै वाक्यमा मागिएको वरको सान्दर्भिकता र महत्व एवम् वाक्य गठन महत्वपूर्ण मानिन्छ । यो एउटा कहावत हो वा सत्यवती बज्यैसँग सन्दर्भ जोडिएको वर भनेर परिचित छ ।
सायद नेपालका मन्दिरहरुमध्ये सत्यवती बज्यै कहाँ यसरी चिच्याएर वर माग्ने चलन पहिलो वा एकमात्र हुन सक्छ । भन्नेहरुले सत्यवती बज्यै शारीरिक रुपमा कानको अपाङ्ग थिइन् । अर्थात् उनी बहिरी (कान नसुन्ने) थिइन् रे ! संस्कृतिविद् झपेन्द्रबहादुर जीसी त्यसो मान्न तयार छैनन् । उनी थप्छन् –अरुलाई आशीर्वाद दिने देवी वा बज्यैहरु नै कहि बहिरी हुन्छन् र ? बज्यैले मागेको वर नै नसुन्ने भए कसरी पूरा गरिदिइन् त ? कार्तिक शुक्लपक्ष चर्तुदशीमा (तिहारपछिको पूर्णिमा कार्तिकमा परेमा जोग परेको मानिन्छ ।) जोग पर्छ । जोग परेमा भव्य मेला लाग्छ । मेलामा देशका करिव ५० जिल्लाका लाख बढी भक्तजनहरु कोही वर माग्न आइपुग्छन् भने कोही मागेको वर पूरा भएपछि बली चढाउन । मेलाका बेला मन्दिरमामात्र होइन त्यहाँ पुग्ने बाटाहरुमा समेत खुट्टा राख्ने ठाउँ समेत हुँदैन । तीन रात, चारदिनसम्म अखण्ड मेला लाग्छ । खानपिन र रमाईलो बिपत्ता हुने गर्छ ।
सत्यवती बज्यैको मन्दिर र सत्यवती ताल रहेको क्षेत्रलाई लगाढ गाउँ भनिन्छ । लगाढ गाउँमा करिव तीनबीसे घरहरु छन् । सबै घरहरु मगर जातिकै । जनसंख्या तीनसय बढी नै छ । गाउँमा बाटो पुग्यो । बिजुली पुग्यो, पानीका धारा गाउँमै छन् । गाउँमै एनटीसी, स्मार्ट र एनसेलका टावर छन् तर वाइफाई भने चलाउन पाएका छैनन् । निकट भविष्यमै सबैका मोबाईलमा वाइफाई जोड्ने र लगाढलाई पर्यटकीय गाउँ बनाउन लाग्नेछु –तिनाउ गाउँपालिका वडा नं. ४, पाल्पाका वडाध्यक्ष दानबहादुर गाहा मगरले बताउँदै थिए । झुम्सा, पानीमिलबाट उकालो वा चौबीस माईलबाट पारि तरेपछि उकालो हुँदै सत्यवती ताल, मन्दिर र लगाढ गाउँमा पुग्न सकिन्छ ।
समुद्री सतहदेखि करिव एकहजार एकसय मीटर हाइटमा छ लगाढ गाउँ भने मन्दिर र ताल एक हजार तीन सय मीटर उचाइँमा । तीन रोपनी जग्गामा फैलिएको उक्त ताल चुरे र सीमसार क्षेत्रमा पर्ने दुर्लभ ताल हो । चैत्र,बैसाख महिनामा पनि तालमा पानी सुक्दैन । दलदल रहिरहन्छ ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले २०७३ सालमा मन्दिर र ताल संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पुराएको थियो । मन्दिर र तालका वरिपरि फूट ट्रेल, सेडहरु बनाउन सहयोग पुराएको थियो । सोही समितिले २०७४ सालको पौष २६ गते पाँच घरमा सत्यवती ताल सामुदायिक होमस्टेको औपचारिक उद्घाटन गरेको थियो । अहिले यो गाउँम नौ घरमा होम स्टे सञ्चालनमा छन् ।
सत्यवती ताल सामुदायिक होमस्टे व्यवस्थापन समिति गठन गरी होमस्टेको अध्ययन गर्न कावासोतीको अमलटारीमा भएको होमस्टे अध्ययन गरी गाउँमै सञ्चालन थालिएको सो समितिका अध्यक्ष ओमप्रकाश गाहाले भन्दैथिए– गाउँमा होमस्टे चलेपछि गाउँलेहरुको आम्दानी बढेको छ । गाउँको उत्पादन गाउँमै खपत भएको छ । गाउँका दिदीबहिनीहरुमा स्वागत सत्कार र सम्मान गर्ने संस्कारमा वृद्धि भएको छ । सांस्कृतिक कार्यक्रम देखाउन थालेपछि संस्कृति संरक्षणमा मद्दत पुगेको छ र पकाउने कलाको समेत विकास भएको छ । लगाढ गाउँले नयाँ परिचय पाएको छ ।
विभिन्न संघसंस्थाहरुले होमस्टे सञ्चालकहरुलाई खाजा, खाना पकाउने तालिम दिएको र सन् २०१८ को अप्रिल महिनामा त दुई दिवसीय खाना महोत्सव सम्पन्न भएका छन् । प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, वर्तमान बाग्मति प्रदेशका मुख्यसचिव डा.मानबहादुर बिके समेत सत्यवती होमस्टे र मन्दिर, तालको अवलोकन र होमस्टेको स्वाद लिन पुगेका छन् । सत्यवती ताल संरक्षण तथा विकास समितिले यस क्षेत्रको विकास निर्माणमा जोड पुराएको छ । मन्दिर र तालको डीपीआर समेत आफ्नै लगानीमा सम्पन्न भइसकेको समितिका अध्यक्ष तिलबहादुर रानाले बताए । प्राचीन सत्यवती ताल र मन्दिरको गरिमा र महिमा देशका हरेक क्षेत्रमा फैलाउन सक्ने मात्र हो भनेपनि यसैको आम्दानीले मन्दिर र तालको संरक्षणका लागि कसैलाई गुहार्नै पर्दैन ।
प्रदेश सरकारको सहयोगमा गत आर्थिक वर्षमा २० लाख वजेटबाट ताल संरक्षण कार्यक्रम,खोल्साको पानी संकलनका लागि इन्टेक बनाउने काम,मन्दिर परिसरलाई फैलाउने र फूट ट्रेललाई विस्तार गर्ने कार्यक्रमहरु सम्पन्न भएको समितिका सचिव एवम् सामाजिक व्यक्तित्व लालबहादुर दर्लामीले बताए । मगर संस्कार र संस्कृतिको धनी लगाढ गाउँमा खासगरी श्रीपञ्चमी, फागुन १५ मगर दिवस र कार्तिक शुक्लपक्षमा जोग परेको बेलामा लाग्ने मेला मुख्य पर्वहरु हुन् । दशै, तिहारलाई खुबै मनाउँछन् गाउँलेहरु ।
गाउँमा सत्यवती आधारभूत विद्यालय छ । जहाँ पाँच कक्षासम्म पढाइ हुन्छ । ४६ जना विद्यार्थी पढ्छन् । जीतबहादुर पल्लीले हेडमास्टरी गरेकै छन् । उनी पुराना पाका रैथाने समेत हुन् । गाउँमा सत्यवती युवा क्लव, सत्यवती महिला समूह, सत्यवती धार्मिक वन, सत्यवती महिला सामुदायिक वन र सत्यवती सामुदायिक वन उपभोक्ता समूह छन् । गाउँका विकासका लागि तन,मन र धन दिएका छन् । सत्यवती स्वालम्वन वचत तथा ऋण सहकारी संस्थाले गाउँलेहरुको आर्थिक चाँजोपाँजो मिलाउन सहयोग गरेको छ ।
गाउँका जमिनहरुमा धान, मकै, कोदो, गहुँ, फापर, सिल्टुङ्ग, मास फल्छन् । पहिला पहिला स्थानीयहरुले केरा र बेसारसँग चामल, खुदी साट्न तराईका बजारहरुमा पुग्ने गर्थे । दालचिनीले धेरैको जीवन जोगाएको छ । पिंडालु, आलु, भूइँकटहर, बेलौती, मेवा, आँप, सेमी, फर्सी, साग, सिस्नु र निउरो प्रशस्तै फल्छन् । यहाँको उत्पादनहरुले गाउँलेहरुलाई जेनतेन ६ महिना खान पुग्छ । स्थानीय युवाहरु नेपाल आर्मी,नेपाल प्रहरी, सशत्र प्रहरी, शिक्षक र निजामतिमा जागिरे छन् । दुबई, कतार, मलेसियामा पुगेर गाउँमा पैसा पठाउनेहरु २५ जनाभन्दा नि मस्तै छन् । सत्यवती मेलामा केरा, तरुल, कोदोको जुस बेचेर पनि जीवन निर्वाह गर्न सहयोग पुगेकै छ ।
गाउँमा १२ पास गरेका सात जना छन् भने दुईजना चेलीले स्नातकोत्तर गरी बिहे गरिसके अनि आफ्नै कर्मघर गईसके । गाउँमा मागी र भागी विहे दुबै किसिमका छन् । अर्मपर्म अझै हराएको छैन । ऐचोपैचो पनि गजवले नै चल्छ । पेवा प्रथा कम हुँदै गएको छ । गाउँमा प्रायःसबै आफन्तीहरु नै छन् । जातीय एकता र काममा सबैको सामुहिक ऐक्यवद्धता छ । गाउँमै सत्यवती बज्यैको मन्दिर भएकोले होला दिदी/बहिनीहरुले मासिक श्राव वा रजस्वलालाई कडाइएका साथ बार्छन् । स्थानीय महिला अगुवा दिलकुमारी सुनारीले भनिन्–हामीहरु सबैले महिनावारी संस्कारलाई पूर्णपालना गर्दै आएका छौं ।
सुन्दर मनोरम र हेर्दै रहर लाग्ने लगाढ गाउँमा हिमाल हेर्नका लागि काठको भ्यू टावर (काठको मचान) बनाइएको छ । सुन्दर हिमाल छ्वाक्कै देखिन्छन् । तराईका फराकिला फाँटहरुले मोहनी लगाउँछन् । गाउँमा चाक्ला गह्राहरु छन् । रहर लाग्दा कुखुरा र पशुपालन गरेका छन् । अम्रिसो पनि लगाएका छन् । व्यवसायिक तरकारी खेतीमा ध्यान दिदैछन् ।
सत्यवती तालबाट बुढी सत्यवती ताल जाने नयाँ बाटो खोल्न वडापालिकाले यसपालिको वजेटमा रकम छुट्टाएको छ । गिजिनचौर नजिकै ढुंगाहरुको डाँडालाई पेन्गुईन रक्गार्डेन बनाउने सपना गाउँपालिकाले स्थानीयहरुको सहयोगमा सोचेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले सुनाए । लगाढ गाउँलाई केन्द्रबिन्दू बनाएर रिङ्गरोड बनाउन सकिने हो भने अझै सुन्दर देखिने छ।
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र पूर्वाधार, समृद्ध तिनाउको मूल आधार भन्ने मूलमन्त्र वा नारालाई पूरा गर्न तिनाउ गाउँपालिकाले धार्मिक, ऐतिहासिक, कृषि एवम् सांस्कृतिक रुपले धनी लगाढ गाउँलाई विकास गर्न सकेमा पर्यटन प्रवद्र्धन सम्भव छ ।
जाऔं है लगाढ गाउँ अभियानलाई सार्थक बनाउन स्थानीयहरुले होमस्टे प्याकेज र ताल विकास समितिले जोग परेको समय बाहेक अन्य समयमा समेत मन्दिर दर्शनको कार्यक्रमलाई अघि सारेमा पक्कै पनि यस क्षेत्रको धार्मिक एवम् सांस्कृतिक पर्यटन प्रवद्र्धन हुने सम्भवना बढेर जाने छ ।
प्रतिक्रिया