केही राम्रा कामहरू या गुणहरूको आधारमा यथार्थ रूपमा गरिएको कसैको तारिफलाई प्रशंसा भनेर बुझिन्छ । प्रशंसा दुई किसिमको हुने गर्दछ साँचो प्रशंसा र झुटो प्रशंसा । साँचो प्रशंसा यथार्थपरक हुन्छ यो हृदयबाट गरिन्छ भने झुटो प्रशंसा बढाई चढाई या चाप्लुसीले भरिएको हुन्छ यो जिब्रोबाट गरिन्छ । साँचो प्रशंसालाई बाह्रमासे फूललाई जस्तै हर मौसममा स्वागत गर्ने गरिन्छ तर झूटो प्रशंसालाई राम्रो मानिदैन । साँचो प्रशंसाले काम गर्ने मानिसमा सकारात्मक ऊर्जा थप्ने काम गर्दछ । झूटो प्रशंसा भने नक्कली रुपियाँ जस्तै हुन्छ यसले केही काम गर्न सक्दैन । साँचो प्रशंसा कुनै राम्रो कामको लागि दिइने सुन्दर उपहार हो ।
प्रशंसामा निकै ठूलो शक्ति लुकेको हुन्छ । यसले अझ राम्रो काम गर्ने प्रेरणा प्रदान गर्दछ । जुनसुकै क्षेत्रमा किन नहोस् साँचो प्रशंसाले काम गर्ने मानिसको आत्मसम्मानमा बृद्धि हुने गर्दछ । यसो हो भने हामी यसलाई परिवार, समाज, कार्यालयमा कत्तिको प्रयोगमा ल्याउने गरेका छौं त ? कतै आफ्नै परिवारका सदस्यहरूका राम्रा खुबी र राम्रा कामहरूको प्रशंसा गर्न चुकिरहेका त छैनौँ ? हामी आफ्ना सन्तानका लागि खाना, खाजा र लत्ता, कपडा, रुपियाँ पैसा त पूर्ति गरिदिएका छौँ तर उनीहरूको सम्झनामा २/४ ओटा प्रशंसाका मिठा शब्द बोल्न कन्जुस्याई गरिरहेका त छैनौँ ? यदि यो बानीको विकास गरिएको छैन भने आजैबाट खुलेर साँचो प्रशंसा गर्ने बानी बसालौँ । सानासाना काममा पनि हौसला प्रदान गरौँ । १/२ महिना मात्र आ–आफ्नो परिवारमा यसलाई प्रयोग गरौँ । अनि हेरौँ त यसको नतिजा कस्तो भएर आउला । अवश्य पनि प्रशंसाले हरेक व्यक्तिमा आत्मसम्मान बढाउने छ । कामहरू अझ राम्रो भएर जानेछन् । निःस्वार्थ प्रशंसाले मानिसको जीवनमा उल्लेख्य परिवर्तन ल्याउने गर्दछ । प्रशंसा सलाईको काटी समान हो यो जब कसैको हृदयमा ठोकिन्छ अनि हृदयको दीप बल्न थाल्छ र सिङ्गो हृदयलाई मात्र नभएर समाज र राष्ट्रलाई नै प्रकाशमय बनाउने काम गर्दछ । हाम्रो सानो प्रशंसा कसैको लागि नयाँ जीवनको सुरुवात हुन सक्दछ ।
हामीमध्ये धेरै जना आफ्नै बारेमा घोत्लिन्छौँ अरुको बारेमा कम सोच्छौँ, अरुमा भएका क्षमताको खोजी गर्ने गर्दैनौँ । अरुका कमजोरीबाट सिक्ने बानीको विकास गर्दैनाँै । हरेक मानिस ईश्वरका सुन्दर सृष्टि हुन् जुन बाबुआमामार्फत् यस धर्तीमा जन्म लिएका उत्कृष्ट नमुना पनि हुन् । यसर्थ हरेक मानिसलाई पढ्न सक्नुपर्दछ । हरेक मानिसमा केही न केही फरक गुण अवश्य रहेको हुन्छ। बच्चाबच्चीका उत्कृष्ट नतिजाको सम्मान र प्रशंसा गर्ने बानीको विकास गर्नुपर्दछ ।
उनीहरूका रचनात्मक कामहरूको प्रशंसा गर्नुपर्दछ। बच्चाबच्चीलाई अभिभावकले दिने समर्थन र चासोले निकै खुसी बनाउने गर्दछ । उनीहरूका बिचारहरूलाई सुन्ने बानीको विकास गर्नुपर्दछ । हरेक मानिस आफू प्रशंसित भएको रुचाउने खालका हुन्छन् यो मानवीय गुण हो । यो गुण हाम्रो परिवारका सदस्यमा पनि हुन्छ । यसैगरी बाहिरी परिवारका मानिसमा पनि रहेको हुन्छ । कार्यालयका कर्मचारीमा रहेको हुन्छ । हामी आफ्नो दैनिक जीवनमा उनीहरूको लागि मित्र बन्ने कोसिस गर्नुपर्ने हुन्छ । हरेक काममा प्रेरणा दिने बानीले मानिसमा उल्लेख्य सुधार ल्याउँछ । बच्चाहरूलाई साथीहरूको माझमा प्रशंसा गरिदिँदा निकै सकारात्मक बन्न सक्दछन् ।
साथीहरूको माझमा प्रशंसा पाउँदा असक्षम कामदार पनि सक्षम बन्न सक्दछन् । कामचोर कर्मचारी काम गर्ने हुन सक्दछन् । अल्छी सिपाही जाँगरिला हुन सक्दछन् । उसो हो भने हामी हाम्रा बालबच्चाहरूलाई साथीहरू, मित्र मण्डलीका सामु खिल्ली उडाएर ठिक पार्ने प्रवृत्तिलाई हटाउनु पर्दैन र ? बच्चाबच्चीलाई गाली गरेर, हप्काएर, दप्काएर कसैगरी पनि परिवर्तन गर्न सकिँदैन । हाम्रा बच्चाबच्ची भनेका हामीले दैनिक हेर्नुपर्ने ऐनाजस्तै हुन् । उनीहरूमै हाम्रो आगामी सम्पत्ति र भविष्य अडेको हुन्छ । हाम्रो आकृति बच्चामा देखिने होइन र ? उसो हो भने ऐना फुटाएर त्यसलाई जोड्न खोज्नु कत्तिको सार्थक सिद्ध होला ? मलाई लाग्दछ हामी बच्चाहरूको शाषक बन्ने होइन साथी बन्न सक्नुपर्दछ ।
सर्वगुण सम्पन्न कोही पनि हुन सक्दैन यदि हुन्छ भने त्यो मानव नै हुन सक्दैन ऊ त स्वयम् भगवान हुन्छ । यसो हो भने हामी हाम्रै कमी कमजोरीको मूल्यांकन गर्नुपर्दैन र ? बच्चामा सुधार ल्याउनुभन्दा अगाडि हामी आफै सुध्रिनु पर्दैन र ? बच्चालाई पढ् पढ् कति मोबाइलमा झुण्डिएको भन्नुभन्दा अगाडि आफूले के गरिरहेका छौँ ? कसरी समय बिताएका छौँ भन्ने कुराको समीक्षा गर्नुपर्दैन र? हामी बच्चालाई आलोचनाको वातावरण दिइरहेका छौँ या प्रशंसाको खोजी गर्नुपर्दैन र ? असल कर्मले मानिसलाई भगवान समान बनाउँछ । राम र रावणको अनि कंश र कृष्णको राशी एउटै थिएन र ? तर कर्मले गर्दा राम भगवान बनेर पूजिए उता रावण रावण नै रह्यो । यस्तैगरी कृष्णलाई पनि हेर्न सकिन्छ । हामी हाम्रा सन्तानलाई के बनाउने बाटोमा हिँडाइरहेका छौं त ? राम या रावण ? कृष्ण या कंश ? आफैमा समीक्षा गरौँ, सुधार गर्नुपर्ने देखिन्छ भने आफैबाट सुधार गरेर हेरौँ ।
मानव जीवनको बाटो हिँड्ने अवसर हामीलाई एकपटक मात्र प्राप्त हुने गर्दछ । भगवानले आफ्ना सुन्दर र उत्कृष्ट नमुनारूपी बच्चाहरू हामीलाई उपहारस्वरुप सुम्पनुभएको छ । जसरी हामी कुनै उपहार कसैलाई दिनुप¥यो भने त्यसमा लगाइएको रकमको लेबल उक्काउँछौं । यता उता फर्काएर हेर्छौं । सबै तरिकाले ठिक छ भनेपछि मात्र हामी त्यो उपहारलाई सुन्दर र्यापिङ पेपरले कभर गर्दछौँ अनि मात्र जसलाई दिनुपर्ने हो उसलाई दिने गर्दछौँ । त्यस्तै भगवानले पनि हामीलाई सुम्पिनुभएका हाम्रा बच्चाबच्ची हाम्रा लागि भगवानका सुन्दर उपहार हुन् हजार पटक चेक गरेर यो बच्चा यी मातापितालाई दिँदा उत्कृष्ट हुनेछ भन्ने ठहर गरेर मात्र हामीलाई दिनुभएको भन्ने सोचौँं । यसरी सोच्न सकियो भने हामी कति पानीमा छौँ भन्ने स्पष्ट हुनेछ । हाम्रा व्यावहार, हाम्रो कर्म र हाम्रो धर्म हामीले थाहा पाउने छौँ ।
यी सुन्दर उपहारलाई राम्रोसँग संरक्षण गर्ने हो भने हामी पनि हामीले भेट्ने प्रत्येक मानिसबाट केही न केही सिक्ने कोसिसमा लागौँ । आफूले सिकेका कुरा बच्चाबच्चीलाई सिकाउन ढिला नगरौँ । आफ्नो प्राप्ति र चाहनामा हराउने बानी छोडौँ । अरुमा अन्तरनिहित क्षमताबाट केही कुरा सिक्ने कोसिस गरौँ । हामी आफै इमान्दार र निस्कपट बन्न सुरु गरौँ । हामी पनि अरुका खुबीहरूको प्रशंसा गर्ने बानी बसालौँ र बच्चाहरूलाई प्रशंसाको वातावरणमा हुर्काउने जमर्को गरौँ । यसो गर्दै गयौँ भने हाम्रो परिवार सुन्दर बन्ने छ, परिवार सुन्दर भयो भने समाज सुन्दर बन्ने छ । समाज सुन्दर भयो भने राष्ट्रसमेत सुन्दर बन्ने छ ।
सबैको कल्याण होस् , सबैको जय होस् ।
प्रतिक्रिया