बुटवलको शिर एवम् ऐतिहासिक पर्यटन क्षेत्र नुवाकोटबाट पश्चिम क्षेत्र डाँडैडाँडा करिब दुई घण्टा पैदलयात्रा गरेपछि स्वच्छ र शान्त हरियाली गाउँ आइपुगिन्छ । त्यस्तै तिनाउ १ मा अवस्थित बौद्ध बिहार र रेम्बो पार्कको नामबाट प्रख्यात हुँदै गएको झिगामाराबाट पूर्वपट्टि करिब डेढ घण्टा पैदल हिडेपछि हरियाली गाउँमा आइन्छ । नुवाकोट विकास समिति पाल्पाद्वारा पर्यटन प्रवद्र्धन र विकासका लागि लगातार विभिन्न क्रियाकलापहरु हुँदै आएका छन् ।
भविष्यलाई लक्षित गरि यहाँ सुविधा सम्पन्न होटेल तथा रिसोर्टहरुको भौतिक संरचना धमाधम निर्माण हुँदै आएका छन् । नुवाकोट क्षेत्रमा प्रतिष्ठित नेताहरु, ब्यापारी, उद्योगी र कर्मचारीहरुले जग्गा खरिद गर्ने होडबाजी चलेको छ । झिगामारामा ठूल्ठूला पोल्ट्री फार्म, होटल, उद्योगहरु बन्दै गएका छन् ।
नुवाकोट र झिगामाराको बीचमा रहेको हरियाली गाउँ बत्तीमूनिको अँध्यारोका रुपमा किन रह्यो ? सोच्ने बेला आएको छ । पहिलो कुरा यो हरियाली गाउँमा जनसंख्या कम छ । शिक्षा र जनचेतनाको कमी छ । दोस्रो राज्यको निकायमा यहाँका नागरिकका सीधै पहुँच छैन । पर्यटन क्षेत्रमा राम्रो भविष्य बोकेको यहाँको समग्र विकासको लागि राज्यका हरेक निकायमा सुमधुर सम्बन्ध स्थापित गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । चुनावका बेला आउने नेताहरुले यो गाउँलाइ स्वर्गको एउटा टुक्रा हो भनी परिभाषित गर्छन् । विभिन्न आयोजनाहरुका लागि वजेटका आश्वासन दिन्छन् । त्यतिमात्र होइन समथर महाँपुर फाँट र हराभरा डाँडाहरुमा घडेरी किनेर तपाइँहरुको छिमेकी बन्छौंँ समेत भन्छन् ।
विभिन्न दलका नेताहरुसँग अहम् प्रश्न छ कि हरियाली गाउँलाई ग्रामीण पर्यटन क्षेत्रको रुपमा स्थापित गर्न सकिन्छ ? जैविक विविधताको धनी र सुन्दर पर्यावरणलाई देखेर जो कोही पनि स्वभाविक रुपमा आकर्षित हुन्छन् । यहाँको स्वच्छ हावा र सफा चिसो पिउने पानी प्रकृतिले निःशुल्क दिएको बहुमूल्य सम्पत्ति हुन् । गर्मीको बेला अत्यधिक गर्मी र जाडोयाममा सेताम्मै कुहिरो लाग्ने बुटवलको नजिक रहेको हरियाली गाउँमा, गर्मीमा सिरक ओढ्ने र जाडोमा टहटह घाम ताप्न पाइन्छ । यहाँको वातावरणीय विशेषता नै हो यस्तै छ ।
प्राकृतिक स्रोत र साधनले सम्पन्न हरियाली गाउँबाट दक्षिणतर्फ विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आफ्नो आँखा अगाडि आँगन जस्तै देखिन्छ । उत्तरतर्फ रिङ्सिङ लेक, रिब्दिकोट, जन्तीलुङ्ग , पाटन देखिन्छन् । यस्तो लाग्छ कि हरियाली गाउँको राजाबस्ने धूरी र रिङसिङ लेकले मितेरी गाँस्न सम्मुख भै खडा भएका छन् । राज्यका निकायहरुको पर्याप्त ध्यान र यहाँका सम्पूर्ण बासिन्दाहरुमा इच्छाशक्ति र जनचेतना भएमा यहाँ ब्यवस्थित तरिकाले होमस्टे सञ्चालन गर्न सकिन्छ । होमस्टे प्रवद्र्धन गर्न प्राकृतिक स्रोत एवम् भौगोलिक अवस्थितिले राम्रो साथ दिएको छ । मानवीय विकास, पूँजी र दीर्घकालीन योजनाको खाँचो छ ।
पर्यटन क्षेत्र सम्बन्धि आवश्यक भौतिक पूर्वाधारको विकास गरेमा नुवाकोट र झिगामारामा मनोरञ्जन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु बेलुका बास बस्न र खाना खान हरियाली गाउँका होमस्टेमा आउनेछन् । ती पर्यटकहरुलाई गाउँमा उत्पादित कोदोको जुश, रैथाने कुखुरा, खसीको परिकारहरुबाट स्वागत गर्दा पाहुनाहरुको बाक्लो उपस्थिति हुने छ । त्यस्तै यहाँका खोलामा पाइने झिगे माछाका परिकार पनि सम्झना योग्य हुने छ ।
प्रदेश सांसद वसन्त घर्तीमगरको पहलकदमी अनुसार आ.व. २०७६/२०७७ बाट नुवाकोट बल्ढेङगढी पर्यटकीय पदमार्गको आयोजना परी आवश्यक कार्य सुचारू हुँदै आएको छ । पदमार्गको केन्द्रबिन्दू हरियाली गाउँ हो । यो पदमार्गको आयोजना अनुसार ठाउँ-ठाउँमा हील स्टेशन, भ्यू टावर तथा प्रतीक्षालयहरु निर्माण गर्न जरुरी देखिन्छन् । गाउँमा होमस्टे सुरु भएमा गाउँलेहरुले आम्दानी गर्नेछन् । दुःखका दिनहरु क्रमशः घट्दै खुसीका पलहरु गन्न पाइने छ ।
प्रतिक्रिया