ताजा अपडेट »

भदौ अन्तिमदेखि गुल्मीमा पिसिआर परीक्षणको तयारी

शुक्रबार, १२ भदौ २०७७

गुल्मी । गुल्मीमा कोरोना परिक्षण हुने भएको छ । जिल्लामा पिसिआर ल्याब तथा ५० बेडको आइसोलेशन हाउस सञ्चालनको लागि यहाँका स्थानीय तहहरुले तयारीलाई अगाडी बढाएका छन् । जिल्ला स्तरीय विपद् व्यावस्थापन समितिले तीनै तहका सरकार र निजी क्षेत्रहरुको सहयोग तथा समन्वयमा प्रयोगशाला र आइसोलेशन सञ्चालनमा ल्याउने भएको हो । गुल्मीको सदरमुकाम तम्घासमा कोरोना परिक्षण गर्न परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले कोरोना परिक्षण गर्ने पिसिआर मेशिन गत साउनमा रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।

मन्त्री ज्ञवालीले जिल्ला विपद व्यवस्थापन समिति मार्फत रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालललाई मेसिन प्रदान गरेका थिए । प्रदान गरिएको मेसिनलाई प्राविधिक कारणले चिनमा पठाइएको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले बताए । नगरपालिकालाई बिग्रेको मेसिन दिएको भन्ने हल्ला भएको मेयर भुसालले बताए । मेशिनमा प्राविधिक कुराहरु मिलाउन पठाइएको नगर प्रमुख भुसालको भनाई छ ।

केहि दिनमा सोहि मेशिन वा अर्को मेशिन आउने र केहि दिनमै जिल्लामा कोरोना परीक्षण हुने भुसालको भनाई छ । ‘उताबाट मेशिन आउन ढिलो गरे प्रदेशबाट मेशिन ल्याएर भएपनि जिल्लामा कोरोना परिक्षण अगाडी बढ्छ ।’–नगरप्रमुख भुसालले भने ‘ठूलो विपत्ति नआए भदौ २५ गतेबाट जिल्लामा कोरोना परिक्षणको लागि तयारी अगाडी बढाइएको छ । रेसुङ्गा नगरपालिका मार्फत प्रयोगशालाका अन्य उपकरण खरिद गर्न छलफल भइरहेको छ ।’

उपल्लो तम्घासमा तत्कालिन महिला विकासको कार्यालयमा ल्याव सञ्चालन गर्ने निर्णय भएको छ । कोरोना परिक्षण गर्न जिल्लाका १२ वटै स्थानीय तहले सहयोग गर्ने गरि तयारी गरिएको हो । जिल्लाबाट कोरोना परिक्षणको लागि भैरहवा पठाउनु पर्ने र रिर्पोट आउन धेरै समय लाग्ने भएपछि केहि समय पहिलेबाट स्थानीय तहले सदरमुकाम तम्घासमा कोभिड अस्पताल र ल्याब सञ्चालन गर्न प्रयत्न गरिरहेका छन् ।