दैलामूनिको पालुङ्गे साग
ए ! दिदीबहिनी हो झटपट टिपेर खाम ३
२२ सालमा मोटरै आयो
ए ! दिदीबहिनी हो झटपट हेरन जाम ३
(यो तीजको गीत संस्कृतिकर्मी झपेन्द्रबहादुर जीसीसँग सापट लिइएको हो ।)
सिद्धार्थ लोकमार्ग बुटवल–तानसेन खण्ड सर्भे भएर बाटो खन्न थालेको २०१८ सालतिर हो भन्छन् स्थानीय पाका पुरानाहरु । बाटो खन्न २०१८ सालदेखि सुरु भएता पनि केही समय स्थगित भयो । २०२१ सालदेखि बाटो खन्ने कामले निरन्तरता पायो । २०२२ मा डुम्रेदेखि प्रभाससम्म रसियन जीपहरु चल्थे । देख्ने,जान्नेहरुले २०१८ देखि सुरु भएर २०२८ सम्ममा पूर्णरुपले बाटो खन्ने कार्य सम्पन्न भएको भन्छन् । उल्लेखित तीज गीतले डुम्रे, नयाँपार्टी, प्रभासमा २०२२ सालतिर मोटर आइपुगेको संकेत वा प्रमाणित गर्छ ।
सिद्धार्थ लोकमार्ग बनेपछि बटौली बजारबाट नून, तेल, मरमसला, तमाखु, लत्ताकपडा र खाद्यान्न लिएर नुवाकोट, जारकाटे(गणेशटोल), नयाँबजार, बोटेगाउँ, सालबास, रानीबास, मरेक, सिस्ने खोलाहुँदै मस्यामकाे हटिया पुग्ने गर्थे पैदलयात्रीहरु । हटिया पुगेपछि एउटा बाटाे गुल्मी तम्घासतिर फाट्थ्याे भने अर्काे बाटाे बाग्लुङ, म्याग्दी, पाेखरातिर लाग्थ्याे। हटिया त्यतिबेलाको खास पहाडी मुकाम थियो । घोडा,खच्चरहरु लाहुरेका सामान बोक्न लाम लाग्थे । नुवाकोटमा छोटी भन्सार जस्तै सानो चौकी थियो भन्ने कुरा अजम्बरध्वज खातीको संस्मरणमा लेखिएको गीतले जनाउँछ । त्यतिबेला सुरक्षालाई धेरै ख्याल गरिन्थ्यो भन्ने सन्देश दिन्छ यो गीतले ।
जानेलाई जान देऊ चौकी
दुनियाँलाई रोकेर काम छैन ।
जब सिद्धार्थ लोकमार्ग खुल्यो अनि बुटवल,नुवाकोट,रानीबास,हटियाको पैदल यात्रामा बिस्तारै बिर्को लाग्यो । ती गाउँहरु क्रमशः रित्तिदै गए अर्थात् कवि श्यामलले भने झैं रित्तो गाउँ । स्थानीय होटल तथा पसलेहरुले बाँच्ने विकल्प खोज्दै गए । ती बस्तीहरुमा होटल, पसल चलाउनेहरुमध्ये केही केराबारीमा चिया पसल र होटल चलाउन पुगे । साविक जिल्ला विकास समिति, पाल्पाका सभापति झपेन्द्रबहादुर जीसी भन्दै थिए–२०२४ साल माघ महिनामा म केराबारी पुग्दा दुई घरमात्र थिए । त्यहाँ बाटो खन्ने मजदूर (उनीहरुलाई कुल्ली भनिन्थ्यो ।) हरुलाई चिया खुवाउन टीनका बट्टामा चिया पकाइदै थियो । उतिबेला एक गिलास चियाको मूल्य १०/१५ पैसा पथ्र्यो । केराबारीको खास नाम रन्गुवा गैह्रा थियो । पहिला कल्याणी स्कूल भएनिरको डाँडालाई रन्गुवा डाँडा भनिन्थ्यो–मस्याम गाविसको पूर्वअध्यक्ष पूर्णबहादुर खाम्चाले सो इतिहास खोले । उनका अनुसार मरामकोटेहरुको बेसी थियो रन्गुवा गैह्रा ।
त्यो उनीहरुका खेतीपाती गर्ने थलो थियो । वर्खामा खेतीपाती गर्न आउँदा गाईगोरु अहिलेको सिद्धगुफा भएको ठाउँमा बाँधेर राख्थे ! वर्षेखेती गरेपछि बस्तुभाउलाई आफूहरुसँगै गाउँतिर लान्थे।
रन्गुवा गैह्रामा अत्यन्तै धेरे केराहरु पाइने भएकोले बाटो खन्ने पूर्वेली र भारतीय मजदूरहरुले पाकेका केरा खाँदै बाटो खन्थे ! केरा धेरै पाइने भएको हुँदा उनीहरुले रन्गुवा गैह्राको नाम नै परिर्वतन गरी केराबारी पो राखी दिए । सो कुरा उनै जीसी र खाम्चा बाले बताएका हुन् । बाटो बन्यो, साधन चले तर ती मजदूरहरु अहिले कहाँ पसिना बगाउँदै होलान् । कतिले यो धरती छाडिसके होलान् । त्यही बाटो खन्ने मध्येका मानबहादुर विश्वकर्मा अहिलेसम्म केराबारी छाड्न सकेका छैनन् । सिद्धार्थ लोकमार्गमा पसिना बगाउने तिनै मानबहादुर जिउँदा इतिहास हुन् तर पुराना कुराहरु उमेर अवस्थाले भुल्दै गए ।
केराबारीमा सुरुमा होटल गर्न चम्पा थकाल्नी (गोपाल थकालीका दिदी), दुर्गाबहादुर सारुकी जेठी श्रीमती कमलादेवी सारु,हल्दार बाजे (जगबहादुर रास्कोटी) लगायतका केही ब्यक्तिहरु आइपुगेका थिए भन्ने इतिहासको खोजीमा पुराना गाउँलेहरुबाट थाहा पाउन सकिन्छ । दुर्गाबहादुर सारु तत्कालीन मस्याम गाउँ पञ्चायतका प्रधानपञ्च र जिल्ला पञ्चायत पाल्पाका क्षेत्रीय सदस्य समेत भइसकेका नेता थिए । तत्कालीन समयका लोकप्रिय नेता थिए भन्छन् गाउँलेहरु । सुरुसुरुमा जीप अनि ट्रक चल्थ्यो त्यो बाटोमा अनि दर्शन बस चल्न थाल्यो २०२४ को अन्त्यतिर । धेरै जनताले नबुझेर राजाको बस समेत भन्थे । भारतीय पञ्जाबी सर्दारहरुले ती बसहरु हाँक्ने गर्थे भनेर झपेन्द्र जीसीले सुनाउँदै थिए । नेपालीहरुलाई बस तथा ट्रक चलाउन सिकाउने तिनै सर्दारहरु हुन् । बुटवलदेखि पहाडी बाटाका घुम्ति,उकाली एवम् ओरालीहरुमा हर्न बजाउँदै स्टेरिङ्ग घुमाउने ती चालक सर्दारहरुले आफ्नो जीवनका घुम्तिहरु नेपालमा कटेकै थाहा पाएनन् ।
केराबारीमा पानीका प्रशस्त मूलहरु छन् । चिसोपानीको कारण केराबारी प्रख्यात छ । पुराना गौमुखे धाराहरु छन् । यात्रुहरुले यात्राका थकान मार्न र खाना खान केराबारीका ती धाराहरुमा मुख धुन्छन् । शितलता लिन्छन् र खाना खाएर आफ्ना गन्तव्यतिर लाग्छन् । भन्नेहरुले भनेको सुनिन्छ–केराबारीको भातै मीठो हो कि होटल साहुनीका हातै मीठो ? स–साना चिटिक्क परेका होटल,उस्तै सफासुग्घर अनि मीठो बोलीचाली र सम्माजनक स्वागत एवम् बिदाईले हरेक ग्राहकहरुका मन तान्छन् । केराबारीको खानाले सबैलाई मोहनी लगाउँछ । यहाँको बयान गरी साध्य छैन ।
केराबारीहुँदै पोखरा, म्याग्दी, गुल्मी तम्घास लगायतका स्थानहरुमा जाने यात्रुहरुले यही स्थानमा पसरे खाना खान्छन् । पहिला पहिला अझै धेरै यात्रुहरुले केराबारीमा खाना खान्थे । पछिल्लो पटक नाइट बस चल्न थाले,ठाउँठाउँमा होटलहरु सुरु भए ।
यात्रुहरुले आफ्नै निजी साधनहरु प्रयोग गरेर हिड्न थाले । खाजा खाने जक्सनहरु थुप्रै खुले । सेवा तथा सुविधामा पनि प्रतिस्पर्धा हुन थाल्यो अनि केराबारीमा खाना खानेहरुको संख्या तुलानात्मक रुपमा केही कमी हुन थाल्यो । केराबारीका नयाँ पुस्ताले अहिले होटल,लज,खाजा पसल,फलफूल पसलहरु व्यवस्थित तरिकाले सञ्चालन गरेका छन् । पुराना आफ्ना ग्राहकहरुलाई नयाँ स्वाद चखाउने तयारीमा जुटेका छन् । होटल व्यवसायलाई नयाँ आयाम दिदैं छन् । जेके थापा, राजदीप सारु, सन्तोष गुरुङ, हर्षबहादुर राना जस्ता होनाहार व्यवसायीहरु केराबारीको इतिहासलाई जिउँदो राख्ने अभियानमा छन् । नयाँ छिमलका बुहारीहरु लक्ष्मी पुरी थापा, सन्तोषी गुरुङ, मुना सारु, उषा थकाली, सन्तोषी गौचन लगायतका होटल व्यवसायीहरुले आफ्नो होटल व्यवसायलाई दिगोपना दिन र रोजगारको फराकिलो बाटो बनाउन कम्मर कसेर लागेका छन् ।
केराबारीको विकासका लागि केराबारी युवा क्लव र स्थानीय आमा समूह सक्रियतापूर्वक लागेका छन् । आफ्ना संस्कार,रीतिरिवाज र परम्परागत चालचलन र संस्कृति जोगाउन प्रयत्न गरिराखेका छन् । केराबारीमा सिद्धगुफा छ । शिवरात्रिका दिन भव्यरुपमा पूजाआजा हुने गर्छ । यस क्षेत्रकै चर्चित सिद्धगुफा पर्यटकीय गन्तव्य हो । केराबारीको होटल प्रवद्र्धनका लागि स्थानीय युवा होटल व्यवसायीहरु जागृत हुने बेला आइसकेको होटल व्यवसायी प्रेम श्रेष्ठले बताउँदै–व्यवसायमा प्रतिशोधले होइन प्रतिस्पर्धाले नै अघि बढ्न सकिने बताए । केराबारीमा जेके थापादेखि शेरबहादुर सारुको घरसम्म २२/२४ घरहरु छन् । थोरै घरहरु थकाली, गुरुङका छन् । चारघर दलितजातिका छन् । धेरै मगरहरु नै बस्दै आएका छन् । गाउँमा भएको कल्याणी स्कूल गिट्टी खानी सरेपछि यहाँका स्कूले विद्यार्थी डुम्रे, खिट्टीखानी, झुम्साको तिलोत्तमा र उच्च शिक्षाका लागि तानसेन र बुटवल जाने गर्छन् ।
पाल्पा जिल्लाको तिनाउ वडा नं. ५ मा पर्ने केराबारी होटल कै कारण प्रख्यात रहेको र यसको गरिमा र महिमा बढाउन स्थानीय व्यवसायीहरुको क्रियाशीलता र ऐक्यवद्धता जरुरी हुने मरेकमा जन्मि हुर्की नवलपरासीको भुताहा बस्दै आएका ७६ वर्षीय ताराप्रसाद श्रेष्ठ र तिनाउ निवासी सामाजिक अभियन्ता अमरसिंह प्रधानले बताए । सुन्दर केराबारीको इतिहासलाई जोगाउँदै वर्तमानमा यसको प्रचार प्रसार गरी भविष्यमा होटलहरुको नमूना हब बनाउने सपना साँचेका स्थानीय होटल व्यवसायीहरुको सपनालाई साकार बनाउन स्थानीय तिनाउ सरकारले हातेमालो गरोस् । ३५ वर्ष अघि देखेको उनै हल्दार बाजे, होटलहरु, मैले २८ रुपैयाँमा बेचेको लोकल कुखुरा र दोभानबाट पाँचमोहर भाडामा पुग्ने केराबारी आँखामै फन्फनी नाची रहन्छन् । बुटवलबाट १८ र तानसेनबाट २१ किमी दूरीमा पर्ने केराबारीको हावापानी र बसाइ रहर लाग्दो छ ।
प्रतिक्रिया