ताजा अपडेट »

कोरोना संक्रमित के अर्काे ग्रहबाट झरेका हुन ?

शुक्रबार, १२ भदौ २०७७

चीनको बुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस अर्थात् कोभिड-१९ रोगले विश्वका अधिकांश राष्ट्रमा प्रवेश लिइसकेको छ। कैंयन मुलुकहरुमा त बेरोजगारीका समस्या दिनानुदिन थपिएका खबर मात्रै बाहिरिएका छन्। त्यसबाट हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन। नेपालमा कोरोनाको प्रभाव सुरुमा भारतबाट आएका नागरिकमा मात्रै बढि देखियो भने फ्रन्ट लाइनमा रहेर दिन रात सेवामा रहने स्वास्थका कर्मचारी तथा प्रहरीमा पनि देखियो तर, उपचारपछि निको भएर सबै जना काममा फर्कि सकेको अवस्था थियो । तर, एकाएक श्रावण महिनाको पहिलो साताबाट बिरगञ्जमा समुदाय स्तरमा फैलिएको कोरोनाले पुनः बिर्सिदै गएको कोरोनालाई स्मरण मात्रै गराएन सारा बजार बन्द गरेर घरमा बस्न बाध्य बनाइदियो।

कतिपय मानिसले यसलाई सिजन-२ लकडाउन पनि भन्ने गरेको पाइयो र हाल स्थानीय सरकारबाट बन्द तथा सिलबन्दी गर्ने काम भइरहेको अवस्थामा नेपालको तराई क्षेत्रका अधिकांश गाउँपालिका, नगर, उपमहानगर तथा महानगर बन्द हुन पुगेका छन्। बिस्तारै लयमा फर्किन थालेको जिवनशैली तथा व्यापार ब्यवसाय फेरी बन्द गरेर बस्नु परेको छ। मानसिक रोगका बिरामी बढ्न सक्ने अनुमान विभिन्न विज्ञहरुका लेख तथा सूचनाबाट थाहा पाउन सकिन्छ। हालको अवस्था हेर्दा कोरोना समाजमा छिरि सकेको छ यसलाई समाजबाट बिदा गर्नु त्यति सजिलो पनि छैन । यससँग लडिबुडि गरेर अगाडि जाउँ भन्ने अवस्था पनि छैन। यति बेला विश्व जगतलाई तताएको छ । तर,समस्या समाधानको उपाय ठ्याक्कै भेटिएका छैनन्। हामी सानो मुलुकलाई त यो झन् ठूलो बोँझ हुने निश्चित जस्तै देखिन्छ ।

यसै बीचमा कोरोना पोजेटिभ देखिएकाहरुको संख्या बढ्दो क्रममा छ। यसबाट मानिसमा झन् ठूलो भय फैलिएको छ र फैलाइएको पनि छ। अचम्मको कुरा त के छ भनेनी, न कुनै लक्षण छ, न कुनै दुखाई छ, न कुनै स्वासप्रस्वासमा समस्या छ, छ त केवल कोरोना हाउगुजी छ। जसजस्को अहिलेसम्म कोरोना पोजेटिभ देखियो उहाँहरुलाई हामीले हिजो गर्ने व्यवहार भन्दा आज गर्ने ब्यबहारमा आकाश जमिनको जत्तिकै मा दूरी फरक पर्न थालेको छ। कुनै टोलका एक जनामा कोरोना पोजेटिभ भनेर हल्ला फैलाइन्छ र उसलाई भेदभाव गर्न सुरु गरिन्छ। यति भेदभाव गरिन्छ जुन कुरा रोगको कुनै लक्षण नभएको मानिसमा अचानक प्रेसर तथा मानसिक रोगको लक्षण देखिन थाल्छ। अब उसलाई भन्न थालिन्छ कोरोनाले गर्दा फलानो त सिरियस छ रे, त्यसको घरमा जानू हुँदैन, भोलि हामीलाई पनि सर्न सक्छ। साना नानी बाबुहरुलाई पनि त्यहिँ ज्ञान प्रवाह गरिन्छ। अनि सबै जनाले हेर्ने नजरमा फरकपन आएपछि कोरोना पोजेटिभ भएका ब्यक्तिमा बिस्तारै माथि भनिएका रोगहरु बढ्दै जान्छन् अवसोँच मृत्युसम्म नहोला भन्न सकिदैन।

यसरी भएका मृत्युहरुलाई समाचार बनाईन्छ ‘कोराना लागेर थप १ को मृत्यु’ लाग्छ कि, यो शिर्षकबाट अझै कति थपिने हो र पहिला कति भईसकेका थिए भन्ने संकेत सहजै बुझ्न सकिन्छ। अस्ति मात्रै भैरहवामा एउटा घटना घट्यो, ‘दुर्घटनामा परि एक जना युवाको मृत्यु भयो, संयोगवस उनलाई कोरोना परीक्षण गरिएछ र पोजेटिभ रिपोर्ट आएछ’ अनि मिडियामा समाचार बन्यो ‘कोरोनाबाट थप एक जनाको मृत्यु’ साथै कुनै अनलाइनमा त ‘स्थित भयावह हुन सक्ने-कोरोनाका कारण आज थप एकको मृत्यु’ यी र यस्ता उदाहरणीय पक्ष मात्रै भए। हाम्रो भड्किलो समाजलाई कोरोना हाउगूजी एक हदसम्म खुम्च्याई दिएको भने सहि मान्न सकिन्छ। तर यसबाट हजारौं थरिका पिडाहरु थपिई रहेका छन् र थप असहिय पीडा थपिने निश्चित जस्तै छ। अहिले समाजमा कोरोनाको निकै चहलपहल छ। चिया पसल, चौतारो, चोकमा गफ गर्ने वातावरण नबनेर मात्रै हो यदि बनेको भएदेखि विशेष बहस हुने थियो।

अहिले कोरोना परक्षण दुर्त रुपमा गरिएको छ। र रिपोर्ट पनि सोहि अनुसार पोजेटिभको संख्या बढेर आएको छ। यसले समाजमा निकै विभेदको वातावरण सृजना गरिरहेको छ। यदि कसैलाई पनि कोरोना पोजेटिभ रिपोर्टमा मात्रै भएको हल्ला सुरु हुनुपर्छ सो ब्यक्तिलाई जनावर, त्यो पनि ‘अजिङ्गर, बाघ, चितुवा’ लाई जसरि हेर्ने गरिन्छ। उसको छेउ पर्नु भएको स्वर्गको ढोका ढकढक्याउनु जत्तिकै लिइन्छ तर किन ? प्रश्न अनुत्तरित छ, समयले यसको उत्तर दिँदै जाला। एउटा महामारीको नाम दिइएको रोग, जसको कुनै औषधि छैन भनेर विश्व स्वास्थ्य संगठनले घोषणा गरिरहेको छ।

तर, अचम्मको कुरा त के छ भने अहिलेसम्म विश्व तथ्यांक वा नेपालको तथ्यांक हेर्याे भने यो लेख लेख्ने बेलासम्म संक्रमितको संख्या ३५५२९ जना छ भने २००७३ जनालाई निको भई सकेको छ। त्यस्तै कोरोना पनि लागेर १८३ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेहरु कसैलाई कोरोना मात्रै लागेर मृत्यु भएको आधिकारिक तथ्यांक भने देखिदैन। तर, पनि अस्पतालमा अरु रोग लागेर जादा पनि निकै सतर्कताका साथ प्रबेश दिईन्छ र सोहि अनुसार चेकजाँच गरिन्छ ताकि बिरामी मानिसको आधा दिमागत अगाडि गेटमा रहेका सेक्यूरिटीको बानि ब्यवहारदेखि झट्का हानिसकेको हुन्छ र भित्र डा. सापलाई राख्नुपर्ने जिज्ञासा समेत बिर्सेर फिर्ता हुन्छन। हामीले कोरोनालाई जति धेरै स्थान दिई रहेका छौं जुन अनुमान गर्न समेत कठिन छ।

सुरुमा लकडाउनबाट सुरु भएको कष्टकर दैनिकी असार १ देखि धेरै मात्रामा सुधारको क्रममा थियो तर ६० दिन पनि टिक्न सकेन र फेरि नया नाम ‘निषेधाज्ञा’ बनेर आयो र सुरु भो कोठे जिन्दगी। जसले पुनः मानसिक रोगी बढाउने निश्चितनै छ। गरिबी, भोकमरीसम्मका प्रलय समेत नआउलान भन्न सकिने अवस्था छ। तर यो अवस्थामा पनि मानिसहरुमा ‘मै खाउँ मै लाउँ मै सुख सयल बाँचु’ भन्ने चिम्सरो भावना बोकेर भौतारिएका छन्। यसको दिर्घायु असर भौतिकवादमा रमाउन खोज्नेहरुलाई महंगो पर्न सक्छ। अहिले जसरि कोरोना संक्रमितलाई अवहेलना गर्ने गरिएको छ । त्यसैगरि आफूलाई परेर अरुले वा समाजले घृणा गरेको खण्डमा के हुन सक्छ भनेर गहिरो मन्थन गर्न जरुरि छ। अझ दुःखको कुरा त स्वास्थ्य क्षेत्रको डाक्टर, नर्स तथा अन्य सेवाकर्मीहरुलाई घरमा, समाजमा प्रबेस निषेधका घटनाले रगत उमाल्ने गर्दछ।

केही दिन अगाडि चितवन टाडी, भरतपुर तथा काठमाण्डौंकै बानेश्वरका घटनाहरु कम दर्दनात्मक थिएनन। आज मानिसलाई बचाउन हिड्ने स्वास्थ्य कर्मिहरुलाई समाजले घृणा गर्दैछ भोलि ती समाज बचाउने वास्तविक भगवानरुपि मनहरु कुडिए भने कसले बचाउँला, प्रश्न यहाँ पनि छ । तर, अनुत्तरित। समाज रुपान्तरण गर्ने हो भने संकूचित सोंचको अन्त्य गर्न जरुरी देखिन्छ र सकरात्मक सोँच राखेर अगाडि बढ्न सकियो भने कोरोना परास्त गर्न त्यति असहज पनि छैन। रोगले भन्दा भोकले र सोकले मर्ने वातावरणको अन्तय गरौं, सबै जागरुक बनोैं।