ताजा अपडेट »

पोग्बालाई कोरोना पुष्टि, नेसन्स लिगको खेल गुमाउने

विहीबार, ११ भदौ २०७७

काठमाडौं । फ्रान्सेली तथा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । फ्रान्सका प्रशिक्षक डीडीएर डेस्चाम्प्सले यूईएफए नेसन्स लिगको खेलका लागि टोली सार्वजनिक गर्ने क्रममा पोग्बालाई कोरोना संक्रमण भएको बताएका हुन् । कोरोना देखिएपछि पोग्बा फ्रान्सको टिमबाट बाहिरिएका छन् ।

२७ वर्षीय पोग्बा कोरोना संक्रमण पुष्टि भएपछि १४ दिनको सेल्फ आईसोलेसनमा रहेका छन् । कोरोना देखिएपछि अर्का मिडफिल्डर टान्गुइ एन्डोमबेले पनि फ्रान्सको टिमबाट बाहिरिएका छन् ।नेसन्स लिगको पहिलो खेलमा फ्रान्सले सेप्टेम्बर ५ मा स्विडेनसँग खेल्नेछ । यस्तै सेप्टेम्बर ८ मा क्रोएसियासँग खेल्नेछ । पोग्बाको स्थानमा युवा मिडफिल्डर एडुआर्डो कामा भिंगा टोलीमा समेटिएका छन् ।