ताजा अपडेट »

आफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट पार्न शीर्ष नेताकै दवाव

बुधबार, १३ चैत्र २०७५

चैत १३,

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट आफ्नो निर्वाचन क्षेत्रमा बढी पार्न शीर्ष नेताहरूले सक्रियता बढाएका छन् । प्रधानमन्त्रीदेखि नेकपाका शीर्ष नेताहरूले आआफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट पार्नका लागि विभिन्न योजना प्रस्ताव गरिरहेको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा सबैभन्दा बढी बजेट पार्न दबाब दिइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । उनले झापामा भ्यु टावर बनाउनेदेखि सडक निर्माण तथा आर्थिक विकासका विभिन्न योजना प्रस्ताव गरेका छन् । स्थानीय तहले गर्न सक्ने योजनालाई पनि संघीय सरकारको योजनाका रूपमा प्रस्ताव गरेर बढी बजेट पार्न खोजिएको नेकपाका सांसदहरूले आरोप लगाएका छन् ।

संसद्को विकास तथा प्रविधि समितिमा आगामी वर्षको विकास आयोजनाको विषयमा छलफल सुरु भएको छ । सांसदहरूले समितिमा सरकारले प्रस्ताव गर्न लागेको विकास आयोजनाको विषयमा आफ्नो धारणा राख्दा नेकपाका शीर्ष नेताको गृह जिल्लामा बढी बजेट पार्न खोजेको आरोप लगाएका छन् । सरकारले तयारी गरेको आगामी वर्षका विकास आयोजनामध्ये सबैभन्दा बढी झापा, चितवन, रुपन्देही र दाङमा प्रस्ताव गरिएको छ । स्थानीय सरकार र प्रदेश सरकार माताहत सञ्चालन गर्न सकिने आयोजनाहरूलाई शीर्ष नेताहरूले विशेष महत्वको आयोजना भन्दै संघीय सरकारमा राख्न खोजेकामा उनीहरूले आपत्ति जनाएका हुन् ।

नेकपाका सांसद टोपबहादुर रायमाझीले ठूला आयोजनाका बजेट झापा, रुपन्देही, चितवन र दाङमा प्रस्ताव गरिएको जानकारी दिए । उनले सरकारको नेतृत्व गरेको र दलको शीर्ष तहमै बसेका आधारमा आफ्नो क्षेत्रमा मात्रै बढी बजेट पार्न खोज्नुले नेताहरूलाई मुलुकको विकास भन्दा पनि आफ्नो क्षेत्रको मात्रै माया बढी भएको स्पष्ट भएको बताए । विद्यालय भवनको हालत पनि त्यस्तै छ ।-राजधानीबाट