ताजा अपडेट »

गाउँको डायरी : हरियाली गाउँमा हरिया नोट

शनिबार, ०६ भदौ २०७७


डढेगाउँको नयाँ नाम हरियाली गाउँ हो । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. २ मा पर्ने अहिलेको हरियाली गाउँमा गुल्मीका पुर्कोट दह,अग्लुङ्ग र प्युठानका नारीकोट, ओखरकोट, र बाँदीकोटबाट २०२० तिर आएकाहरुले केही खोरिया फँडानी र केहीले नगद हालेर जग्गा खरिद गरी नयाँ बस्ती बसेका हुन् । प्युठानबाट ललितबहादुर जीसीले आफूसँगै १० घरपरिवार २०२३ सालमा यही गाउँमा ल्याई पु¥याएको दोभान चिसापानी बस्ने हुकुमबहादुर जीसीले बताएका छन् ।

यस गाउँका पुराना केही बासिन्दाहरु अहिले भूताहा, बगाह, झुयाङ्गला र खुर्सानेतिर बसाइँ सरेका कारण जनसंख्या घटेको हो । स्थानीय राजनीतिककर्मी एवम् विकासप्रेमी खगेन्द्र खड्का “चट्टान”ले डढेगाउँमा बस्नेहरुलाई गाउँ र नाउँकै कारण हेपिनु परेको कारणले तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले २०७५ सालको साउन २३ गते डढेगाउँको नयाँ नाम हरियाली गाउँ भनेर घोषणा गरेका हुन् भनेर जानकारी गराए । उनी दशवर्षे सशस्त्र युद्ध लडेर आएका होनाहार योद्धा हुन् । प्रवेशिका परीक्षा दिए लगतै उनी तत्कालीन नेकपा माओवादीमा समाहित भएका थिए । अहिले गाउँकै विकास निर्माणमा सक्रिय छन् ।

हरियाली गाउँ, पाल्पा तिनाउ वडा नं.२

सम्वत् २०३१ सालमा शैक्षिक व्यक्तित्वहरु भोटमान जीसी (हुकुमबहादुर जीसीका बाबा), अबिराम खड्का र जुमानसिंह जीसी लगायतले गाउँका नानीबाबुहरुलाई अक्षर चिनाउन खोलेको शिशुज्योति आधारभूत विद्यालयमा सोही विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका कृष्णबहादुर खड्का प्रधानाध्यापक छन् भने करिब ५५ जना विद्यार्थी छन् । पहिला पहिला यो स्कूलमा झ्याङ्गला, बगाहबाट समेत पढ्न आउँथे तर बगाह गाउँमा थानिडाँडा मा.वि. खुलेपछि भने बन्द भयो । पछि खुलेको थानिडाँडा स्कूल मा.वि. बनिसक्यो भने शिशुज्योति पाँच कक्षामै सीमित छ । बुटवलको फूलबारी, नुवाकोटबाट डाँडाडाँडै पोल गाडेर बिजुलीको तार टाँग्दै गाउँमा विजुली त आइपुग्यो तर सानोतिनो हावाहुरी चल्नेबित्तिकै गाउँमा अन्धकार भइहाल्छ अनि खोपामा राखेको टुकी खोज्नुपर्ने हुन्छ ।

गाउँमा हालसम्मैको ठूलो बहुवर्षीय लिफ्टिङ्ग खानेपानी आयोजना सम्पन्न हुने चरणमा पुगेपनि विद्युतको पावर अभावले काम रोकिएको छ । यहाँ उक्त आयोजनाका लागि ठूलो पावरको ट्रान्सफर्मरको खाँचो परेको तर उपलब्ध हुन नसकेकोले स्थानीयहरुले गाउँपालिकामा निवेदन गरेका छन् । कच्ची मोटरबाट स्थानीयहरुको विशेष पहल,सामुदायिक वनहरुको आम्दानीले खनिए पनि सरकारको खासै बजेट नपरेको कारण सुधार हुन सकेको छैन । बढीमा वर्षको चारमहिना पनि मोटर चल्न नपाउने उक्त बाटोको भरपूर प्रयोग गर्न नपाए खगेन्द्रले बताए । स्थानीय तथा प्रदेश सरकारसँग आफूहरुले जोडदार माग गरेपनि बाटो सोहोर्ने र बाटो सफला गर्नेसम्मको वजेट मिलेको बताए ।

खानेपानी आयोजना

गाउँमा खेतीकिसानी गरेरै जीवन गुजार्नेहरु धेरै छन् तर आफ्नै उत्पादनले वर्षभरि पुग्ने त कुरै छाडौ आधा वर्ष पुग्नेहरु समेत छैनन् । यसो भनिरहँदा गाउँलेहरु धान, मकै, कोदो खेती गर्न कम्मर कसेर नलागेका कहाँ हुन् र ? यही पनि बंदेल र दुम्सीले निःशुल्क खेती गरिदिने कुराले गाउँलेहरु आजित छन् । गाउँलेहरुले मौसमी जंगली तरकारी तथा फलफूलहरु निउरो, जलुका, च्याउ र पाकेका थाकल बुटवल, तामनगरमा बेचेर पेट पाल्न मद्दत पुगेको छ । गाउँमा कोदो खेती राम्रो हुने भएकाले स्थानीय सरकारसँग गाउँलेहरुले कोदो खेतीलाई व्यवसायमुखी गराउनका लागि अनुदान माग समेत गरेका छन् । सिंचाइका लागि पानीका साना साना मुहानहरु भएतापनि पक्की कुलो बन्न सकेका छैनन् र पुराना जीर्ण कुलाहरुले काम चलेका छन् ।

हरियाली गाउँमा वृक्षराेपण गर्दै उपभाेक्ताहरु

सुन्दर हरियाली गाउँ नाममात्रले होइन प्रकृतिले नै हरियाली छ । यहाँ राजारानी र त्रिवेणी महिला सामुदायिक वन उपभोक्ता समूहहरु छन् । राजारानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष छबिलाल खत्रीले आफ्नो सावउसले सामुदायिक वनमा हरियाली बढाउनका लागि वृक्षरोपण गरेको, विभिन्न संघसंस्थाहरुका सहयोगमा गाउँमा आधुनिक चुल्हो, जुठान र मचान निर्माण गरिरहेको, वनप्रतिको निर्भरता घटाउने अभियानमा जुटेको र कोरोनाको समयमा स्थानीयहरुलाई राहत वितरण गरेको बताए । गाउँघरमा टीनका छाना हाल्न, बाटो खन्न, स्कूलमा पढ्नेलाई छात्रवृत्ति दिन, विजुली ल्याउनका निम्ति सामुदायिक वनले निकै ठूलो पहल गरेको गाउँलेहरुले बिर्सिएका छैनन् ।हरियाली गाउँमा मयुर नाचेको हेर्न पाइन्छ । कालीज, लूँइचे, दुम्सी, बंदेल, बाँदरहरु समेत यहाँका वनजंगलमा प्रशस्त पाइन्छन् ।

तरकारी उत्पादन

गाउँमा पुराना राजा बसेको धूरी छ । मनमोहक महापुर फाँट, हाँपुर नजिकै रहेको सीमसार क्षेत्र जसलाई कृत्रिम ताल बनाएर पर्यटकहरुलाई तान्न सकिन्छ । साँचिक्कै मयुर नाचेको देखाउन सकिएमा पक्कै पनि गाउँमा पर्यटकहरु आउने छन् । उनीहरुलाई राख्न होमस्टे र सानातिना खाजा पसलहरु चल्न सक्छन् । जसले स्थानीयहरुको आम्दानीमा सकारात्मक प्रभाव पार्ने छ । गाउँमै रोजीरोटीको सिर्जना हुने छ । स्थानीय टूर गाईड बनाउन सकिने छ । साउदी अरब, दुबई, कतार र मलेसियामा पुगेका स्थानीय युवाहरु गाउँमै रमाउने थिए । साथै भारतका कोठीमा र होटलमा काम गर्नेहरु र लेबर काम गरेर दुःख पाएकाहरु आफ्नै हरियाली गाउँ सम्झेर आउने थिए । स्थानीय वडापालिकाको संयोजनमा हरियाली गाउँलाई पशुपालनमा पनि बाख्राको पकेट क्षेत्र घोषणा गरिएको थियो ।

शिशुज्योति स्कूल

बाख्रा पकेट क्षेत्रलाई गाउँपालिकाबाट भविष्यमा सोचेजति सहयोग मिल्ने खगेन्द्रले सुनाए । स्थानीयहरुले वर्षेनी खसी/बोका बेचेर आफूहरु पालिएका कुरा उनले बताउँदै थिए । बुटवल उपमहानगरपालिका एवम् तिनाउ गाउँपालिकाको आर्थिक सहयोग र सामुदायिक वन समन्वय समिति,दोभानको संयोजनमा हरियाली गाउँमा केही शौचालयहरु निर्माण भएका छन् । केही शौचालयहरु निर्माणमा तिनाउ रेडक्रम र वास नामक संस्थाले सहयोग गरेका छन् ।
हरियाली गाउँमा विकासटोल, प्रगतिटोल, पीपलचौर, महापुर, भर्के र अधिनाटोल गरी ७० घरकुरिया छन् । छ घरकुरिया दलितजाति, सात घरकुरियामा मगर र बाँकी सबै क्षेत्रीहरुको बसाइ छ । अष्टमीको रात गाउँमा रहेको दुर्गामन्दिरमा जाग्राम बस्ने र नाचगान गर्ने चलन छ भने तिहारमा देउसी/भैलो नाच्ने चलन पुरानै हो ।

बुटवलको शान्तिचोक, नुवाकोट, हाँपुरहुँदै हरियाली गाउँ पुगिन्छ । त्यहाँ पुग्न दोभान, झ्याङ्गला, बगाह, खुल्खुलेहुँदै पनि सकिन्छ । त्यतिमात्र होइन सैनामैनाको रानीबगिया, झिंगामाराहुँदै हरियाली गाउँ पुग्न सकिन्छ । निकट भविष्यमा तामनगरबाट उत्तरतिर करिव १२ किमी दूरीमा रहेको हरियाली गाउँ ज्यामिरे गाउँहुँदै हरियाली गाउँको शिशुज्योति स्कूलमा पुगिन्छ । चारैदिशाबाट आएका बाटाहरुले हरियाली गाउँलाई चौराह मुकाम बनाउने छ । त्यसका लागि चारपाला सामुदायिक वनसँग राजारानी सामुदायिक वनले समन्वय र सहकार्य गर्दै आएको छ । त्यसो हुन सकेमा स्थानीय अर्गानिक तरकारीहरु सीधै तामनगर पुग्नेछन् र हरियालीगाउँमा मनग्य हरिया नोट भित्रिने सम्भावना छ ।

स्थानीय सामुदायिक वनले काेराेना राहत वितरण गर्दै