ताजा अपडेट »

गाउँको डायरी : कचलफाँट अर्कै छाँट

शुक्रबार, ०५ भदौ २०७७

बहुदल आएपछि फेक र जुठापौवाका केही वडाहरु मिलेर साविकको कचल गाविस बनेको थियो । अहिले यो तिनाउ गाउँपालिकामा समाहित भएको छ । पुरानो कचल गाविस सिंगै तिनाउ गाउँपालिकाको वडा नं. १ बनेको छ । झिंगामाराको टावरबाट र बुढीकोट नजिकै रहेको केरेनी गाउँबाट कचलफाँट नाङ्गा आँखाले प्रष्टै देख्न सकिन्छ । तराईका समथर फाँट जस्तै समथर भूमि छ पहाडी भेगमा पनि । हेर्दै मनमोहक छ । फराकिला खेतका गह्राहरु छन् । मान्छे उस्तै फरासिला । पाल्पा जिल्लाका प्रसिद्ध फाँटहरुमध्ये तेस्रो ठूलो फाँटको रुपमा कचललाई गणना गरिन्छ ।

फाँटलाई सिंचित गर्ने गरी तत्कालीन राजा बीरेन्द्रको हुकुम प्रमाङ्गीबाट कचलफाँट कूलो योजना अधुरै रह्यो । २०४२/२०४३ सालमा करोडौं रुपैयाँ लगानी गरेर सम्पन्न हुन नसकेको उक्त योजना वर्तमान प्रदेश सरकाले ५० लाख छुट्टाएर निरन्तरता दिने काम सुरु भएको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए । उनले भने–कचलफाँटमा सिंचाईको सुविधा मात्र हुन सक्यो भने बाह्ैमहिना खेतीपाती हुने छ र गाउँलेहरु आत्मनिर्भर हुने छन् । बञ्चरे घाटदेखि कचलफाँटसम्मको नौं किलोमीटर कूलो निर्माणका लागि प्रदेश सरकाले थप लगानी गर्न समेत तयार रहेको अध्यक्ष घर्तीमगरले सुनाउँदै थिए ।मुडिला पुरानो बस्ती हो । कचलफाँट, फूलबारी, कठघरा, खुर्तीबाङ्ग, मुहान टोल, पाँचचोटे लगायतका टोलमा गरी तीन सय घरधूरीहरु छन् ।

झिंगामाराबाट देखिने कचलफाँट

जनसंख्या एक हजार दुई सय बढी नै छ । एक किसिमले यो नयाँ पहाडी बजार जस्तै भएको छ । नजिकैका काफलबारी, ओखलढुंगा, ठाडे, रितुङ्ग, आरेफानबाट यहाँ बसाइँ सर्नेहरुको लहर छ । गाउँमा तीन घर ब्राह्मण, १२ घर क्षेत्रीहरु र बाँकी सबै मगरजातिको बसोबास अनि हिन्दू र क्रिश्चियन धर्म मान्नेहरु रहेको वडाध्यक्ष रोमबहादुर लम्तरीले जानकारी दिए । हुन त पुराना जमानामा गुल्मी, अर्घाखाँची र प्युठानबाट मानिसहरु मेहलधाप, फेक, बुढीकोट, कचलफाँट आँपको फेद, झुसिलघाट हुँदै दोभान भएर बुटवल सहरमा नून तेल, लत्ताकपडा किन्न र ध्यू अनि सूठो बेच्न पुग्ने गर्थे । पुरानो जक्सन समेत हो कचलफाँट ।

प्रदेश भाैतिक पूर्वाधार विकास मन्त्री कचलफाँट सिंचाई याेजना अनुमगनमा

झिंगामारामा रहेको एनटीसी र स्मार्ट फोनको टावरले गाउँमा सञ्चार सुविधा पुगेको छ । गाउँको बीचमा पर्ने आँपटोलमा स्वास्थ्य चौकी छ । चौबीसै घण्टा सञ्चालमा रहने बर्थिङ्ग सेन्टर छ । स्तरोन्नतिको खाँचो बोकेर स्वास्थ्य चौकी सेवारत् छ । वडा कार्यालय, अतिरिक्त हुलाक कार्यालयले कचलफाँटलाई शोभा दिएको स्थानीय युवा शिक्षक सुरज कार्कीले बताए । उनी भन्दै थिए–गाउँमा केन्द्रीय विद्युत लाइन जोडिने तयारीमा छ । देउराली, ठिमूरेबाट जोडिने उक्त विद्युत प्रशारणको हाइटेन्सनका कामहरु भइसकेका छन् । गाउँमा केन्द्रीय लाइन जोडिएपछि बोक्सेखोलाबाट आएको लघु–जलविद्युत र सोलारबाट स्थानीयहरुले मुक्ति पाउने छन् र गाउँमै सानातिना कलकारखाना, उद्योगधन्दा समेत सञ्चालन हुने छन् ।

स्थानीय युवावर्ष माविका विद्यार्थी

हेर्दै रमाईलो कठघरा टोलस्थित युवावर्ष माविमा १२ कक्षासम्म पढाइ हुन्छ । चार सय बढी विद्यार्थीले पढ्दै आएका छन् । यसको क्याचमेन्ट एरिया ठाडे, काफलबारी, हात्तीमारा, आरखुदी, झिंगामारा, ठूली उदाङ्ग पर्दछन् । यो क्षेत्रकै शैक्षिक हबका रुपमा रहेको युवावर्ष माविबाट उत्तीर्ण भएकाहरु अहिले देशका धेरै ठाउँमा सेवारत् छन् । कचलफाँटमा रहेको तीनसय बढी रोपनीमा सिंचाइ सम्भव छ भने बाँकी भूमिमा आकासे पानीको भर छ । अर्गानिक खेती गर्ने किसानहरुले खेतीमा रोग लाग्दा सरकारी जेटीएहरु खासै भेट्न पाउँदैनन् । स्थानीय किसानहरुले बेमौसमी तथा व्यवसायी खेती गर्ने रहर लागेको बताउँदै थिए तर स्थायी रुपमा कृषि सेवा उपकेन्द्र नहुँदा आफूहरुले वडापालिकामा अनुरोध गरेका छन् ।

कचलफाँटमा प्रदेश उद्याेग,पर्यटन,वन तथा वातावरण मन्त्री

कृषितर्फ धान नै मुख्य बाली हो । त्यसैगरी कोदो, मकै, मास, भट्ट खेती गरिएता पनि पुरै महिना खान पुग्नेहरु औंलामा गन्ने संख्यामा छन् । थप आम्दानी गर्न गाउँलेहरु कोही शिक्षक भएका छन् । नेपाल प्रहरी, नेपाली सेना, भारतीय सेनामामा समेत सर्भिस गर्नेहरु छन् । भारत, मलेसिया, दुबई, कतार, कोरिया, साउदी जानेहरु पनि प्रशस्तै छन् । गाउँमा कच्ची भएपनि बाटो पुग्यो । यसपाली ग्राभेल हुने कुरा गर्दै थिए वडाध्यक्ष लम्तरीले । नौं महिना गाडी गुड्छ, तीनमहिना सास्ती व्यहोर्नुपर्छ गाउँलेहरुले । कचलफाँटमा मोबाईलको दुकान छ । इलेक्ट्रोनिक्स पसल छ । फेन्सी पसलहरु छन् । टलरिङ्ग सेन्टर छ । किराना पसलहरु थुप्रै छन् । बुटवलबाट १७ किलोमीटरको दूरीमा दोभान, खुर्सानेहुँदै र सैनामैनाको रानीबगियाहुँदै ठूलीउदाङबाट कचलफाँट पुग्न सकिन्छ ।

सानोतिनो सहरबजार जस्तै लाग्छ कचलफाँट । मान्छेहरुको उस्तै भीड लाग्छ । बेलाबेलामा मेला, महोत्सव लाग्दा र कार्यक्रम हुँदा त घँुइचो लाग्दछ । सांस्कृतिक कार्यक्रम हुने गर्छ उत्सवहरुमा । सोरठी, सालै जो र झ्याउँरे नाचले गाउँको परिचय खुलाउँछ । विभिन्न खालका दिवसहरु मनाउने चलन छ । गाउँलेहरुको भेला भव्य हुने परम्परा छ । संस्कार र संस्कृतिको धनी गाउँ हो कचल । मुडिलामा रहेको दुर्गामन्दिर र मुहान टोलमा रहेको देवीको मन्दिरमा दशैंको कालरात्रिमा जाग्राम बस्ने,रातभरि ठूलो नाच,सोरठी नाच्ने चलन छ भने विहानै उठेर राँगो बलि दिने पुरानो संस्कार भेटिन्छ । गाउँकै गणेशमन्दिरमा पूजापाठ गरी भजनकीर्तन गर्ने पुरानो परम्परा जस्ताका तस्तै पाइन्छ ।


गाउँको विकासका लागि प्रगतिशील युवा क्लव,कचलफाँट युवा क्लव,बाल क्लवहरु, आमा समूहहरु सक्रिय रुपमा क्रियाशील छन् । लचका सल्लेरी, वनघुस्री, पिप्लेचुहार र खुर्तीबाङ्ग पाखो सामुदायिक वन उपभोक्ता समूहहरुले वन, वातावरण र जैविक विविधता संरक्षणका साथै विकास निर्माणमा सहभागिता जनाएका छन् । कचल र मातृभूमि वचत तथा ऋण सहकारी संस्थाहरुले आर्थिक उन्नतिका काम गरेका छन् । कृषि सहकारी हुन सकेको भए किसानका हितमा काम गर्ने थिए ।
गाउँलेहरु गाउँसम्म आउने बाटो बाह्ैमहिना चलोस् भन्छन् । सके पीच नभए ग्राभेल हुन सके जाती मान्ने छन् । जनसंख्या बढ्दै गएकाले खानेपानीको समस्या थपिदैछ । कृषि र पशुपालनमा जोड दिनका निम्ति नियमित गाउँमै बस्ने खालको कृषि कर्मचारीको आवश्यकता महसुस् गरेका छन्।

किसानहरु कृषि उपज बेचविखन केन्द्र वा बजारीकरणका लागि योजना चाहियो भन्दैछन् ।
सहरमा जस्तै महङ्गो छ जमीन । हातका हिसावले घडेरी बिक्री हुन्छन् । विकासले फड्को मार्दैछ । प्राविधिक शिक्षाको विद्यालयमा खाँचो ठानेका छन् । गाउँलेहरु कृषि, पशुपालनमा कम्मर कसेर लागेका छन् । सक्नेहरुले बटौली र तानसेनमा जग्गाजमीन जोडेका छन् । छोराछोरीहरुलाई उच्च शिक्षाका लागि देशका ठूला सहरहरुमा पढ्न पठाएका छन् । ग्रामीण पर्यटनको केन्द्र बन्न सक्छ कचल । होमस्टे सञ्चालन भएमा आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई कचलफाँटमा घुमाएर आम्दानी लिन समेत सकिन्थ्यो । एकपटक पुग्नै पर्ने ठाउँ कचल हो । कचलको फाँट हेरपछि अर्के छाँट आउँछ ।